Online Bible

- Reklamy -

हितोपदेश 31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


राजा लमूएलका भनाइहरू

1 राजा लमूएलका नीतिवचन, जुन तिनका आमाले तिनलाई सिकाएकी थिइन्—एक ईश्‍वरवाणी।

2 हे मेरा छोरा, सुन्! हे मेरा गर्भका छोरा, सुन्! हे मेरो छोरा, प्रार्थनाहरूका जवाफ सुन्!

3 तेरो आफ्नो सम्पूर्ण बल स्त्रीहरूलाई दिएर नसक्; तेरो शक्ति तिनीहरूलाई नदे, जसले राजाहरूलाई पतन गराउँछन्।

4 यो कुरा राजाहरूका निम्ति होइन, हे लमूएल— राजाहरूले मद्यपान गर्नुहुन्‍न, शासकहरूले मदिराको लालसा गर्नुहुन्‍न,

5 कतै तिनीहरूले पिएर कानुनलाई बेवास्ता गर्लान्, र थिचोमिचोमा परेकाहरूलाई तिनीहरूका अधिकारबाट वञ्चित गर्लान्।

6 तिनीहरूलाई मदिरा दे, जो नष्‍ट भइरहेका छन्; तिनीहरूलाई मद्यपान दे, जो वेदनामा परेका छन्।

7 तिनीहरूले पिऊन् र आफ्नो गरिबी बिर्सून्, अनि आफ्ना वेदना कहिल्यै नसम्झून्।

8 आफ्ना निम्ति बोल्न नसक्नेहरूका निम्ति, र दुःख पाएकाहरूका अधिकारको निम्ति बोलिदे।

9 आवाज उठा, र ठिकसित न्याय गर्, गरिब र खाँचोमा परेकाहरूको अधिकारको रक्षा गर्!


उपसंहार: असल चरित्र भएकी पत्नी

10 असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।

11 तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्; र तिनलाई कुनै मूल्यवान् कुराको अभाव हुँदैन।

12 तिनले आफ्नो जीवनकालभरि नै खराब कुरा होइन, तर असल कुरा दिन्छिन्।

13 तिनले ऊन र सनपाट चुन्छिन्, र इच्छुक हातले काम गर्छिन्।

14 व्यापारीका जहाजहरूले जस्तै; तिनले टाढाबाट भोजन ल्याउँछिन्।

15 मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्, आफ्नो परिवारको निम्ति भोजन जुटाउँछिन्, र आफ्नी सेविकाहरूलाई आ-आफ्नो भाग बाँडिदिन्छिन्।

16 तिनले विचार गरेर एउटा जमिन किन्छिन्, र आफ्नो कमाईबाट एउटा दाखबारी लगाउँछिन्।

17 तिनले आफ्नो काम जोसका साथ गर्छिन्; आफ्नो कामको निम्ति तिनले आफ्ना पाखुराहरू बलियो पार्छिन्।

18 तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्; र राति तिनको बत्ती निभ्दैन।

19 तिनले आफ्नो हातले चर्खा चलाउँछिन्, र आफ्नो औँलाले पिउरी समाउँछिन्।

20 तिनले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छिन्; र खाँचोमा परेकाहरूको निम्ति सहायताको हात बढाउँछिन्।

21 हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्; किनकि तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्।

22 तिनी आफैँले ओछ्यान ढाक्ने तन्‍ना बनाउँछिन्; तिनले असल सुती र बैजनी वस्त्र लगाएकी हुन्छिन्।

23 उनका पतिलाई सहरको मूलढोकामा आदर गरिन्छ, जहाँ उनी देशका अगुवाहरूका बीचमा बस्छन्।

24 तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्; र व्यापारीलाई पटुकाहरू उपलब्ध गराउँछिन्।

25 तिनी सामर्थ्य र सम्मानले सुशोभित हुन्छिन्; भविष्यको निम्ति तिनी मुस्कुराउन सक्छिन्।

26 तिनी बुद्धिसित बोल्छिन्; अनि तिनको जिब्रोमा विश्‍वासयोग्य अर्ती पाइन्छ।

27 तिनले आफ्नो घरानाको कामधन्धाको हेरविचार गर्छिन्, र आलस्यपनको रोटी खाँदिनन्।

28 तिनका छोराछोरीले उठेर तिनलाई धन्यकी भन्छन्, तिनका पतिले पनि यस्तो भन्दै तिनको प्रशंसा गर्छन्:

29 “धेरै स्त्रीहरूले असल काम गर्छन्; तर तिनीहरू सबैलाई तिमीले जितेकी छौ।”

30 सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ; तर याहवेहको डर मान्‍ने स्त्रीको नै प्रशंसा हुनुपर्छ।

31 तिनले कमाएको इनाम तिनलाई नै देऊ; र तिनका कामले सहरको ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy