Online Bible

- Reklamy -

हितोपदेश 11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 छलको तराजु याहवेहले घृणा गर्नुहुन्छ, तर ठिक ढकदेखि उहाँ प्रसन्‍न हुनुहुन्छ।

2 जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ; तर नम्रतासँग बुद्धि आउँछ।

3 धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ; तर विश्‍वासघातीहरू आफ्नै कपटले नष्‍ट हुन्छन्।

4 क्रोधको दिनमा धनसम्पत्ति कुनै काम लाग्दैन; तर धार्मिकताले मृत्युबाट छुटाउँछ।

5 निर्दोषहरूका धार्मिकताले तिनीहरूका मार्ग सोझो बनाउँछ, तर दुष्‍टहरूचाहिँ तिनीहरूका आफ्नै दुष्‍टताले तल खसालिन्छन्।

6 सत्यनिष्‍ठहरूका धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर विश्‍वासघातीहरू दुष्‍ट इच्छाहरूद्वारा पासोमा पर्छन्।

7 जब दुष्‍ट मानिस मर्छ, तब त्यसको आशा पनि नष्‍ट हुन्छ; त्यसले आफ्नो शक्तिबाट राखेको आशा शून्यमा विलीन भइहाल्छ।

8 धार्मिक व्यक्ति सङ्कष्‍टबाट बचाइन्छ, र त्यो दुष्‍टमाथि आइपर्छ।

9 ईश्‍वरविहीन मानिसको कुराले आफ्नै मुखले आफ्नो छिमेकीलाई नष्‍ट पार्छ, तर धर्मीचाहिँ ज्ञानद्वारा उम्कनेछ।

10 धर्मीहरूको उन्‍नति हुँदा सहर रमाउँदछ; तर दुष्‍टहरूको नाश हुँदा हर्षको ध्वनि सुनिन्छ।

11 धर्मीका आशिष्‌द्वारा सहर उच्‍च हुन्छ; तर दुष्‍टको मुखबाट त्यो नष्‍ट हुन्छ।

12 विवेकहीनले आफ्नो छिमेकीको खिसी गर्छ; तर विवेकीले आफ्नो जिब्रोलाई लगाम लगाउँछ।

13 कुराउटेले गोप्य भरोसामा आघात पुर्‍याउँछ; तर विश्‍वासयोग्य मानिसले कुरा गोप्य राख्छ।

14 मार्गदर्शनको अभावमा देशको पतन हुन्छ; तर धेरै सल्‍लाहकारको कारण विजय हुन्छ।

15 अरूको जमानी बस्‍नेले निश्‍चय नै दुःख भोग्नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ।

16 दयालु हृदय भएकी स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन मात्र कमाउँछन्।

17 दयालु मानिसले आफैँलाई लाभ पुर्‍याउँछ, तर निर्दयी मानिसले आफूमाथि सङ्कष्‍ट निम्त्याउँछ।

18 दुष्‍ट मानिसले छलको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ, त्यसले निश्‍चय नै प्रतिफलको कटनी गर्छ।

19 धर्मी मानिसले निश्‍चय नै जीवन प्राप्‍त गर्छ, तर दुष्‍टताको पछि लाग्ने मानिस आफ्नै मृत्युमा पुग्छ।

20 याहवेहले भ्रष्‍ट हृदय भएकालाई घृणा गर्नुहुन्छ; तर निर्दोष मार्गमा चल्नेहरूसित उहाँ प्रसन्‍न हुनुहुन्छ।

21 यो निश्‍चय जान: दुष्‍टले आवश्य दण्ड पाउनेछ, तर धर्मीका सन्ततिले छुटकारा पाउनेछन्।

22 विवेकहीन सुन्दरीचाहिँ सुँगुरको थुतुनोमा सुनको बुलाकी भएजस्तै हो।

23 धर्मीहरूका इच्छाहरूको अन्त्य असल नै हुन्छ; तर दुष्‍टहरूका आशाको अन्त्य केवल क्रोधमा हुन्छ।

24 कसैले उदार चित्तले दिएर पनि अझ बढी लाभ गर्छन्; तर कसैले चाहिँ कञ्जुसी गर्छ, र पनि त्यसमाथि दरिद्रता आउँछ।

25 उदार मानिसको उन्‍नति हुनेछ; जसले अरूलाई उत्साह दिन्छ, ऊ आफैँ पनि उत्साहित हुनेछ।

26 अन्‍न लुकाएर थुपारी राख्नेलाई मानिसहरूले सराप्छन्, तर ती खुशीसाथ बेच्नेलाई आशिष् दिन्छन्।

27 जसले असल खोज्छ, त्यसले निगाह पाउँछ, तर दुष्‍टताको खोजी गर्नेहरूमा दुष्‍टता नै आउँछ।

28 जसले आफ्नो धनमाथि भरोसा राख्छ, त्यसको पतन हुन्छ; तर धर्मी जनहरूचाहिँ हरियो पालुवाजस्तै लहलह मौलाउनेछन्।

29 जसले आफ्नो परिवारमा विपत्ति ल्याउँछ, त्यसले पैतृक सम्पत्तिको रूपमा बतास मात्र प्राप्‍त गर्नेछ; र मूर्खचाहिँ बुद्धिमान्‌को सेवक हुनेछ।

30 धर्मी जनको फल जीवनको रूख हो; अनि बुद्धिमान्‌ले साथी पाउँदछ।

31 यदि धर्मी जनले आफ्नो प्रतिफल यस संसारमा पाउँछ भने, झन् अधर्मी र पापीहरूले त कति बढ्ता पाउनेछन्!

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy