Online Bible

- Reklamy -

हितोपदेश 14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे; तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।

2 याहवेहको डर मान्‍नेहरू सत्यतामा जिउँछन्, तर उहाँलाई तुच्छ ठान्‍नेहरू कुमार्गमा हिँड्छन्।

3 मूर्खको बोलीले आफ्नै पिठिउँमा छडी निम्त्याउँछ; तर बुद्धिमान्‌को ओठले तिनीहरूलाई बचाउँछ।

4 जहाँ गोरुहरू छैनन्, त्यहाँ गोठ खाली रहन्छ; तर गोरुको बलबाट प्रशस्त फसल कटनी हुन्छ।

5 साँचो साक्षीले धोका दिँदैन; तर झूटो साक्षीले असत्य कुराहरू पोख्छ।

6 गिल्‍ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन; तर विवेकशील व्यक्तिले सजिलैसित ज्ञान प्राप्‍त गर्छ।

7 मूर्ख मानिसबाट टाढै बस, किनकि उसको ओठमा ज्ञानको कुरा पाइँदैन।

8 विवेकशील मानिसको बुद्धिले त्यसलाई सही मार्ग दिन्छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो।

9 दोष मूर्खहरूका निम्ति ठट्ठाको विषय हो; तर धर्मीहरूमा भने सद्भावना पाइन्छ।

10 प्रत्येक मनको तितोपनाले नै जान्दछ; र कोही त्यसको आनन्दको सहभागी हुन सक्दैन।

11 दुष्‍टको घर भत्काइनेछ; तर धर्मीको पालमा फलिफाप हुनेछ।

12 कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ।

13 मुखमा हाँसो भए तापनि हृदयमा वेदना हुन सक्छ; र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ।

14 विश्‍वासहीनहरूलाई तिनीहरूको चाल अनुसारको प्रतिफल दिइनेछ; र असल मानिसले आफ्नो कामको प्रतिफल पाउनेछ।

15 सोझो मानिसले हरेक कुरामा विश्‍वास गर्छ; तर विवेकशील मानिसले आफ्ना पाइलाहरूबारे विचार गर्छ।

16 बुद्धिमान् मानिसले याहवेहको डर मान्छ, र दुष्‍टतादेखि परै बस्छ; तर मूर्खचाहिँ अहङ्कारी हुन्छ, विस्वस्त हुन्छ।

17 झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ; र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ।

18 रिसाहाले मूर्खता कमाउँछन्, तर विवेकशीलहरूले ज्ञानको मुकुट लगाउँछन्।

19 खराब मानिसहरू असल मानिसहरूका सामु, र दुष्‍टहरू धर्मीहरूका मूलढोकाको सामु झुक्नेछन्।

20 गरिबहरू आफ्नै छिमेकीद्वारा त्यागिन्छन्; तर धनीको धेरै मित्रहरू हुन्छन्।

21 आफ्नो छिमेकीलाई तुच्छ ठान्‍नेले पाप गर्छ; तर त्यो मानिस धन्य हो, जसले अभावमा परेकाहरूमाथि दया देखाउँछ।

22 के दुष्‍ट योजना रच्नेहरू बरालिँदैनन् र? तर असल योजना बनाउनेहरूले प्रेम र विश्‍वासयोग्यता प्राप्‍त गर्छन्।

23 सबै कठोर परिश्रमले लाभ ल्याउँछ; तर कुरा मात्र गर्ने मानिसचाहिँ गरिबीमा पुग्छ।

24 बुद्धिमान्‌को धन तिनीहरूको मुकुट हो; तर मूर्खहरूको मूर्खपनाले मूर्खता मात्र उत्पन्‍न गराउँछ।

25 साँचो साक्षीले जीवन बचाउँछ; तर झूटो साक्षी छलपूर्ण हुन्छ।

26 याहवेहको डर मान्‍नेको किल्‍ला सुरक्षित रहन्छ; र त्यसका छोराछोरीको लागि त्यो एक शरणस्थान हुनेछ।

27 याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ।

28 ठूलो जनसंख्या राजाको महिमा हो; तर प्रजाविनाको शासक नष्‍ट हुन्छ।

29 धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ।

30 शान्त हृदयले शरीरलाई जीवन दिन्छ; तर ईष्‍र्याचाहिँ हड्डीहरूका निम्ति क्यान्सरजस्तै हुन्छ।

31 गरिबलाई थिचोमिचो गर्नेले आफ्ना सृष्‍टिकर्ताप्रति अपमान दर्शाउँछ; तर खाँचोमा परेकाहरूप्रति दयालु हुनेले परमेश्‍वरलाई सम्मान दिन्छ।

32 जब विपत्ति आउँछ, दुष्‍टहरूको पतन हुन्छ; तर धर्मीले चाहिँ मृत्युमा पनि परमेश्‍वरको आश्रय पाउँछ।

33 बुद्धिमान्‌को हृदयमा बुद्धिले बास गर्छ, र मूर्खहरूको बीचमा पनि त्यसले आफूलाई प्रकट गराउँछ।

34 धार्मिकताले राष्ट्रलाई उच्‍च तुल्याउँछ; तर पाप गर्नुचाहिँ कुनै पनि जातिको निम्ति कलङ्क हुन्छ।

35 बुद्धिमान् सेवकसँग राजा प्रसन्‍न रहन्छन्; तर शर्मलाग्दो सेवकले तिनको रिस जगाउँछ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy