भजनसंग्रह 141 - पवित्र बाइबल नेपाली समकालीन संस्करणभजन 141 दावीदको भजन। 1 हे याहवेह, म तपाईंलाई पुकार्छु, तपाईं चाँडै मकहाँ आउनुहोस्; जब म तपाईंलाई पुकार्छु, मलाई सुनिदिनुहोस्! 2 मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपजस्तै होस्; र मैले आफ्ना हातहरू उचाल्दा, बेलुकीको त्यस बलिदानजस्तै ठहरिओस्! 3 हे याहवेह, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्; मेरा ओठहरूको ढोकामाथि रखवाली गरिदिनुहोस्! 4 मेरो हृदय खराब कुरातिर आकर्षित नहोस्; ताकि अधर्मीहरूका दुष्कर्ममा म कुनै भाग नलिऊँ; साथै ती कुकर्मीहरूसित मिलेर मैले तिनीहरूको स्वादिष्ठ भोजन खान नपरोस्! 5 धर्मी जनले मलाई हिर्काऊन्, त्यो त मेरो निम्ति दया हुनेछ; तिनले मलाई हप्काऊन्, त्योचाहिँ मेरो शिरको निम्ति तेल हुनेछ। मेरो शिरले त्यसलाई इन्कार गर्नेछैन; किनभने मेरो प्रार्थना सधैँ कुकर्मीहरूका कामको विरुद्ध हुन्छ। 6 तिनीहरूका शासक भिरबाट तल खसालिनेछन्, र दुष्टहरूले जान्नेछन् कि, मेरा वचनहरू ठिक थिए। 7 तिनीहरूले भन्नेछन्, “जसरी हलो जोत्नेले जमिन जोतेर फुटाउँछ, त्यसरी नै हाम्रा हाडहरू चिहानका मुखमा छरिएका छन्।” 8 हे याहवेह प्रभु, मेरा आँखा तपाईंतिरै रहन्छन्; म तपाईंमा शरण लिन्छु; मेरो जीवन मृत्युलाई नदिनुहोस्! 9 कुकर्मीहरूले मेरा निम्ति थापेको धरापबाट, तिनीहरूले थापेका पासोबाट मलाई रक्षा गर्नुहोस्! 10 म सकुशल उम्कँदा, दुष्टहरूचाहिँ तिनीहरूका आफ्नै जालमा फसून्। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.