मत्ती 17 - पवित्र बाइबल नेपाली समकालीन संस्करणयेशूको रूप परिवर्तन 1 छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्नालाई अलग्गै एउटा अग्लो पहाडमा लानुभयो। 2 त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो। उहाँको अनुहार सूर्यझैँ चम्क्यो, र उहाँको वस्त्र ज्योतिझैँ चम्किला भए। 3 त्यसै बेला तिनीहरूका सामु मोशा र एलिया येशूसित कुरा गरिरहेका देखा परे। 4 पत्रुसले येशूलाई भने, “प्रभु, हामीलाई यहीँ रहनु असल छ। यदि तपाईं चाहनुहुन्छ भने म तीन वटा वासस्थान बनाउनेछु। तपाईंका लागि एउटा, मोशाका लागि एउटा र एलियाका लागि एउटा।” 5 तिनी बोल्दैगर्दा, एउटा चहकिलो बादलले तिनीहरूलाई ढाक्यो। अनि बादलबाट यसो भन्ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु: यिनीसित म अति प्रसन्न छु। यिनको कुरा सुन!” 6 चेलाहरू यो कुरा सुनेपछि डरले घोप्टो परेर भुइँमा लडे। 7 तर येशूले आएर तिनीहरूलाई छुनुभयो र भन्नुभयो, “उठ, नडराओ।” 8 जब तिनीहरूले माथि हेरे, तिनीहरूले येशूबाहेक अरू कसैलाई देखेनन्। 9 उहाँहरू जब पहाडबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले यस्तो आदेश दिनुभयो, “मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म तिमीहरूले जे देख्यौ, त्यो कसैलाई नभन्नू।” 10 चेलाहरूले उहाँलाई सोधे, “त्यसो भए किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?” 11 येशूले उत्तर दिनुभयो, “एलिया साँच्चै नै आउँछन्, र सबै कुरा पुनर्स्थापित गर्नेछन्। 12 तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र तिनीहरूले उनलाई चिन्न सकेनन्। तर उनलाई तिनीहरूले मनपरी व्यवहार गरे। सोही किसिमले मानिसको पुत्रले तिनीहरूका हातबाट कष्ट भोग्नेछ।” 13 तब उहाँले बप्तिस्मा दिने यूहन्नाको विषयमा तिनीहरूलाई भन्नुभएको भनी चेलाहरूले बुझे। येशूद्वारा भूत लागेकोलाई निको पारिएको 14 जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो, तब एक जना मानिसले येशूकहाँ आएर उहाँको सामु घुँडा टेकेर भन्यो, 15 “प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्। उसलाई छारेरोग लागेको छ, र उसले धेरै कष्ट पाइरहेछ। ऊ घरी-घरी आगोमा अथवा पानीमा लड्छ। 16 मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्।” 17 येशूले जवाफ दिनुभयो, “ए अविश्वासी र भ्रष्ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला? र तिमीहरूलाई सहुँला? त्यस केटोलाई यहाँ मकहाँ ल्याओ।” 18 येशूले त्यस भूतआत्मालाई हप्काउनुभयो, र त्यो त्यस केटोबाट निस्क्यो; र त्यो केटो त्यसै घडीदेखि निको भयो। 19 तब चेलाहरूले गुप्तमा येशूकहाँ आएर सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?” 20 उहाँले जवाफ दिनुभयो, “किनकि तिमीहरूमा विश्वासको कमी छ। तिमीहरूलाई साँच्चै भन्दछु, यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्वास छ भने तिमीहरूले यस पहाडलाई ‘यहाँबाट त्यहाँ हटिजा’ भन्न सक्छौ, र त्यो हटेर जानेछ। तिमीहरूका लागि कुनै कुरा पनि असम्भव हुनेछैन। 21 तर यस किसिमको चङ्गाइचाहिँ प्रार्थना र उपवासविना हुन सक्दैन।” आफ्नो मृत्युबारे येशूको दोस्रो भविष्यवाणी 22 उहाँहरू गालीलमा भेला भएपछि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ। 23 तिनीहरूले उसलाई मार्नेछन्, र तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।” अनि चेलाहरू अत्यन्तै दुःखी भए। मन्दिरको कर 24 येशू र उहाँका चेलाहरू कफर्नहुममा आएपछि मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्दैनन्?” 25 तिनले जवाफ दिए, “हो, तिर्नुहुन्छ।” जब पत्रुस घरभित्र आए, येशूले पहिला सोधिहाल्नुभयो, “सिमोन तिम्रो के विचार छ, संसारका राजाहरूले आफ्नै छोराहरूबाट कर उठाउँछन् कि अरूबाट?” 26 पत्रुसले जवाफ दिए, “अरूबाट।” येशूले तिनलाई भन्नुभयो, “त्यसो भए छोराहरूले त छुट पाउँछन्। 27 तरै पनि तिनीहरू नचिढिऊन्, तिमी जाऊ र तालमा तिम्रो बल्छी हान। तिमीले पक्रेको पहिलो माछा लेऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्का पाउनेछौ। त्यो लगेर तिम्रा र मेरा निम्ति कर हो भनेर तिनीहरूलाई देऊ।” |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.