गन्ती 36 - पवित्र बाइबल नेपाली समकालीन संस्करणसलोफादका छोरीहरूको उत्तराधिकार 1 योसेफका सन्तानहरूबाट आएका मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलाद वंशका परिवारका अगुवाहरू आए। अनि मोशा, अरू अगुवाहरू र इस्राएली परिवारहरूका अगुवाहरूका सामु आए। 2 अनि तिनीहरूले भने, “जब याहवेहले इस्राएलीहरूलाई पैतृक सम्पत्तिको रूपमा यस देशलाई चिट्ठा हालेर दिनू भनेर मेरा मालिकलाई आज्ञा गर्नुभएको थियो; अनि उहाँले हाम्रा दाजु सलोफादको अधिकार तिनका छोरीहरूलाई दिनू भनेर तपाईंलाई आज्ञा दिनुभयो। 3 अब मानिलिनुहोस्, यदि तिनीहरूले इस्राएलका अरू कुलका मानिसहरूसँग विवाह गरे भने तिनीहरूका अधिकारको भाग हाम्रा पुर्ख्यौली अधिकारबाट खोसिएर तिनीहरूले विवाह गरेको कुलमा थपिनेछ। यसरी हामीलाई दिइएको अधिकारको केही अंश गुमाउनुपर्ने हुन्छ। 4 जब इस्राएलीहरूका निम्ति पचासौँ उत्सव वर्ष आउँछ, तब तिनीहरूका अधिकारको भाग तिनीहरूले विवाह गरेका कुलमा थपिनेछ। अनि तिनीहरूको पैतृक सम्पत्ति हाम्रा पुर्खाहरूका अधिकारबाट खोसिनेछ।” 5 तब याहवेहको आज्ञामा मोशाले इस्राएलीहरूलाई यो आदेश दिए: “योसेफका सन्ततिका कुलहरूले भनेका कुरा ठिकै हो। 6 याहवेहले सलोफादका छोरीहरूका निम्ति यस्तो आज्ञा दिनुहुन्छ: तिनीहरूले आफ्ना पिताका पुर्ख्यौली कुलबाट जसलाई पनि आफ्ना राजीखुशीअनुसार विवाह गर्न सक्छन्। 7 इस्राएलमा कुनै पैतृक सम्पत्ति एउटा कुलबाट अर्को कुलमा जान पाउँदैन। किनकि प्रत्येक इस्राएलीहरूले तिनीहरूका पुर्खाहरूबाट पाएका पैतृक सम्पत्तिको भाग राख्नुपर्छ। 8 इस्राएलीहरूको कुनै पनि कुलमा उत्तराधिकारको भाग पाउने युवतीले त्यसकै बुबापट्टिको कुलमा विवाह गरोस्। यसरी हरेक इस्राएलीले आफ्नै पैतृक सम्पत्तिको भाग पाओस्। 9 कुनै पनि पैतृक सम्पत्ति एउटा कुलबाट अर्को कुलमा नजाओस्। तर हरेक इस्राएली आफ्नै पुर्खाका कुलको पैतृक सम्पत्तिमा रहोस्।” 10 यसकारण सलोफादका छोरीहरूले याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै गरे। 11 सलोफादका छोरीहरू महला, तिर्सा, होग्ला, मिल्का र नोआहले आफ्नै बुबाका दाजुभाइहरूका छोराहरूसँग विवाह गरे। 12 तिनीहरूले योसेफका छोरा मनश्शेका सन्ततिहरूका वंशभित्रै विवाह गरे। अनि तिनीहरूका पैतृक सम्पत्तिको भाग तिनीहरूका बुबाकै वंश र कुलमा रह्यो। 13 याहवेहले मोशाद्वारा इस्राएलीहरूलाई, यरीहोदेखि पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा दिनुभएका आज्ञाहरू र नियमहरू यिनै नै हुन्। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.