Online Bible

- Reklamy -

मलाकीको पुस्तक 3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “हेर, म मेरो दूतलाई पठाउनेछु, जसले मेरो अगि-अगि बाटो तयार गर्नेछ। तब तिमीहरूले खोजिरहेका प्रभु अचानक आफ्नो मन्दिरमा आउनुहुनेछ; तिमीहरूले चाहना गरेका करारका सन्देशवाहक आउनुहुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

2 तर उहाँको आगमनको दिन कसले सहन सक्छ? उहाँ देखा पर्नुहुँदा को खडा रहन सक्छ? किनकि उहाँ सुनारको आगो अथवा धोबीको साबुनजस्तो हुनुहुनेछ।

3 उहाँ चाँदी खार्ने र सफा गर्ने व्यक्तिझैँ बस्‍नुहुनेछ; अनि लेवीहरूलाई खारेर सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब धार्मिकतासाथ भेटी चढाउने मानिसहरू याहवेहकहाँ आउनेछन्;

4 अनि यहूदा र यरूशलेमका भेटीहरू अगिका दिन र वर्षहरूमा जस्तै याहवेहलाई ग्रहणयोग्य हुनेछन्।

5 “यसरी म तिमीहरूको न्याय गर्नलाई नजिक आउनेछु। म तन्त्रमन्त्र गर्नेहरू, व्यभिचारीहरू र झूटा शपथ खानेहरूको विरुद्धमा; अनि मजदुरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र अनाथमाथि अत्याचार गर्नेहरू र विदेशीहरूलाई न्यायबाट बञ्चित गर्नेहरू; अनि मेरो भय नमान्‍नेहरूका विरुद्धमा गवाही दिनेछु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।


दशांश नदिएर करार भङ्ग गरिएको

6 “म याहवेह कहिल्यै परिवर्तन हुँदिनँ। त्यसैले हे याकोबका सन्तान हो, तिमीहरू नष्‍ट भएका छैनौ।

7 तिमीहरूका पितापुर्खाहरूका समयदेखि नै तिमीहरू मेरा धार्मिक विधि-नियमहरूबाट तर्केर गएका छौ, र ती पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “तर तिमीहरू सोध्छौ, ‘हामी कसरी फर्कौँ?’

8 “के कुनै मरणशील मानिसले परमेश्‍वरलाई लुट्छ र? तर तिमीहरूले त मलाई लुटेका छौ। “तर तिमीहरू सोध्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ र?’ “दशांश र भेटीहरूमा लुटेका छौ।

9 तिमीहरूमाथि श्राप परेको छ—तिमीहरूको पूरै राष्ट्रमा श्राप परेको छ; किनकि तिमीहरूले मलाई लुटिरहेका छौ।

10 सबै दशांश भण्डारमा ल्याओ, र मेरो भवनमा खानलाई भोजन होस्। यस कुरामा मलाई जाँचेर हेर, तिमीहरूका निम्ति म स्वर्गका ढोकाहरू खोलेर तिमीहरूका ढुकुटीमा अटाउने ठाउँ नै नहुने गरी, आशिष् बर्साउँछु कि बर्साउँदिनँ, सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

11 म तिमीहरूका अन्‍नबाली नष्‍ट गर्ने किराहरूबाट जोगाउनेछु; अनि तिमीहरूका दाखबारीमा दाखका फल पाक्न भन्दा अगाडि झर्ने छैनन्,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

12 “तब सबै राष्ट्रहरूले तिमीहरूलाई धन्यका भन्‍नेछन्; किनकि तिमीहरूको देश बस्‍नलाई अति असल देश हुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।


इस्राएलले परमेश्‍वरको विरुद्धमा बोलेको

13 “तिमीहरूले मेरो विरुद्धमा अहङ्कारी कुरा बोलेका छौ,” याहवेह भन्‍नुहुन्छ। “तर पनि तिमीहरू सोध्छौ, ‘हामीले तपाईंका विरुद्धमा के भनेका छौँ र?’

14 “तिमीहरूले भनेका छौ, ‘परमेश्‍वरको सेवा गर्नु व्यर्थ छ। उहाँका आज्ञाअनुसार जिम्मेवारीहरू पूरा गर्दै, सेनाहरूका याहवेहको सामु विलाप गर्नेहरूजस्ता हिँडेर हामीलाई के लाभ भयो र?

15 तर अहिले हामी अहङ्कारीहरू नै आशिषित छन् भन्छौँ। किनकि दुष्कर्मीहरू नै सफल हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई चुनौती दिए तापनि तिनीहरू सकुशल उम्कन्छन्।’ ”


बाँकी रहेका विश्‍वासयोग्यहरू

16 तब याहवेहको डर मान्‍नेहरूले एक-आपसमा कुरा गरे; अनि परमेश्‍वरले तिनीहरूका कुरा ध्यान दिएर सुन्‍नुभयो। अनि याहवेहको उपस्थितिमा उहाँको डर मान्‍ने र उहाँको नामलाई आदर गर्ने मानिसहरूका बारेमा सम्झनाको पत्रमा लेखियो।

17 सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “त्यस दिन जब म काम गर्नेछु, तिनीहरू मेरो बहुमूल्य निजी धन हुनेछन्। जसरी एउटा बुबाले आफ्नो सेवा गर्ने छोरालाई जोगाउँछ, त्यसरी नै म तिनीहरूलाई जोगाउनेछु।

18 अनि तिमीहरू सबैले धर्मी र अधर्मीको बीचमा, परमेश्‍वरको सेवा गर्ने र नगर्नेको बीचमा के भिन्‍नता रहेछ, त्यो फेरि बुझ्नेछौ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy