Online Bible

- Reklamy -

मत्ती 2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


ज्योतिषीहरूको आगमन

1 राजा हेरोदको समयमा यहूदियाको बेथलेहेममा येशूको जन्म भएपछि पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए।

2 अनि सोधे, “यहूदीहरूका राजा भएर जो जन्मनुभएको छ, उहाँ कहाँ हुनुहुन्छ? हामीले पूर्वमा उहाँको तारा देख्यौँ, र हामी उहाँलाई दण्डवत् गर्न आएका छौँ।”

3 त्यस बेला जब राजा हेरोदले यो सुने, तिनी र यरूशलेममा भएका सबै आत्तिए।

4 अनि तिनले सबै मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए। अनि ख्रीष्‍टको जन्म कहाँ हुनुपर्ने हो भनी सोधे।

5 तिनीहरूले जवाफ दिए, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्:

6 “ ‘तर यहूदा प्रदेशमा भएको, ए बेथलेहेम, तँ कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनस्; किनकि तँबाट एक जना शासक आउनुहुनेछ, जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’”

7 तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्‍क बोलाएर तारा देखा परेको ठिक समय पत्ता लगाए।

8 अनि तिनले तिनीहरूलाई बेथलेहेममा पठाएर यसो भने, “जाओ, र होसियारीसाथ बालकलाई खोज। तिमीहरूले उहाँलाई भेट्टाउनसाथ मलाई भन, र म पनि गएर उहाँलाई दण्डवत् गर्नेछु।”

9 राजाबाट यो कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे। अनि तिनीहरूले पूर्वमा देखेका त्यो तारा, तिनीहरू त्यस बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूका अगि-अगि लाग्यो।

10 जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए।

11 घरभित्र आइपुगेपछि तिनीहरूले बालकलाई आफ्नी आमा मरियमको साथमा देखे। अनि तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब तिनीहरूले आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए।

12 त्यस रात हेरोदकहाँ नजानू भन्‍ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के।


बालक येशू इजिप्टतिर प्रस्थान

13 अनि तिनीहरू गइसकेपछि प्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परेर भने, “उठ, बालक र तिनकी आमालाई लिएर इजिप्टमा भागिहाल। मैले फेरि केही नभनुन्जेल त्यहीँ बस। किनकि हेरोदले बालकलाई मार्नका लागि खोज्नेछ।”

14 यसकारण तिनी उठे, बालक र तिनकी आमालाई लिएर राति नै इजिप्टतिर प्रस्थान गरे,

15 जहाँ तिनीहरू हेरोदको मृत्यु नहोउन्जेलसम्म रहे। अनि यसरी परमेश्‍वरले आफ्ना अगमवक्ताद्वारा भन्‍नुभएको वचन पूरा भयो: “मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।”

16 जब हेरोदले आफू ज्योतिषीहरूद्वारा ठगिएको थाहा पाए, तब तिनी धेरै रिसाए। अनि ज्योतिषीहरूद्वारा ठिक पत्ता लगाइएको समयअनुसार बेथलेहेम र त्यसका सिमानामा भएका दुई वर्ष र त्यस मुनिका सबै बालकहरूलाई मार्ने आदेश दिए।

17 तब यर्मिया अगमवक्ताद्वारा भनिएको यो वचन पूरा भयो:

18 “रामामा एउटा आवाज सुनियो, रुवाइ र ठूलो विलाप, राहेल आफ्ना बालकहरूका निम्ति रोएकी, र तिनी शान्त हुन नमानेकी; किनकि तिनीहरू अब रहेनन्।”


नासरतमा फर्केका

19 हेरोदको मृत्युपछि प्रभुका एउटा दूत इजिप्टमा सपनामा योसेफकहाँ देखा परे,

20 अनि भने, “उठ, बालक र तिनकी आमालाई लिएर इस्राएलको देशमा जाऊ। किनकि बालकको प्राण लिन चाहनेहरू मरिसकेका छन्।”

21 यसैले तिनी उठे; बालक र तिनकी आमालाई साथमा लिएर इस्राएलको देशमा गए।

22 तर जब तिनले हेरोदको ठाउँमा तिनका छोरा अर्खिलाउसले यहूदियामा राज्य गर्दैछन् भन्‍ने सुने, तब तिनी त्यहाँ जान डराए। तब सपनामा चेतावनी पाएर तिनी गालीलको इलाकामा गए।

23 तिनी नासरत भन्‍ने सहरमा गएर बसे। यसरी अगमवक्ताहरूद्वारा भनिएको कुरा पूरा भयो: “उहाँ नासरी कहलाइनुहुनेछ।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy