Online Bible

- Reklamy -

हितोपदेश 8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


बुद्धिको आह्वान

1 के बुद्धिले आह्वान गर्दैन? के समझशक्तिले त्यसको आवाज उच्‍च पार्दैन?

2 गल्‍लीका उचाइहरूमा, जहाँ बाटाहरूका मिलन हुन्छ, त्यसले त्यहाँ आफ्नो अडान लिन्छ,

3 सहरमा पुर्‍याउने मूलढोकाहरूको छेउमा, प्रवेश द्वारहरूमा त्यो चर्को सोरले यसरी कराउँछ:

4 “हे मानिसहरू हो, म तिमीहरूलाई कराएर भन्छु; म सारा मानव-जातिलाई आफ्नो आवाज सुनाउँछु।

5 तिमीहरू जो सोझा छौ, सक्षम होऊ। तिमीहरू जो मूर्ख छौ, समझशक्ति प्राप्‍त गर्ने होऊ।

6 सुन, किनकि मसँग भन्‍नलाई काम लाग्ने कुराहरू छन्, जे ठिक छ, त्यो भन्‍न म मेरो ओठ खोल्छु।

7 मेरो मुखले साँचो कुरा बोल्दछ; किनकि मेरो ओठले दुष्‍टतालाई घृणा गर्छ।

8 मेरो मुखका सबै वचन न्यायसङ्गत छन्; तीमध्ये एउटै पनि बाङ्गा-टिङ्गा अथवा भ्रष्‍ट छैन।

9 विवेकशील व्यक्तिका लागि मेरा वचन ठिक छन्, ज्ञान हुने मानिसको निम्ति ती धार्मिक छन्।

10 मेरो अर्तीलाई चाँदीको सट्टामा, र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन;

11 किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ, र तिमीले इच्छा गरेको कुनै पनि कुरा त्यसको दाँजोमा आउँदैन।

12 “म, बुद्धि, विवेकसँग बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्।”

13 याहवेहप्रतिको भय दुष्‍टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु।

14 परामर्श र उचित फैसला मद्वारा नै हुन्छन्; मसित समझशक्ति छ, र मसित सामर्थ्य छ।

15 मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायसङ्गत उर्दी जारी गर्छन्।

16 मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्— र पृथ्वीमा शासन गर्ने सबै शासकहरू।

17 मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु; मेरो खोजी गर्नेहरूले मलाई भेट्टाउँछन्।

18 मसित धन र आदर, रहिरहने सम्पत्ति र समृद्धि छन्।

19 मेरो फल असल सुनभन्दा राम्रो छ; म जे पाउँछु, त्यो चुनिएको चाँदीभन्दा असल हुन्छ।

20 म धार्मिकताका बाटो हिँड्छु, र न्यायको मार्गमा हिँड्छु,

21 मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु र म तिनीहरूका भण्डार भरिदिनेछु।

22 याहवेहले आफ्नो सृष्‍टिको सुरुमा नै, उहाँका पुरातनका सबै कामहरूभन्दा पहिले नै मलाई सृजनुभयो,

23 परापूर्वकाल अगि नै, अर्थात् संसारको सुरु हुनुभन्दा पहिलेदेखि नै मेरो सृष्‍टि भएको थियो।

24 सागरहरू हुनुभन्दा पहिले, पानीले भरिएका मुहानहरू हुनुभन्दा अगि नै मेरो जन्म भएको थियो,

25 पर्वतहरू आ-आफ्ना स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाडहरूभन्दा पहिल्यै मेरो जन्म भएको थियो।

26 उहाँले पृथ्वी र त्यसका जमिनहरू, वा पृथ्वीका धुलो बनाउनुभन्दा अगि नै म सृजिएको थिएँ।

27 जब उहाँले आकाशलाई स्थापित गर्नुभयो, म अस्तित्वमा थिएँ; उहाँले महासागरमाथि क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ।

28 जब उहाँले माथिका बादलहरू स्थापित गर्नुभयो; जब पानीको मूललाई स्थिर गर्नुभयो;

29 जब पानीलाई उहाँको आज्ञा नाघेर बाहिर नजाओस् भनेर उहाँले समुद्रको सिमाना तोकिदिनुभयो; जब उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो;

30 त्यस समय म एक कारिगरजस्तै उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थेँ; उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थेँ।

31 उहाँको सम्पूर्ण संसारमा म आनन्द मनाउँथे, र मानव जातिमा प्रसन्‍न रहन्थेँ।

32 अब हे मेरा छोराछोरीहरू हो, मेरा कुरा सुन; तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू पछ्याउँछन्।

33 मेरा अर्तीहरू सुन र बुद्धिमान् होओ, त्यसलाई बेवास्ता नगर,

34 त्यो मानिस धन्य हो, जसले मेरा वचन सुन्छ, जो दिनदिनै मेरा ढोकाहरूमा नियालेर हेर्दै, मेरो ढोकाको छेउमा पर्खिरहन्छ।

35 किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, र याहवेहबाट निगाह प्राप्‍त गर्छ।

36 “तर जसले मलाई भेट्टाउन असफल हुन्छ, त्यसले आफूलाई नोक्सानी गर्छ, मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छन्।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy