Online Bible

- Reklamy -

मीकाको पुस्तक 5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


बेथलेहेमबाट प्रतिज्ञा गरिएको शासक

1 हे सेनाको सहर, आफ्ना सेनाहरूलाई भेला गर्; किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकको गालामा डण्डाले हिर्काउनेछन्।

2 “तर तँचाहिँ, हे बेथलेहेम एप्राता, यद्यपि तँ यहूदाको घरानामा सबैभन्दा सानो छस्, तर तँबाट मेरा निम्ति एक जना निस्केर आउनुहुनेछ, जसले इस्राएलमाथि शासन गर्नुहुनेछ, जसको सुरु पुरानो समयदेखि, प्राचीनकालदेखि नै छ।”

3 यसकारण तबसम्म इस्राएल त्यागिनेछ, जबसम्म प्रसव-वेदनामा परेकी स्त्रीले एउटा पुत्र जन्माउदिन, र त्यसका बाँकी रहेका दाजुभाइहरू इस्राएलीहरूसँग मिल्न आउँदैनन्।

4 याहवेहको शक्तिमा, याहवेह आफ्ना परमेश्‍वरको महिमित नाममा उहाँ खडा हुनुहुनेछ र आफ्ना भेडाका बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्; त्यसपछि उनको महानता पृथ्वीको अन्त्यसम्म पुग्नेछ।

5 अनि उहाँ हाम्रा शान्तिका परमेश्‍वर हुनुहुनेछ, जब अश्शूरीहरूले हाम्रो देशमाथि आक्रमण गर्छन्, र हाम्रा किल्‍लाहरूबाट भएर यात्रा गर्छन्। हामी तिनीहरूका विरुद्धमा सात जना गोठालाहरू, र आठ जना अगुवाहरूलाई पनि खडा गर्नेछौँ।

6 तिनीहरूले अश्शूर देशलाई तरवारले शासन गर्नेछन्; निम्रोदको देशलाई नाङ्गो तरवारले शासन गर्नेछन्। जब अश्शूरीहरू हाम्रो देशलाई आक्रमण गर्न, र हाम्रा सिमानाहरू मिच्न आउनेछन्, तब उहाँले हामीलाई तिनीहरूका हातबाट छुटाउनुहुनेछ।

7 याकोबका बाँकी रहेकाहरू धेरै जातिहरूका बीचमा हुनेछन्; याहवेहबाट आएको शीतजस्तै, घाँसमाथि परेको झरीजस्तै हुनेछन्; तिनीहरूले न त कसैलाई पर्खन्छन्, न त कुनै मानिसमाथि भर पर्छन्।

8 याकोबका बाँकी रहेकाहरू राष्ट्रहरूका बीचमा, धेरै जातिहरूका बीचमा हुनेछन्। जङ्गली जनावरहरूका बीचमा भएको सिंहजस्तै भेडाको बथानको बीचमा भएको जवान सिंहजस्तै हुनेछन्; जसले कुल्चीमिल्ची पार्दै र फहराउँदै हिँड्छन्; अनि कसैले पनि तिनीहरूबाट बचाउन सक्दैन।

9 तिमीहरूका हात तिमीहरूका शत्रुहरूमाथिको विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्‍ट पारिनेछन्।

10 याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन, “म तिमीहरूका घोडाहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूका रथहरूलाई नष्‍ट पार्नेछु।

11 म तिमीहरूका देशको सहरहरूलाई सर्वनाश गर्नेछु; अनि तिमीहरूका सबै बलिया किल्‍लाहरू भत्काइदिनेछु।

12 म तिमीहरूका तन्त्रमन्त्र नष्‍ट गर्नेछु, र तिमीहरूले अब उसो तन्त्रमन्त्रहरू गर्नेछैनौ।

13 म तिमीहरूका खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरूलाई तिमीहरूका बीचबाट नष्‍ट गर्नेछु; अब उसो तिमीहरूले आफ्ना हातले बनाएका कुराहरूका सामु शिर झुकाएर दण्डवत् गर्नेछैनौ।

14 म तिमीहरूका बीचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु; यसरी म तिमीहरूका सहरहरूलाई सर्वनाश गरिदिनेछु।

15 मेरो आज्ञा नमानेका राष्ट्रहरूसँग म मेरो रिस र क्रोधमा बदला लिनेछु।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy