Online Bible

- Reklamy -

मीकाको पुस्तक 3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


अगुवाहरू र अगमवक्ताहरूलाई हप्की

1 त्यसपछि मैले भनेँ, “हे याकोबका अगुवाहरू, इस्राएलका शासकहरू हो, सुन। के तिमीहरूले न्यायलाई मान्‍नुपर्ने होइन र?

2 तिमीहरू जसले भलाइलाई घृणा गर्छौ र दुष्‍टतालाई प्रेम गर्छौ; जसले मेरा मानिसहरूका छाला काढ्छौ, र तिनीहरूका हड्डीहरूबाट मासु लुछेर निकाल्छौ;

3 तिमीहरू जसले मेरा मानिसहरूका मासु खान्छौ, तिनीहरूका छाला काढ्छौ, र तिनीहरूका हड्डीहरूलाई चकनाचुर पार्दछौ; जसलाई तिमीहरूले भाँडामा हालेर पकाउने मासुजस्तै टुक्रा-टुक्रा पार्छौ।”

4 त्यस समय तिनीहरूले याहवेहलाई गुहार्नेछन्, तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछैन। त्यस समय उहाँले आफ्नो मुहार तिनीहरूबाट लुकाउनुहुनेछ; किनकि तिनीहरूले दुष्‍ट काम गरेका छन्।

5 याहवेह यसो भन्‍नुहुन्छ: “ती अगमवक्ताहरू, जसले मेरा मानिसहरूलाई कुमार्गमा डोर्‍याउँछन्। यदि तिनीहरूले केही खानेकुरा पाए भने, तिनीहरूले ‘तिमीहरूलाई शान्ति होस्,’ भनेर घोषणा गर्छन्। तर यदि कसैले तिनीहरूलाई खानेकुरा दिएनन् भने, तिनीहरू त्यसको विरुद्धमा युद्धको तयारी गर्छन्।

6 यसकारण तिमीहरूमाथि दर्शनबिनाको रात, र जोखनाबिनाको अन्धकार हुनेछ। अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ; अनि तिनीहरूका निम्ति दिन अन्धकार हुनेछ।

7 दर्शीहरू लज्जित हुनेछन्, र जोखना हेर्नेहरू अपमानित हुनेछन्। तिनीहरू सबैले आफ्ना अनुहारहरू ढाक्नेछन्; किनकि तिनीहरूले परमेश्‍वरबाट कुनै पनि जवाफ पाउनेछैनन्।”

8 तर मचाहिँ शक्तिले भरिएको छु, म याकोबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पाप बताइदिन याहवेहको आत्माले सामर्थ्य र न्यायले भरिएको छु।

9 हे याकोबका अगुवाहरू, र इस्राएलका शासकहरू हो, यो कुरा सुन! जसले न्यायलाई घृणा गर्दछौ र ठिक कुरालाई बङ्ग्याउँदछौ;

10 जसले सियोनलाई रक्तपातले र यरूशलेमलाई दुष्‍टताद्वारा निर्माण गर्दछौ।

11 त्यसका न्यायाधीशहरूले घूसका लागि न्याय गर्छन्; त्यसका पुजारीहरूले कमाउनलाई सिकाउँदछन्। अनि त्यसका अगमवक्ताहरूले पैसाको लागि भाग्य बताउँछन्। तर पनि तिनीहरूले याहवेहमा दावी गर्छन् र भन्छन्, “के याहवेह हाम्रो बीचमा हुनुहुन्‍न र? हामीमाथि कुनै विपत्ति आउनेछैन।”

12 यसैकारण तिमीहरूले गर्दा सियोन खेतजस्तै जोतिनेछ; यरूशलेम भग्नावशेष हुनेछ, र मन्दिरको डाँडाचाहिँ झाडीले भरिएको ढिस्कोझैँ हुनेछ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy