Online Bible

- Reklamy -

हितोपदेश 5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


व्यभिचार विरुद्ध चेतावनी

1 हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान देऊ, अन्‍तर्दृष्‍टिका मेरा वचनहरू ध्यानपूर्वक सुन,

2 ताकि तिमीले विवेकलाई कायम राख्न सक, र तिम्रो ओठले ज्ञानको रक्षा गरोस्।

3 किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ, र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ,

4 तापनि आखिरमा त्यो पित्तजस्तै तितो, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ।

5 त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्, त्यसका पाइलाहरू सोझै पातालतिर लाग्छन्।

6 त्यसले जीवनको मार्गतिर वास्तै गर्दिन; त्यसका मार्गहरू अस्थिर छन्, तापनि यो कुरा त्यसले थाहै गर्दिन।

7 अब, हे मेरा छोराहरू, मेरो कुरा सुन, म जे भन्छु, त्यसबाट तर्किएर नजाओ!

8 त्यस्ती स्त्रीको मार्गदेखि टाढै बस, त्यसको घरको ढोका नजिक जाँदै नजाओ!

9 नत्रता तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा दिनेछौ, र तिमीहरूको प्रतिष्‍ठा निर्दयीको हातमा पर्नेछ,

10 अनि अरूले तिमीहरूको धनसम्पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका परिश्रमले अर्काको घरलाई समृद्ध तुल्याउनेछ।

11 जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरू गलेर हाड र छाला हुनेछौ।

12 तब तिमीहरूले भन्‍नेछौ, “हाय मैले कसरी अनुशासनलाई घृणा गरेँ, र कसरी मेरो हृदयले सुधारलाई लत्यायो!

13 मैले मेरा शिक्षकहरूको आज्ञापालन गरिनँ, र मलाई सिकाउनेहरूको कुरामा ध्यानै दिइनँ।

14 परमेश्‍वरका मानिसहरूको सभामा, म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु।”

15 आफ्नै भाँडाको पानी पिऊ, र आफ्नै कुवाबाट बगेको पानी पिऊ!

16 के तिम्रा मुहानहरू सडकतिर, र तिम्रा मुहानका पानी चोकहरूतिर बगेर जाऊन्?

17 त्यो तिम्रै निम्ति मात्र होस्, त्यसको साझेदार पराईहरू हुन नपाऊन्।

18 तिम्रो मुहान धन्यको होस्; र आफ्नो युवाअवस्थाकी पत्नीसित तिमी आनन्दित होऊ!

19 मायालु मृग, राम्री हरिणीजस्तै, त्यसकै स्तनहरूले तिमीलाई सधैँ सन्तुष्‍ट राखून्, तिमी सधैँ त्यसकै प्रेममा मोहित भइबस।

20 हे मेरो छोरा, तिमी किन अर्काकी पत्नीको मोहमा फस्छौ? तिमी किन स्वेच्छाचारी स्त्रीलाई अँगालो हाल्छौ?

21 किनकि मानिसका चालहरू याहवेहमा छर्लङ्ग छन्; र उहाँले त्यसका सबै मार्गहरूको जाँच गर्नुहुन्छ।

22 दुष्‍ट मानिसका अधर्मले त्यसलाई पासोमा फसाउँछ, र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ।

23 अनुशासनको अभावमा तिनीहरू मर्नेछन्; आफ्नै घोर मूर्खताले बहकिनेछन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy