Online Bible

- Reklamy -

भजनसंग्रह 147 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 147

1 याहवेहको प्रशंसा गर! हाम्रा परमेश्‍वरको स्तुति गाउनु असल हो; उहाँको प्रशंसा गर्नु कत्ति आनन्दमय र उचित छ!

2 याहवेहले यरूशलेमलाई पुनर्निर्माण गर्नुहुन्छ; उहाँले इस्राएलका निर्वासितहरूलाई एकिकृत गर्नुहुन्छ।

3 उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।

4 उहाँले ताराहरूको संख्या तोक्नुहुन्छ; र ती सबैलाई नामद्वारा बोलाउनुहुन्छ।

5 हाम्रा प्रभु महान् र शक्तिशाली हुनुहुन्छ; उहाँको समझशक्तिको कुनै सीमा छैन।

6 याहवेहले नम्रहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्‍टलाई भुइँमा खसाल्नुहुन्छ।

7 कृतज्ञतासहित याहवेहका निम्ति गाओ; वीणाको सङ्गीत बजाउँदै हाम्रा परमेश्‍वरको स्तुति गाओ।

8 उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ, र पृथ्वीलाई वर्षा दिनुहुन्छ; अनि पहाडहरूमा घाँस उमार्नुहुन्छ।

9 उहाँले पशुहरूलाई आहारा दिनुहुन्छ, र कागका बचेराहरू कराउँदा तिनीहरूलाई खुवाउनुहुन्छ।

10 उहाँको आनन्द घोडाको बलमा होइन, न त योद्धाका खुट्टामा उहाँ प्रसन्‍न हुनुहुन्छ;

11 तर याहवेह उहाँको भय मान्‍नेहरूसँग, उहाँको अचुक प्रेममाथि भरोसा राख्नेहरूसँग प्रसन्‍न हुनुहुन्छ।

12 हे यरूशलेम, याहवेहको स्तुति गर्! हे सियोन, आफ्ना परमेश्‍वरको प्रशंसा गर्।

13 उहाँले तेरा ढोकाहरूका आग्लोहरू बलियो पारिदिनुहुन्छ; अनि तँभित्र बास गर्ने जातिलाई आशिष् दिनुहुन्छ।

14 उहाँले तेरा सिमानाहरूमा शान्ति ल्याउनुहुन्छ, उहाँले तँलाई असल गहुँले सन्तुष्‍ट पार्नुहुन्छ।

15 उहाँले पृथ्वीमा आफ्नो आदेश पठाउनुहुन्छ; उहाँको उर्दी द्रूत गतिमा प्रसार हुन्छ।

16 उहाँले हिउँलाई ऊनजस्तै फैलाउनुहुन्छ; अनि तुसारोलाई खरानीझैँ छरिदिनुहुन्छ।

17 उहाँले असिना कङ्कढझैँ बर्साउनुहुन्छ; उहाँका कठ्याङग्रिने चिसोमा को टिक्न सक्छ?

18 उहाँले आफ्ना वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ; उहाँले आफ्नो बतास चलाउनुहुन्छ, र पानी बग्न थाल्छ।

19 उहाँले आफ्नो वचन याकोबलाई, अनि आफ्ना नियम र आदेशहरू इस्राएललाई प्रकट गर्नुभएको छ।

20 उहाँले अरू जातिको निम्ति यस्तो कार्य गर्नुभएको छैन; तिनीहरूले उहाँका नियमहरू जान्दैनन्। याहवेहको प्रशंसा गर!

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy