Online Bible

- Reklamy -

गन्‍ती 20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


चट्टानबाट पानी

1 पहिलो महिनामा सारा इस्राएली समुदाय जीनको उजाडस्थानमा आइपुगे; र तिनीहरू कादेशमा बसे। त्यहाँ मिरियमको मृत्यु भयो, र तिनलाई त्यहीँ गाडियो।

2 तर त्यहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन। अनि तिनीहरू मोशा र हारूनको विरोधमा भेला भए।

3 यसकारण तिनीहरूले मोशासित झगडा गरेर भने, “हाम्रा दाजुभाइहरू याहवेहको सामु मर्दा बरु हामी पनि मरिहालेका भए असल हुनेथियो!

4 याहवेहको समुदायलाई तपाईंहरूले उजाडस्थानमा किन ल्याउनुभयो? हामी र हाम्रा गाईबस्तुहरू मरून् भनेर ल्याउनुभएको हो?

5 तपाईंले हामीलाई इजिप्टबाट निकालेर यस डरलाग्दो ठाउँमा किन ल्याउनुभयो? यहाँ न अन्‍न, न नेभारा, न अङ्‌गुर अथवा न त अनार नै छ। अनि पिउनलाई पानी पनि छैन!”

6 मोशा र हारून त्यस समुदायलाई छोडेर भेट हुने पालको प्रवेशद्वारमा गए, र भुइँसम्मै घोप्टो परे। अनि याहवेहको महिमा तिनीहरूकहाँ देखा पर्‍यो।

7 याहवेहले मोशालाई भन्‍नुभयो,

8 “तेरो लहुरो लिएर तँ र तेरा दाजु हारूनले समुदायलाई एकसाथ भेला गराउनू। तिनीहरूको आँखाकै सामु त्यस चट्टानलाई आज्ञा दिनू। तब त्यस चट्टानबाट पानी निस्कनेछ। तैँले समुदायका लागि चट्टानबाट पानी निकाल्नेछस्। अनि तिनीहरू र तिनीहरूका गाईबस्तुहरूले पानी पिउनेछन्।”

9 यसकारण मोशाले याहवेहको आज्ञाअनुसार उहाँकै सामु लहुरो लिए।

10 मोशा र हारूनले समुदायलाई चट्टानको सामु भेला गराए; र मोशाले तिनीहरूलाई भने, “अब सुन, ए विद्रोहीहरूहो, हामीले तिमीहरूका निम्ति के यही चट्टानबाट पानी निकाल्नैपर्ने हो त?”

11 तब मोशाले आफ्नो हात उचाले र त्यस चट्टानलाई आफ्नो लहुरोले दुई पटक हिर्काए। तब पानीको मूल फुटेर निस्क्यो। अनि समुदाय र तिनीहरूका गाईबस्तुहरूले पिए।

12 तर याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, “इस्राएलीहरूका दृष्‍टिमा मेरो पवित्रता दर्शाउनलाई तिमीहरूले मलाई पूरा विश्‍वास गरेनौँ। यसकारण यस समुदायलाई मद्वारा दिइएको देशमा तिमीहरूले पुर्‍याउन पाउनेछैनौ।”

13 यो मेरीबाको चट्टानबाट निकालिएको पानी थियो, जहाँ इस्राएलीहरूले याहवेहसँग झगडा गरेका थिए। अनि त्यहाँ उहाँले तिनीहरूबीच आफूलाई पवित्र प्रमाणित गर्नुभएको थियो।


एदोमले इस्राएलीहरूलाई जान नदिएका

14 मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भन्‍नलाई सन्देश वाहकहरू पठाए: “तपाईंका इस्राएली भाइले यसो भन्छन्: हामीमाथि परिआएको सङ्कष्‍ट तपाईं जान्‍नुहुन्छ।

15 हाम्रा पितापुर्खाहरू इजिप्टमा गएका थिए। हामी त्यहाँ धेरै वर्षसम्म बस्यौँ। इजिप्टियनहरूले हामी र हाम्रा पितापुर्खाहरूलाई दुर्व्यवहार गरे।

16 तर जब हामीले याहवेहलाई पुकार गर्‍यौँ, तब उहाँले हाम्रो पुकार सुन्‍नुभयो र एउटा स्वर्गदूत पठाउनुभयो, जसले हामीलाई इजिप्ट देशबाट बाहिर निकालेर ल्याउनुभयो। “अहिले हामी तपाईंको प्रान्तको सिमानामा पर्ने सहर कादेशमा छौँ।

17 दया गरी हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी कुनै खेत अथवा दाखबारीबाट भएर जानेछैनौँ, वा कुनै पनि कुवाबाट पानी पिउनेछैनौँ। हामी राजाको मूलबाटो भएर जानेछौँ। तपाईंको प्रान्तबाट पार नभएसम्म हामी दाहिने अथवा देब्रे फर्कनेछैनौँ।”

18 तर एदोमले जवाफ दिए: “तिमीहरू यहाँबाट भएर जान पाउँदैनौँ। यदि तिमीहरूले त्यसो गर्‍यौ भने हामी तिमीहरूको विरुद्धमा मोर्चा बाँधेर तिमीहरूमाथि तरवारले आक्रमण गर्नेछौँ।”

19 इस्राएलीहरूले जवाफ दिए: “हामी मूलबाटो भएर जानेछौँ। यदि हामी अथवा हाम्रा गाईबस्तुहरूले तपाईंको पानीबाट केही पियौँ भने हामी त्यसको मोल तिर्नेछौँ। हामी केवल पैदल भएर जान चाहन्छौँ—अरू केही पनि होइन।”

20 एदोमीहरूले फेरि जवाफ दिए: “तिमीहरू हाम्रो देश भएर जान पाउँदैनौँ।” तब एदोम तिनीहरूको विरुद्धमा एउटा ठूलो र शक्तिशाली सेना लिएर निस्क्यो।

21 एदोमले तिनीहरूलाई आफ्नो प्रान्तबाट भएर जान नदिएकोले इस्राएलीहरू तिनीहरूबाट फर्केर अर्को बाटो गए।


हारूनको मृत्यु

22 सारा इस्राएली समुदाय कादेशबाट हिँडेर होर पर्वतमा आइपुगे।

23 होर पर्वतमा एदोमको सिमानाको छेउमा याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो,

24 हारून आफ्ना मानिसहरूकहाँ मिल्नेछ। मैले इस्राएलीहरूलाई दिने देशमा ऊ पस्‍नेछैन। किनकि तिमीहरू दुवैले मेरीबाको पानीमा मेरो आज्ञाको विरुद्धमा काम गरेका थियौ।

25 हारून र त्यसको छोरो एलाजारलाई होर पर्वतसम्म लैजा।

26 हारूनको पुजारी पोसाकहरू फुकाल् र ती त्यसको छोरो एलाजारलाई लगाइदे। किनकि हारून आफ्ना मानिसहरूसँग मिल्नेछ। त्यहाँ त्यसको मृत्यु हुनेछ।

27 याहवेहले आज्ञा दिनुभएझैँ मोशाले गरे। सारा समुदायको आँखाको सामु तिनीहरू होर पर्वतमा उक्लेर गए।

28 मोशाले हारूनका पुजारी पोसाकहरू फुकाले। अनि ती तिनको छोरो एलाजारलाई लगाइदिए। तब त्यहीँ पर्वतको टाकुरामा हारूनको मृत्यु भयो। त्यसपछि मोशा र एलाजार पर्वतबाट तल ओर्लेर आए।

29 अनि जब सारा समुदायले हारूनको मृत्युबारे थाहा पाए, तब सम्पूर्ण इस्राएलीहरूले तिनका निम्ति तीस दिनसम्म शोक गरे।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy