Online Bible

- Reklamy -

मत्ती 4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


येशूको परीक्षा

1 तब येशू शैतानद्वारा परीक्षित हुनलाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो।

2 अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो।

3 परीक्षा गर्नेले उहाँकहाँ आएर यसो भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।”

4 येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’”

5 तब शैतानले उहाँलाई पवित्र सहरमा लग्यो, र उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो।

6 अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्; किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तपाईंको सम्बन्धमा आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्; ताकि तपाईंको खुट्टा ढुङ्गामाथि नबजारियोस्।’”

7 येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू।’”

8 फेरि शैतानले उहाँलाई एउटा अति अग्लो पहाडमाथि लगेर संसारका सबै राज्यहरू र तिनीहरूका वैभव देखायो,

9 अनि उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने म यी सबै थोक तपाईंलाई दिनेछु।”

10 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्‍वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू।’ ”

11 तब शैतान उहाँलाई छोडेर गइहाल्यो। अनि स्वर्गदूतहरू आएर उहाँको सेवाटहल गरे।


येशूले प्रचार गर्न थाल्नुभएको

12 जब येशूले यूहन्‍ना झ्यालखानामा परेका छन् भनी सुन्‍नुभयो, तब उहाँ गालील प्रदेशमा फर्कनुभयो।

13 नासरत सहरलाई छोडेर उहाँ कफर्नहुममा जानुभयो, जुन जबूलून र नप्‍तालीको इलाकामा समुद्रको किनारमा थियो।

14 यशैया अगमवक्ताले भनेका कुरा पूरा हुनलाई यसो भएको थियो:

15 “यर्दन नदीपारि समुद्रको छेउतिर रहेको जबूलून र नप्‍तालीको मुलुक, गैरयहूदीहरूको गालील,

16 अन्धकारमा बस्‍ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायामा बस्‍नेहरूमाथि एउटा ज्योति उदाएको छ।”

17 त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, “पश्‍चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।”


येशूले प्रथम चेलाहरूलाई बोलाउनुभएको

18 येशू गालील समुद्रको किनारमा हिँडिरहनुभएको समयमा उहाँले दुई भाइहरू, पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। तिनीहरू मछुवा भएको कारणले गर्दा तिनीहरूले तालमा जाल हान्दै थिए।

19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।”

20 त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे।

21 अनि त्यहाँबाट अगि जाँदै गर्नुहुँदा उहाँले अरू दुई भाइहरू, जब्दीको छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई देख्नुभयो। तिनीहरू आफ्ना पिता जब्दीसित डुङ्गामा आफ्नो जाल तयार पार्दैथिए। येशूले तिनीहरूलाई बोलाउनुभयो,

22 अनि तुरुन्तै तिनीहरू डुङ्गा र आफ्ना बुबालाई छोडेर उहाँको पछि लागे।


येशूले बिरामीलाई निको पार्नुभएको

23 येशूले गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका हरेक रोग र दुर्बलतालाई निको पार्दै जानुभयो।

24 उहाँको कीर्ति सारा सिरियाभरि फिँजियो। अनि मानिसहरूले विभिन्‍न किसिमका रोग लागेकाहरू, कष्‍ट भोगेकाहरू, भूत लागेकाहरू, छारेरोग लागेकाहरू र पक्षघात भएकाहरूलाई उहाँकहाँ ल्याए। अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो।

25 गालील प्रदेश, डेकापोलिस, यरूशलेम, यहूदिया प्रदेश र यर्दन पारिका हुलका हुल मानिसहरू उहाँको पछि लागे।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy