Online Bible

- Reklamy -

हितोपदेश 21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजाको हृदय याहवेहको हातमा हुन्छ; उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्‍याएजस्तै, त्यसलाई डोर्‍याउनुहुन्छ।

2 मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला, तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ।

3 ठिक र न्यायोचित काम गर्नुचाहिँ याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ।

4 अहङ्कारी आँखा र अभिमानी हृदय— दुष्‍टका नजोतिएका जमिनले पाप उब्जाउँछ।

5 परिश्रमीको योजनाले लाभ दिन्छ; हतारले अवश्य नै गरिबीमा पुर्‍याउँछ।

6 झूटो जिब्रोद्वारा कमाएको धन उडिजाने वाफ र घातक पासो हो।

7 दुष्‍टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ; किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्।

8 दोषीको चाल बाङ्गो हुन्छ; तर निर्दोषको चालचलन ठिक हुन्छ।

9 कचकचे पत्नीसित एउटै घरमा बस्‍नुभन्दा, घरको कौसीको एउटा कुनामा बस्‍नु असल हो।

10 दुष्‍ट मानिसले दुष्‍टताको चाहना गर्छ; त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन।

11 गिल्‍ला गर्नेले दण्ड पाउँदा सोझाले बुद्धि प्राप्‍त गर्छ; बुद्धिमान्‌लाई अर्ती दिँदा त्यसले ज्ञान प्राप्‍त गर्छ।

12 धर्मी जनले दुष्‍टको घरलाई चिनिराख्छ; तर परमेश्‍वरले दुष्‍टहरूलाई पतन गराउनुहुन्छ।

13 जसले गरिबको चीत्कार सुन्दैन, त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन।

14 गुप्‍तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ; लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ।

15 उचित न्यायले धर्मी जनको हृदयमा आनन्द ल्याउँछ; तर कुकर्मीहरू भने त्रसित हुन्छन्।

16 समझशक्तिदेखि कुमार्गतिर लाग्ने मानिस मृतकहरूको साथमा विश्राम गर्न पुग्छ।

17 सुख-विलास मन पराउने गरिब हुनेछ; दाखमद्य र विलासिता मन पराउने कहिल्यै धनी हुनेछैन।

18 दुष्‍टहरू धर्मीहरूको उद्धारको मोल, र विश्‍वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्।

19 झगडालु र गनगने पत्नीसित बस्‍नुभन्दा त बरु मरुभूमिमा बस्‍नु असल हुन्छ।

20 बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ; तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ।

21 धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, उन्‍नति र सम्मान पाउँछ।

22 बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ, र तिनीहरूले भरोसा गरेको किल्‍ला भत्काइदिन्छ।

23 आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई विपत्तिबाट जोगाउँछ।

24 अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्‍ला गर्ने” हो, त्यसले अभिमानसाथ व्यवहार गर्दछ।

25 अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ; किनकि त्यसका हातहरूले काम गर्न इन्कार गर्छन्।

26 दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ, तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ।

27 दुष्‍टको बलिदान घिनलाग्दो हुन्छ; त्यसले दुष्‍ट विचारले ल्याएको छ भने झन् कति बढी घृणित हुनेछ!

28 झूटो गवाही दिने नष्‍ट हुनेछ; तर साँचो साक्षीलाई सधैँ सुनिनेछ।

29 दुष्‍ट मानिसले आफ्नो अनुहारमा साहसीपना देखाउँछ; तर धर्मी जीवन जिउनेहरूले आफ्ना चालहरूमा विचार पुर्‍याउँछन्।

30 कुनै पनि बुद्धि, अन्तर्दृष्‍टि र योजना, याहवेहको विरुद्ध सफल हुन सक्दैन।

31 घोडा युद्धको निम्ति तयार राखिन्छ; तर विजयचाहिँ याहवेहकै हातमा हुन्छ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy