लूकाको सुसमाचार 23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि सभाका सम्पूर्ण सदस्यहरू उठेर उहाँलाई पिलातसकहाँ लगे। 2 तिनीहरूले उहाँलाई यसो भनेर दोष लगाउन थाले, “यस मानिसले हाम्रो राष्ट्रलाई नै बहकाउँदै गरेको हामीले भेट्टायौँ। यसले सिजरलाई कर तिर्ने कुराको विरोध गर्छ र आफैँलाई ‘ख्रीष्ट, राजा हुँ’ भनी भन्छ।” 3 तब पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” “हो, तपाईंले भन्नुभएझैँ हो,” येशूले भन्नुभयो। 4 त्यसपछि पिलातसले मुख्य पुजारीहरू र भीडलाई घोषणा गरिदिए, “यस मानिसलाई दोष लगाउन म केही आधार भेट्दिनँ।” 5 तर तिनीहरूले जिद्दी गरिरहे, “यसले आफ्नो शिक्षाद्वारा सारा यहूदिया प्रदेशका मानिसहरूलाई भड्काउँछ। यो गालील प्रदेशदेखि सुरु गरेर यहाँसम्म आइपुगेको छ।” 6 यति सुनेपछि पिलातसले कतै उहाँ गालीलको पो हुनुहुन्छ कि भनी सोधपुछ गरे। 7 जब तिनले येशू हेरोदको अधिकार क्षेत्रका हुनुहुन्छ भन्ने थाहा पाए, तब तिनले उहाँलाई हेरोदकहाँ पठाए। हेरोद पनि त्यस बेला यरूशलेममा नै थिए। 8 येशूलाई देखेर हेरोद अत्यन्तै खुशी भए; किनकि तिनले धेरै दिनदेखि उहाँलाई हेर्न इच्छा गरिरहेका थिए। तिनले उहाँका विषयमा जे-जे सुनेका थिए, त्यसअनुसार उहाँद्वारा केही अलौकिक चिन्हहरू भएको हेर्न तिनले आशा राखेका थिए। 9 तिनले उहाँलाई धेरै प्रश्नहरू सोधे, तर येशूले तिनलाई केही जवाफ दिनुभएन। 10 मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरू, उहाँकहाँ बडो जोडतोडका साथ दोष लगाउँदै त्यहाँ उभिरहेका थिए। 11 हेरोद र तिनका सिपाहीहरूले उहाँको निन्दा र गिल्ला गरे। तिनीहरूले उहाँलाई राजकीय वस्त्र लगाइदिएर पिलातसकहाँ नै फिर्ता पठाइदिए। 12 त्यस दिन हेरोद र पिलातस आपसमा मित्र बने; यसभन्दा अगि तिनीहरूमा शत्रुता थियो। 13 पिलातसले मुख्य पुजारीहरू, शासकहरू र जनतालाई एकसाथ बोलाए, 14 र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई जनतालाई विद्रोह गर्न भड्काउने मानिस भन्दै मकहाँ ल्यायौ। मैले तिमीहरूकै सामु यिनको जाँच गरेँ। अनि यिनको विरुद्धमा तिमीहरूले लगाएका दोषको लागि मैले केही आधार भेट्टाएको छैनँ। 15 हेरोदले पनि केही दोष भेट्टाएनन्। तिनले पनि यिनलाई हामीकहाँ नै फिर्ता पठाइदिए। तिमीहरूले देखेकै छौ कि मृत्युदण्ड पाउने योग्यको कुनै काम यिनले गरेका छैनन्। 16 त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।” 17 चाडको उपलक्ष्यमा तिनीहरूका निम्ति पिलातसले एक जनालाई छोडिदिनुपर्थ्यो। 18 त्यो भीडले एकै सोरमा चिच्याउँदै भन्यो, “यसलाई हटाउनुहोस्! हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्!” 19 (बारब्बाचाहिँ सहरमा भएको एउटा विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा थुनिएको थियो।) 20 येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले भीडलाई फेरि अनुरोध गरे। 21 तर तिनीहरू यसो भन्दै चिच्याइरहे, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! त्यसलाई क्रूसमा टाँग्नुहोस्!” 22 तिनले तेस्रो पल्ट तिनीहरूलाई भने: “किन? यी मानिसले के अपराध गरेका छन् र? मैले यिनमा मृत्युदण्डका निम्ति कुनै कारण भेट्टाइनँ। त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।” 23 तर चर्को सोरले चिच्याउँदै उहाँलाई क्रूसमा टाँग्नैपर्छ भनी तिनीहरूले जिद्दीकासाथ माग गरे। तब तिनीहरूका आवाजको नै जित भयो। 24 यसरी पिलातसले तिनीहरूकै माग पूरा गरिदिने निर्णय गरे। 25 तिनले विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा परेको मानिस, तिनीहरूले मागेको मानिसलाई नै छोडिदिए। अनि येशूलाई तिनीहरूकै इच्छामा तिनले सुम्पिदिए। येशू क्रूसमा टाँगिनुभएको 26 सिपाहीहरूले उहाँलाई लैजाँदै गर्दा साइरिनीवासी सिमोनलाई समाते, जो गाउँबाट आउँदैथिए। अनि तिनलाई क्रूस बोकाएर येशूको पछि-पछि हिँड्न लगाए। 27 धेरै मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। त्यहाँ उहाँका लागि रुँदै र विलाप गर्दै गरेका केही स्त्रीहरू पनि थिए। 28 येशूले फर्केर तिनीहरूलाई भन्नुभयो, “ए यरूशलेमका छोरीहरू हो, मेरो निम्ति नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीका निम्ति रोओ। 29 किनकि समय आउनेछ, जब तिमीहरूले भन्नेछौ, ‘बाँझी स्त्रीहरू, गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू धन्यका हुन्!’ 30 त्यसपछि, “ ‘तिनीहरूले पर्वतहरूलाई भन्नेछन्, “हामीलाई छोप!” र पहाडहरूलाई भन्नेछन्, “हामीमाथि खस!” भन्नेछन्।’ 31 किनकि रूख हरियो छँदै मानिसहरूले यसो भन्छन् भने त्यो सुकेपछि झन् के गर्लान्?” 32 अरू दुई जना मानिसहरू, जो अपराधी थिए, तिनीहरू पनि उहाँसँगै मृत्युदण्ड दिन लगिए। 33 तिनीहरू खप्परे भनिने ठाउँमा आएपछि त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। ती अपराधीहरू पनि टाँगिए—एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ उहाँको देब्रेपट्टि। 34 येशूले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्; किनकि यिनीहरूले के गर्दैछन्, सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र चिट्ठा हालेर आपसमा बाँडे। 35 भीडले यो दृश्य हेर्दै त्यहाँ उभिए, र शासकहरूले उहाँको ठट्टा पनि गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो; यदि यो परमेश्वरको ख्रीष्ट, चुनिएको जन हो भने आफैँलाई बचाओस्।” 36 सिपाहीहरू पनि आए, र उहाँको गिल्ला गरे। तिनीहरूले उहाँलाई सिर्का दिए, 37 र भने, “यदि तँ यहूदीहरूको राजा होस् भने आफूलाई बचा।” 38 उहाँको माथिपट्टि एउटा लिखित दोषपत्र थियो, जसमा यसो लेखिएको थियो: “यो यहूदीहरूको राजा हो।” 39 त्यहाँ झुण्डिएका अपराधीहरूमध्ये एउटाले उहाँको अपमान गर्दै भन्यो: “के तिमी ख्रीष्ट होइनौ? तिमी आफैँलाई र हामीलाई पनि बचाऊ!” 40 तर अर्को अपराधीले त्यसलाई हप्कायो। त्यसले भन्यो, “तँ पनि त्यही दण्डमा छस्, र पनि परमेश्वरको डर मान्दैनस्? 41 हामीले त न्यायोचित रूपले दण्ड पाइरहेका छौँ; किनकि हामीले हाम्रो कामको उचित दण्ड पाइरहेका छौँ। तर यी मानिसले त कुनै अनुचित काम गरेका छैनन्।” 42 त्यसपछि त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्!” 43 येशूले त्यसलाई जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।” येशूको मृत्यु 44 लगभग दिउँसोको बाह्र बजेको थियो, तब तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। 45 किनकि सूर्यले तेज दिन छोड्यो, र मन्दिरको पर्दा दुई भाग भएर च्यात्तियो। 46 येशूले चर्को सोरमा कराएर भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।” यसो भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो। 47 यी सबै भएको घटना देखेर सेनापतिले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय नै यिनी धर्मी मानिस थिए।” 48 जब यो दृश्य हेर्न त्यहाँ जम्मा भएका सबै मानिसहरूले त्यहाँ भएको घटना देखे, तब विलाप गर्दै तिनीहरू आ-आफ्ना छाती पिट्दै फर्के। 49 तर उहाँलाई चिन्नेहरू र स्त्रीहरू, जो गालील प्रदेशबाट उहाँलाई पछ्याउँदै आएका थिए, टाढै उभिएर सबै जना यी घटनाहरू हेरिरहेका थिए। येशूको दफन 50 त्यहाँ योसेफ नाम भएका महासभाका एक सदस्य, एक असल र धर्मी मानिस थिए, 51 जसले तिनीहरूका निर्णय र कार्यमा सहमति जनाएका थिएनन्। तिनी यहूदिया प्रदेशको अरिमथिया सहरका मानिस थिए। तिनले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए। 52 पिलातसकहाँ गएर तिनले येशूको लास मागे। 53 त्यसपछि तिनले लास तल झारे। त्यसलाई मलमलको लुगाले बेह्रे। अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे, जसमा कसैलाई पनि राखिएको थिएन। 54 यो तयारीको दिन थियो, र शब्बाथ सुरु हुनै लागेको थियो। 55 गालील प्रदेशबाट येशूसँग आएका स्त्रीहरू योसेफका पछि-पछि गएर त्यो चिहान र येशूको लास त्यसमा कसरी राखियो भनी देखे। 56 त्यसपछि तिनीहरू घर फर्केर सुगन्धित मसलाहरू र अत्तरहरू तयार पारे। तर शब्बाथमा व्यवस्थाको आज्ञाबमोजिम तिनीहरूले विश्राम गरे। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.