Online Bible

- Reklamy -

मीकाको पुस्तक 2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


मानिसका योजनाहरू र परमेश्‍वरका योजनाहरू

1 तिनीहरूलाई धिक्‍कार, जसले अधर्मको योजना बनाउँछन्, र तिनीहरू जसले आफ्ना ओछ्यानहरूमा दुष्‍ट षड्यन्त्र रच्दछन्! बिहानको उज्यालोमै तिनीहरूले त्यो काम गरिहाल्छन्; किनकि तिनीहरूमा त्यो दुष्‍ट काम पूरा गर्ने सामर्थ्य छ।

2 तिनीहरूले खेतबारीको लालसा गरेर ती खोस्छन्; अनि घरहरूको पनि लालसा गर्छन् र लैजान्छन्। तिनीहरूले मानिसका घरहरू जालझेल गरेर जफत गर्छन्; अनि तिनीहरूले तिनीहरूका पैतृक सम्पत्ति लुट्छन्।

3 यसकारण याहवेह भन्‍नुहुन्छ: “म यी मानिसहरूका विरुद्धमा सर्वनाशको योजना बनाउँदैछु, जसबाट तिमीहरू बच्न सक्नेछैनौ। अब उसो तिमीहरू घमण्डी भएर हिँड्नेछैनौ; किनकि यो एउटा विपत्तिको समय हुनेछ।

4 त्यस दिन मानिसहरूले तिमीहरूको खिल्‍ली उडाउनेछन्; तिनीहरूले तिमीहरूलाई यो विलापको गीत गाएर गिल्‍ला गर्नेछन्: ‘हामी पूर्ण रूपले सर्वनाश भयौँ; मेरा मानिसहरूको पैतृक सम्पत्ति बाँडिएको छ। उहाँले यो सम्पत्ति मबाट खोस्‍नुहुन्छ! उहाँले हाम्रा खेतहरू देशद्रोहीहरूलाई दिनुहुन्छ।’ ”

5 यसकारण याहवेहको सभामा तिमीहरूका निम्ति चिट्ठा हालेर जमिन बाँड्नलाई कोही पनि हुनेछैन।


झूटा अगमवक्ताहरू

6 तिनीहरूका अगमवक्ताहरू भन्छन्, “अगमवाणी नगर। यी कुराहरूका बारेमा अगमवाणी नगर; अपमान हामीमाथि आइपर्नेछैन।”

7 हे याकोबको घराना, तिमीहरूले यसो भन्‍नुपर्ने हो? “के याहवेहको आत्मा अधैर्य हुनुभएको छ र? के उहाँले यस्ता कामहरू गर्नुहुन्छ र?” “के मेरा वचनले तिनीहरूको भलाइ गर्दैन, जो सोझो मार्गमा हिँड्छन्?

8 तर अहिले मेरा आफ्नै मानिसहरू शत्रुझैँ खडा भएका छन्। तिमीहरू युद्धबाट फर्किरहेका मानिसहरूले जस्तै निर्धक्‍क भएर बाटो हिँडिरहेकाहरूबाट तिनीहरूका मूल्यवान् खास्टाहरू खोसेर लैजान्छौ।

9 तिमीहरू मेरा मानिसहरूका स्त्रीहरूलाई तिनीहरूका आरामदायक घरहरूबाट निकालिदिन्छौ। तिमीहरूले मेरो आशिष् तिनीहरूका छोराछोरीहरूबाट सदाको निम्ति खोसिदिन्छौ।

10 उठ, गइहाल! किनकि यो तिमीहरूका निम्ति सुरक्षित स्थान होइन; यो अशुद्ध भएको कारण यो कहिल्यै नबनिने गरी सर्वनाश पारिएको छ।

11 यदि झूट बोल्ने र छल गर्ने मानिस आएर यसो भन्छ भने, ‘म तिम्रो निम्ति प्रशस्त दाखमद्य र मद्यपानको विषयमा अगमवाणी गर्नेछु;’ त्यही व्यक्ति नै यी मानिसहरूका निम्ति उचित अगमवक्ता हुनेछ!


उद्धारको प्रतिज्ञा

12 “हे याकोब, म निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गर्नेछु; म अवश्य नै इस्राएलका अवशेषहरूलाई एकसाथ भेला गर्नेछु। म तिनीहरूलाई गोठमा भेडाहरूलाई बटुलेझैँ एकसाथ भेला गर्नेछु। चरनमा भेडाहरूको बगाल जम्मा भएजस्तै; त्यो देश मानिसहरूको भीडले भरिनेछ।

13 जसले बाटो बनाउनुहुन्छ, तिनीहरूका अगि-अगि माथि जानुहुनेछ; तिनीहरूले मूलढोका भत्काउनेछन् र बाहिर निस्केर जानेछन्। तिनीहरूका राजा तिनीहरूका अगि-अगि जानेछन्; अनि याहवेह आफैँ तिनीहरूका अगुवा हुनुहुनेछ।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy