Online Bible

- Reklamy -

हितोपदेश 20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 दाखमद्य उपहास हो, र कडा मद्यपान हल्‍ला हो; यी कुराहरूका लतमा लागेकाहरू बुद्धिमान् हुँदैनन्।

2 राजाको भय सिंहको गर्जनजस्तो हुन्छ; तिनलाई रिस उठाउनेहरूले आफ्नो प्राण गुमाउँछन्।

3 झगडाबाट अलग्गै रहनु मानिसका निम्ति सम्मानको कुरा हो; तर हरेक मूर्खचाहिँ झगडा मच्‍चाउनमा छिटो हुन्छ।

4 अल्छेले समयमै हलो जोत्दैन; यसकारण कटनीको बेला त्यसले खोज्छ, तर केही पाउँदैन।

5 मानिसको हृदयका उद्देश्यहरू गहिरो पानीजस्तै हुन्छन्; तर समझदार मानिसले त्यसलाई बाहिर निकाल्छ।

6 धेरै मानिसहरू आफूमा अचुक प्रेम भएको दाबी गर्छन्; तर विश्‍वासयोग्य मानिस कसले पाउन सक्छ र?

7 धर्मी मानिसले निष्कलङ्क जीवन जिउँछ; त्यसका पछि आउने सन्तानहरू धन्यका हुन्छन्।

8 जब राजा सिंहासनमा न्याय गर्न बस्छन्, तब तिनले आफ्नै आँखाले सबै खराबीलाई केलाउँछन्।

9 कसले भन्‍न सक्छ, “मैले आफ्नो हृदय शुद्ध राखेको छु, म सफा र पापरहित छु?”

10 असमान ढक र असमान नापहरू— याहवेहले यी दुवैलाई घृणा गर्नुहुन्छ।

11 बालकको चरित्र शुद्ध र ठिक छ कि छैन भनी उसको चालचलनबाट नै थाहा पाइन्छ।

12 सुन्‍ने कान र देख्ने आँखा— यी दुवै याहवेहले नै बनाउनुभएको हो।

13 निद्रालाई प्रेम नगर, नत्रता यसले तिमीलाई गरिब बनाउनेछ; जागा बस, र तिमीसित खानलाई प्रशस्त अन्‍न हुनेछ।

14 ग्राहकले भन्छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब फर्कँदा आफ्नो किनाइमा त्यसले घमण्ड गर्छ।

15 सुन छ, र माणिकहरू प्रशस्त छन्; तर ज्ञानका कुरा बोल्ने जिब्रो अमूल्य रत्नजस्तै हुन्छ।

16 परदेशीको जमानी बस्‍नेको लुगा लिइराख; परदेशीको जमानी बसेको छ भने त्यो लुगा बन्धकको रूपमा लिइराख।

17 छलसित प्राप्‍त गरेको भोजन मानिसको लागि स्वादिष्‍ठ हुन्छ, तर अन्त्यमा त्यो मुखमा रोडाजस्तै हुन्छ।

18 सरसल्‍लाहद्वारा योजनाहरू सफल हुन्छन्; सल्‍लाह नलिई युद्ध गर्न नजाओ।

19 कुरौटेले गुप्‍त कुरा प्रकट गरिदिन्छ; त्यसकारण धेरै बोल्ने मानिसदेखि अलग बस।

20 यदि कसैले आफ्ना बुबा वा आमालाई सराप्छ भने, त्यसको बत्ती घोर अन्धकारमा निभाइनेछ।

21 सुरुमै हतारमा प्राप्‍त गरेको पैतृक सम्पत्ति अन्त्यमा आशिषित हुँदैन।

22 यसो नभन, “म तिम्रो खराबीको बदला लिनेछु!” याहवेहको प्रतीक्षा गर, र उहाँले तिम्रो प्रतिशोध लिनुहुनेछ।

23 असमान ढकहरू याहवेहले घृणा गर्नुहुन्छ; र छलको तराजुले उहाँलाई प्रसन्‍न पार्दैन।

24 मानिसका पाइलाहरू याहवेहबाट नै निर्देशन गरिएका हुन्छन्; यसकारण कसले आफ्नै मार्ग जान्‍न सक्छ र?

25 असावधानीपूर्वक केही कुरो अर्पण गरिसकेपछि मात्रै आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ।

26 बुद्धिमान् राजाले दुष्‍टहरूलाई पन्साउँछन्; तिनले उनीहरूमाथि दाइँ गर्ने चक्‍का चलाउँछन्।

27 याहवेहको ज्योतिले मानिसको आत्मा खोजी गर्दछ, जसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ।

28 प्रेम र विश्‍वासयोग्यताले राजालाई सुरक्षित राख्छन्; प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित रहन्छ।

29 जवान मानिसहरूको गौरव तिनीहरूको बल हो; वृद्धहरूको शोभा फुलेको केश हो।

30 मुक्‍का र चोटहरूले दुष्‍टता पखालिन्छ, र पिटाइले भित्री मनुष्यत्व खारिन्छ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy