Online Bible

- Reklamy -

हितोपदेश 28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 कसैले नखेदे तापनि दुष्‍ट मानिस भाग्छ; तर धर्मीचाहिँ सिंहजस्तै साहसी हुन्छ।

2 कुनै देश बागी भयो भने त्यसका धेरै शासकहरू हुन्छन्; तर समझशक्ति र ज्ञान भएका शासकले सुख-शान्ति कायम राख्छ।

3 गरिबमाथि शोषण गर्ने शासक अन्‍न नाश गर्ने मुसलधारे वृष्‍टिजस्तै हो।

4 व्यवस्था त्याग्नेहरूले दुष्‍टहरूका प्रशंसा गर्छन्; तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्।

5 दुष्‍ट मानिसहरूले न्याय बुझ्दैनन्, तर याहवेहलाई खोज्नेहरूले यसलाई सम्पूर्ण रूपले बुझ्दछन्।

6 धनी भएर भ्रष्‍ट जीवन जिउनुभन्दा बरु गरिब भएर निर्दोष जीवन जिउनु असल हो।

7 विवेकी छोराछोरीले शिक्षामा ध्यान दिन्छन्; तर घिचुवाहरूको सङ्गत गर्नेले आमाबुबालाई अपमान तुल्याउँछन्।

8 ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढाउँछ, त्यसले कुम्ल्याएको धन गरिबमाथि दया राख्नेको हुनेछ।

9 यदि कसैले व्यवस्थाप्रति आफ्नो कान सुन्‍नदेखि बन्द गर्छ भने, त्यसका प्रार्थनाहरू पनि घृणित हुन्छन्।

10 जसले धर्मी जीवन जिउनेलाई खराब बाटोतिर लैजान्छ, त्यो आफ्नै पासोमा फस्‍नेछ; तर निर्दोषले प्रशस्त अंश पाउनेछ।

11 धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ; तर समझशक्ति भएका गरिब मानिसले त्यसलाई ठिकसँग मूल्याङ्कन गर्छ।

12 धर्मी जनहरू विजय हुँदा ठूलो खुशीयाली हुन्छ; तर दुष्‍टहरू उच्‍च पदमा पुग्दा मानिसहरू लुक्न थाल्छन्।

13 आफ्ना पापहरू लुकाउनेले उन्‍नति गर्दैन; तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।

14 धन्य हो त्यो मानिस, जसले सधैँभरि याहवेहप्रति श्रद्धा राख्छ; तर आफ्नो हृदय कठोर गर्ने व्यक्ति जोखिममा पर्छ।

15 असहाय मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक गर्जने सिंह र आक्रमक भालुजस्तै हुन्छ।

16 अत्याचारी शासकको विवेक हुँदैन; तर जसले दुष्‍ट कमाइद्वारा पाएको लाभलाई घृणा गर्छ, उसले लामो शासनको आनन्द पाउनेछ।

17 हत्याको दोषले सताएको मानिस चिहानमा शरण लिनेछ; कसैले पनि त्यसलाई सहायता नगरोस्।

18 निर्दोष जीवन जिउने व्यक्ति सुरक्षित रहन्छ; तर जसका मार्गहरू भ्रष्‍ट छन्, तिनीहरू अचानक पतन हुनेछन्।

19 आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू गरिबीले घेरिएका हुन्छन्।

20 विश्‍वासयोग्य मानिसले धेरै आशिष् पाउनेछ; तर धनी हुने इच्छुक व्यक्ति दण्ड नपाई उम्कनेछैन।

21 पक्षपात गर्नु उचित होइन; तापनि मानिसले एक टुक्रा रोटीको निम्ति पनि खराब काम गर्छ।

22 लोभी मानिस धनी हुने लालसा गर्छ; र त्यसलाई दरिद्रताले पर्खिरहेको छ भन्‍ने त्यसलाई थाहै हुँदैन।

23 कुनै मानिसलाई हप्काउनेले अन्त्यमा चापलुसी जिब्रो भएकोभन्दा बढी निगाह प्राप्‍त गर्नेछ।

24 आफ्नो बुबा वा आमालाई लुटेर “यो त भूल होइन” भन्‍ने व्यक्ति विनाशकारीको साझेदारजस्तै हो।

25 लोभी मानिसले फाटो ल्याउँछ; तर याहवेहमा भरोसा राख्ने मानिसले उन्‍नति गर्छ।

26 आफूमाथि भरोसा राख्ने व्यक्ति मूर्ख हो; तर बुद्धिको चालमा चल्ने सुरक्षित रहन्छ।

27 जसले गरिबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन; तर तिनीहरूप्रति वास्ता नदेखाउनेले धेरै श्राप पाउँछ।

28 दुष्‍टको हातमा शासनको जिम्मा आयो भने मानिसहरू लुक्छन्; तर जब दुष्‍टको सर्वनाश हुन्छ, धर्मी फस्टाउँछन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy