Online Bible

- Reklamy -

हितोपदेश 23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भनाइ 7

1 जब तिमी शासकसँग खान बस्छौ, तिम्रो अगि के छ, त्यो राम्ररी याद गर।

2 यदि तिम्रो धेरै खाने बानी छ भने, आफ्नो घाँटीमा छुरी राख।

3 तिनका स्वादिष्‍ठ भोजनहरूको लालसा नगर; किनकि त्यो भोजन छलपूर्ण हुन्छ।


भनाइ 8

4 धनी बन्‍न आफूलाई धेरै नघोट; उचित समयमा आफूलाई रोक्न बुद्धिमान् होऊ।

5 धनसम्पत्ति एकै छिनमा उडिजान्छन्; किनकि यसका पखेटाहरू पलाउँछन्, आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ।


भनाइ 9

6 लोभी मानिसको भोजन नखाऊ, त्यसका स्वादिष्‍ठ भोजनको चाहना नगर;

7 किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारेमा सधैँ सोचिरहेको हुन्छ; त्यसले तिमीलाई “खानुहोस्, पिउनुहोस्” भनी भन्छ, तर त्यसले मनबाट भनेको चाहिँ हुँदैन।

8 तिमीले अलिकति खाएको पनि उकेलिदिनेछौ, र त्यसलाई तिमीले भनेका मधुर वचन त्यसै व्यर्थ जानेछ।


भनाइ 10

9 मूर्खसित नबोल; किनकि त्यसले तिम्रा वचनहरूका ज्ञानलाई तिरस्कार गर्नेछ।


भनाइ 11

10 प्राचीन साँधसिमानाको ढुङ्गा नहटाऊ, अथवा टुहुरा-टुहुरीका खेतबारी नमिच,

11 किनकि तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ; उहाँले तिम्रो विरुद्धमा तिनीहरूका मामिला लिनुहुनेछ।


भनाइ 12

12 तिम्रो हृदय अर्तीमा र तिम्रा कानहरू ज्ञानका वचनहरूमा लगाऊ।


भनाइ 13

13 बालकलाई अनुशासनमा राख्न नरोक; तिमीले तिनीहरूलाई छडी लगायौ भने तिनीहरू मर्नेछैनन्।

14 छडी लगाएर त्यसलाई सजाय देऊ, र त्यसको प्राणलाई मृत्युबाट रक्षा गर।


भनाइ 14

15 हे मेरा छोराछोरी, यदि तिम्रो हृदय बुद्धिमान् छ भने, मेरो हृदय पनि प्रसन्‍न हुनेछ,

16 तिम्रा ओठले ठिक कुरा बोल्दछ भने, मेरो अन्तस्करण त्यसै समय रमाउनेछ।


भनाइ 15

17 तिम्रो हृदयले पापीहरूलाई डाह गर्न नदेऊ; तर याहवेहप्रतिको श्रद्धामा सधैँ जोशिलो होऊ।

18 निश्‍चय नै तिम्रा निम्ति भविष्यको आशा छ, र तिम्रो आशा खोसिनेछैन।


भनाइ 16

19 हे मेरा छोराछोरी, सुन, र बुद्धिमान् होऊ; अनि तिम्रो हृदय सत्य मार्गमा लगाऊ।

20 धेरै दाखमद्य पिउनेहरू, अथवा मुखमा मासु हसुर्नेहरूसित सङ्गत नगर;

21 किनकि मतवाला र घिचुवाहरू गरिब हुनेछन्; र नशाले तिनीहरूलाई थाङ्ने बनाउँछ।


भनाइ 17

22 तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन, र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर।

23 सत्य किन, र त्यसलाई नबेच; बुद्धि, अनुशासन र समझदारी प्राप्‍त गर।

24 धर्मी मानिसको बुबासित आनन्दित हुने कारण हुन्छ; बुद्धिमान् सन्तान जन्माउनु आनन्दको कुरा हो!

25 तिम्रा बुबा र आमा प्रसन्‍न होऊन्, तिमीलाई जन्म दिने आमाले रमाहट गरून्।


भनाइ 18

26 हे मेरो छोरो, तिम्रो हृदय मलाई देऊ, र तिम्रा आँखाले मेरा चालहरू हेर्न रमाऊन;

27 किनकि व्यभिचारिणी स्त्रीचाहिँ एउटा गहिरो खाडल हो, र भ्रष्‍ट पत्नी साँघुरो कुवा हो।

28 त्यो एउटा डाँकुजस्तै ढुकिरहन्‍छे, र मानिसहरूका बीचमा विश्‍वासघाती पुरुषहरूको संख्या बढाउँछे।


भनाइ 19

29 कष्‍ट कसलाई हुन्छ? दुःख कसलाई हुन्छ? को झगडा गरिरहन्छ? को गुनासो गरिरहन्छ? कसलाई अनावश्यक चोटपटक लाग्छ? कसका आँखाहरू राता-राता हुन्छन्?

30 तिनीहरू नै, जो मद्यमै भुलिरहन्छन्; जो मिश्रित मद्यको कचौरा चाख्न जान्छन्।

31 दाखमद्य रातो हुँदा, जब यो कचौरामा हाल्दा फीँज उठ्छ, जब यो बिस्तारै लिइन्छ त्यसतिर एक टक लगाएर नहेर।

32 अन्त्यमा यसले सर्पले जस्तै डस्छ, र विषालु सर्पले जस्तै विषयुक्त पार्छ।

33 तिम्रा आँखाले अनौठा दृश्यहरू देख्नेछन्, र तिम्रा मनले नचाहिँदा कुराहरूको कल्पना गर्नेछ।

34 महासमुद्रमा सुतिरहेझैँ तिमीलाई हुनेछ; मस्तुलका डोरीको माथितिर झुण्डिरहेझैँ तिमी हुनेछौ।

35 तिमीले भन्‍नेछौ, “तिनीहरूले मलाई हिर्काए”, तर मलाई चोट लागेन! तिनीहरूले मलाई पिट्छन्, तर मैले थाहै पाउँदिनँ! “म कहिले बिउँझूँ, अनि म फेरि अर्को मद्य पिऊँ?”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy