Online Bible

- Reklamy -

भजनसंग्रह 132 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 132
आरोहणको गीत।

1 हे याहवेह, दावीद र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्।

2 तिनले याहवेहसँग शपथ खाए, तिनले याकोबका सर्वशक्तिमान्‌सँग भाकल गरे:

3 “म, तबसम्म आफ्नो घरमा पस्‍नेछैनँ, वा आफ्नो ओछ्यानमा सुत्नेछैनँ,

4 म मेरा आँखाहरूमा निद्रा आउन दिनेछैनँ, र आँखाहरूका पलकहरूलाई उँघ्न पनि दिनेछैनँ;

5 जबसम्म याहवेहका निम्ति एउटा ठाउँ र याकोबका सर्वशक्तिमान्‌को निम्ति म एउटा वासस्थान भेट्टाउँदिनँ।”

6 हामीले एप्रातामा त्यसको विषयमा सुन्यौँ; हामीले याआरको मैदानमा त्यसलाई भेट्टायौँ:

7 “हामी उहाँका वासस्थानमा जाऔँ; यसो भन्दै उहाँका पाउदानमा दण्डवत् गरौँ,

8 ‘हे याहवेह, उठ्नुहोस्, तपाईं र तपाईंको शक्तिको चिन्ह सन्दुकसमेत, तपाईंको विश्रामस्थलभित्र आउनुहोस्।

9 तपाईंका पुजारीहरूले तपाईंको धार्मिकताको वस्त्र पहिरिऊन्; र तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले जयजयकार गरून्!’ ”

10 आफ्ना सेवक दावीदको निम्ति, तपाईंका अभिषिक्त जनलाई अस्वीकार नगर्नुहोस्!

11 याहवेहले दावीदसँग शपथ खानुभयो; एउटा पक्‍का शपथ, जुन उहाँले फिर्ता लिनुहुनेछैन: “म तेरो सिंहासनमा तेरा सन्तानहरूमध्ये एक जनालाई बसाल्नेछु।

12 यदि तेरा छोराहरूले मेरो करार र मैले सिकाएका मेरा विधिहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदासर्वदाको निम्ति तेरो सिंहासनमा बस्‍नेछन्।”

13 किनकि याहवेहले सियोनलाई चुन्‍नुभएको छ; उहाँले त्यसलाई आफ्नो वासस्थान बनाउने इच्छा गर्नुभएको छ;

14 “यो सदासर्वदाको निम्ति मेरो विश्रामको स्थान हो; म यहीँ सिंहासनमा बस्‍नेछु; किनकि मैले यस्तै इच्छा गरेको छु।

15 प्रशस्त खानपानका थोकले म त्यसलाई आशिष् दिनेछु; र त्यसका गरिबहरूलाई म रोटीले तृप्‍त पार्नेछु।

16 त्यसका पुजारीहरूलाई पनि म मुक्तिको वस्त्र पहिराउनेछु; र त्यसका विश्‍वासयोग्य जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्।

17 “यहाँ दावीदको निम्ति म एउटा सिङ को टुसा उमार्नेछु; र मेरा अभिषिक्त जनको निम्ति बत्ती तयार गर्नेछु।

18 म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु; तर त्यसको शिर भने प्रकाशमय मुकुटले शोभायमान हुनेछ।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy