Online Bible

- Reklamy -

गन्‍ती 30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भाकलहरू

1 मोशाले इस्राएलका कुलका मुखियाहरूलाई भने: “याहवेहले यस्तो आज्ञा दिनुभएको छ:

2 जब कुनै मानिसले याहवेहसँग भाकल गर्छ, अथवा शपथ खाएर आफैँलाई बन्धनमा पार्छ भने त्यसले आफ्नो वचन तोड्नुहुँदैन। तर त्यसले आफूले बोलेको हरेक वचन जसरी भए तापनि पूरा गर्नैपर्छ।

3 “आफ्नो बुबाको घरमा बसिरहेकी कुनै जवान स्त्रीले याहवेहसँग भाकल गरी, अथवा आफूलाई बन्धनमा बाँधी भने,

4 र त्यो भाकल वा बन्धन सुनेर पनि उसका बुबा चुपचाप लाग्यो भने ती भाकल वा बन्धन कायम रहनेछ।

5 तर यदि उसका बुबाले त्यो भाकल सुनेर मनाही गर्‍यो भने उसले गरेको कुनै पनि भाकल अथवा आफूले गरेको बन्धन कायम रहनेछैन। उसका बुबाले उसलाई मनाही गरेका कारण याहवेहले उसलाई क्षमा गरिदिनुहुनेछ।

6 “यदि भाकल गरेपछि उसले विवाह गरी वा सोचविचार नगरी उसका मुखले आफूलाई बन्धनमा पारी भने,

7 र उसको पतिले त्यो कुरा सुनेर उसलाई केही भनेन भने उसका भाकलहरू वा उसले आफूलाई गरेका बन्धनहरू कायम रहनेछन्।

8 तर उसका पतिले त्यस विषयमा सुनेर उसलाई मनाही गर्‍यो भने उसले गरेको भाकल अथवा उसले नसोची आफूले गरेको प्रतिज्ञा रद्द हुनेछ। अनि याहवेहले त्यस स्त्रीलाई क्षमा गरिदिनुहुनेछ।

9 “विधवा अथवा पतिबाट त्यागिएकी स्त्रीले गरेका भाकल वा प्रतिज्ञा उसले पूरा गर्नैपर्छ।

10 “यदि पतिसँग बसिरहेकी स्त्रीले भाकल गरी वा शपथद्वारा आफूलाई बन्धनमा पारी,

11 अनि उसको पतिले त्यस विषयमा सुन्यो; तर पनि उसलाई केही भनेन; र उसलाई मनाही गरेन भने उसले गरेका सबै भाकलहरू अथवा आफूले गरेका प्रतिज्ञाहरू कायम रहनेछ।

12 तर यदि उसको पतिले त्यस विषयमा सुनेर त्यस कुरालाई रद्द गर्छ भने त्यस स्त्रीको ओठले गरेको कुनै पनि भाकल वा प्रतिज्ञा पूरा गर्नुपर्दैन। उसको पतिले ती रद्द गरिदिएको छ। अनि याहवेहले पनि उसलाई क्षमा गरिदिनुहुनेछ।

13 कुनै पनि स्त्रीले आफूलाई इन्कार गर्नलाई गरेको भाकल वा शपथद्वारा गरिएको प्रतिज्ञालाई उसको पतिले कायम राख्न वा रद्द गर्न सक्नेछ।

14 तर यदि उसको पतिले उसलाई लामो समयसम्म त्यस विषयमा केही भनेन भने त्यस स्त्रीले आफूलाई बाँधेका सबै भाकलहरू अथवा प्रतिज्ञाहरू त्यसले कायम राख्नेछ। त्यसले ती कुराका विषयमा सुनेर पनि उसलाई केही नभनेको कारण भाकल कायम रहनेछ।

15 तरै पनि यदि त्यसले केही समयपछि ती कुरा सुनेर कुनै कुरालाई रद्द गर्‍यो भने त्यस स्त्रीको दोषको परिणाम उसको पतिले भोग्नुपर्छ।”

16 पति-पत्नी बीचको सम्बन्ध र बुबा र बुबाको घरमा बसेकी अविवाहित जवान छोरीबीचको सम्बन्धको बारेमा याहवेहले मोशालाई दिनुभएका नियमहरू यिनै हुन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy