Online Bible

- Reklamy -

गन्‍ती 12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


मिरियम र हारूनले मोशाको विरोध गरेका

1 मोशाले एउटी कूशी स्त्रीसित विवाह गरेको कारण त्यस कूशी स्त्रीको बारेमा मिरियम र हारूनले मोशाको विरुद्धमा बोल्न थाले।

2 तिनीहरूले भने, “के याहवेह मोशाद्वारा मात्र बोल्नुभएको छ र? के उहाँ हामीद्वारा पनि बोल्नुभएको छैन र?” अनि याहवेहले यो कुरा सुन्‍नुभयो।

3 (मोशाचाहिँ अति नै नम्र मानिस थिए। पृथ्वीमा सबैभन्दा नम्र व्यक्ति थिए।)

4 याहवेहले तुरुन्तै मोशा, हारून र मिरियमलाई भन्‍नुभयो, “तिमीहरू तीन जना बाहिर भेट हुने पालमा आओ।” यसकारण ती तीन जना बाहिर आए।

5 त्यसपछि याहवेह बादलको खाँबोमा भएर ओर्ली आउनुभयो। उहाँ पालको प्रवेशद्वारमा उभिनुभयो। अनि उहाँले हारून र मिरियमलाई बोलाउनुभयो। जब तिनीहरू दुवै जना अगि आए,

6 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो वचन सुन: “यदि याहवेहका अगमवक्ता तिमीहरूसँग थिए भने, म आफूलाई तिनीहरूसँग दर्शनहरूमा प्रकट गर्नेथिएँ; अनि म तिनीहरूसँग सपनामा कुरा गर्नेथिएँ।

7 तर मेरो सेवक मोशाको विषयमा यस्तो होइन; त्यो त मेरो सारा घरानामा विश्‍वासयोग्य छ।

8 त्यससँग म आमने-सामने कुरा गर्छु, उखान-टुक्‍कामा होइन। तर स्पष्‍ट गरी बोल्दछु। त्यसले याहवेहको आकृतिलाई देख्दछ। त्यसो भए किन तिमीहरू मेरो सेवक मोशाको विरुद्धमा बोल्न डराएनौ?”

9 याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँ तिनीहरूबाट गइहाल्नुभयो।

10 जब पालमाथिबाट बादल हट्यो, तब मिरियमलाई कुष्‍ठरोग लागेर तिनको छाला हिउँजस्तै सेतो भयो। हारून तिनीतर्फ फर्के, र तिनलाई छालाको रोग भएको देखे।

11 अनि हारूनले मोशासँग पुकार गरे, “मेरा प्रभु, बिन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पापको सजाय हामीलाई नदिनुहोस्।

12 यिनलाई आमाको गर्भमा नै आधा मासु कुहिएर जन्मिएको शिशुजस्तो हुन नदिनुहोस्।”

13 यसकारण मोशाले पुकार गरे, “हे याहवेह परमेश्‍वर, बिन्ती छ, यिनलाई निको पारिदिनुहोस्!”

14 याहवेहले मोशालाई जवाफ दिनुभयो, “त्यसका पिताले त्यसको मुखमा थुकिदिएको मात्र भए के त्यो सात दिनसम्म कलङ्कित हुने थिइन? त्यसलाई सात दिनसम्म पालबाहिर राख्नू। त्यसपछि त्यसलाई फर्काएर ल्याउनू।”

15 यसकारण मिरियमलाई सात दिनसम्म पालदेखि बाहिर एकान्तमा एकलै राखियो। अनि तिनलाई फर्काएर नल्याएसम्म मानिसहरू अगि बढेनन्।

16 त्यसपछि मानिसहरूले हसेरोतलाई छोडे। अनि पारानको मरुभूमिमा छाउनी हालेर बसे।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy