Online Bible

- Reklamy -

भजनसंग्रह 144 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 144
दावीदको भजन।

1 याहवेह मेरा चट्टानलाई प्रशंसा होस्, जसले मेरा हातहरूलाई युद्धकला, र मेरा औँलाहरूलाई लडाइँ गर्न सिकाउनुहुन्छ।

2 उहाँ मेरो प्रेमिलो परमेश्‍वर, र मेरो किल्‍ला हुनुहुन्छ; उहाँ मेरो बलियो किल्‍ला र मेरो उद्धारक, मेरो ढाल, जसमा म शरण लिन्छु, उहाँले जाति-जातिहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।

3 हे याहवेह, मानव-जाति के हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ, मरणशील मानिस को हो, र तपाईं त्यसको विचार गर्नुहुन्छ?

4 तिनीहरू त केवल सासजस्तो मात्र हुन्; तिनीहरूका आयु ढलिजाने छायाजस्तै मात्र हुन्।

5 हे याहवेह, आफ्ना स्वर्गहरूलाई खोल्नुहोस् र तल ओर्लनुहोस्; पर्वतहरूलाई छुनुहोस् र तीबाट धुवाँ उठोस्।

6 बिजुली चम्काउनुहोस् र मेरा शत्रुहरूलाई तितरबितर पार्नुहोस्! आफ्ना काँडहरू छोडेर तिनीहरूलाई अलमलमा पारिदिनुहोस्!

7 उच्‍च स्थानबाट आफ्ना हात लम्काउनुहोस्; अनि उर्लंदो बाढीबाट र विदेशीहरूका हातबाट मलाई उद्धार गर्नुहोस् र छुटाउनुहोस्।

8 जसका मुख झूटले भरिएका छन्, जसका दाहिने हात छली छन्।

9 हे मेरा परमेश्‍वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु; दशतारे वीणा बजाएर म तपाईंको निम्ति सङ्गीत बजाउनेछु,

10 उहाँलाई, जसले राजाहरूलाई विजय दिनुहुन्छ; जसले आफ्नो सेवक दावीदलाई छुटकारा दिनुहुन्छ। घातक तरवारबाट

11 मलाई छुटकारा दिनुहोस्; विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्; जसको मुख झूटले भरिएको छ, जसको दाहिने हात छली छ।

12 तब हाम्रा छोराहरू तिनीहरूका युवाअवस्थामा मौलाउँदा रूखहरूजस्ता हुनेछन्, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्तम्भहरूजस्ता हुनेछन्।

13 हाम्रा धनसारहरू हरेक किसिमका अन्‍नले भरिभराउ हुनेछन्; हाम्रा भेडाहरू हजारौँ गुणा बढ्नेछन्, हाम्रा खेतमा ती लाखौँ हुनेछन्;

14 हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्नेछन्। जहाँ पर्खालहरू फोरिनेछैनन्; हामी निर्वासनमा जानुपर्नेछैन; हाम्रा सडकहरूमा विलापको रुवाइ हुनेछैन।

15 धन्यका हुन् ती प्रजाहरू; जसको जीवनमा यो सत्य साबित भएको छ; धन्यका हुन् ती प्रजाहरू, जसका परमेश्‍वर याहवेह हुनुहुन्छ!

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy