लूकाको सुसमाचार 21 - पवित्र बाइबल नेपाली समकालीन संस्करणविधवाको भेटी 1 येशू मन्दिरमा हुनुहुँदा, धनी मानिसहरूले आ-आफ्ना भेटी मन्दिरको दानपेटीमा हाल्दैगरेका उहाँले देख्नुभयो। 2 उहाँले एउटी गरिब विधवाले तामाका दुई वटा साना सिक्का चढाएकी पनि देख्नुभयो। 3 उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा धेरै बढी चढाएकी छे। 4 अरू सबै मानिसहरूले आफ्नो प्रशस्त धनबाट भेटी चढाए, तर यस स्त्रीले त आफ्नो गरिबीबाट आफूसँग जीविका चलाउने खर्चसमेत सबै नै चढाएकी छे।” मन्दिरको विनाश र जगत्को अन्त्यका चिन्हहरू 5 जब उहाँका चेलाहरूमध्ये कसै-कसैले सुन्दर पत्थरहरू र परमेश्वरमा अर्पण गरिएका भेटीहरूबाट कसरी मन्दिर सिँगारिएको छ भन्ने विषयमा चर्चा गर्दैथिए, येशूले भन्नुभयो, 6 “यहाँ तिमीहरूले अहिले जे देख्दैछौ, ती सबैका निम्ति एउटा समय आउनेछ, जब यहाँको एउटा पनि ढुङ्गा अर्कोमाथि छोडिनेछैन, तर यी प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।” 7 तिनीहरूले सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? अनि अब ती कुराहरू आउनलाग्दैछन् भन्ने चिन्ह के हुनेछ?” 8 उहाँले जवाफ दिनुभयो: “धोकामा नपर, तिमीहरू होसियार रहो; किनकि धेरै जना मेरो नाममा ‘म उही हुँ,’ र, ‘समय नजिकै छ’ भन्ने दाबी गर्दै आउनेछन्। तिनीहरूका पछि नलाग। 9 जब तिमीहरूले लडाइँहरू र क्रान्तिका हल्लाहरू सुन्नेछौ, तब नडराओ। पहिले यी कुराहरू घट्नैपर्छ; तरै पनि त्यति नै बेला अन्त्य आउँदैन।” 10 त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। 11 धेरै ठाउँहरूमा ठूला-ठूला भुइँचालाहरू, अनिकाल र महामारीहरू आउनेछन्। अनि डरलाग्दा घटनाहरू र आकाशबाट ठूला-ठूला चिन्हहरू देखा पर्नेछन्। 12 “तर यी सबै हुनुभन्दा अगि तिनीहरूले तिमीहरूमाथि हात हाल्नेछन्, र तिमीहरूलाई खेदो गर्नेछन्। तिनीहरूले तिमीहरूलाई सभाघरहरू र झ्यालखानाहरूमा पुर्याउनेछन्, र तिमीहरू राजाहरू र राज्यपालहरूका अगाडि लगिनेछौ। यी सबै कुरा मेरो नामको कारणले गर्दा आइपर्नेछ। 13 यस कुराको परिणाम यही हुनेछ, तिमीहरू तिनीहरूका लागि मेरो साक्षी हुनेछौ। 14 तर आफ्नो बचाउका लागि के भन्ने हो भनेर अगिबाट नै चिन्ता नलिन आफ्ना मनमा निश्चय गर। 15 किनकि म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु, तिमीहरूका विरोधीहरूमध्ये कसैले पनि त्यसलाई रोक्न अथवा काट्न सामर्थ्य हुनेछैन। 16 तिमीहरू त तिमीहरूका आफ्नै आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातेदार र साथीहरूद्वारा समेत धोकामा पर्नेछौ। तिनीहरूले तिमीहरूमध्ये कसै कसैलाई मार्ने पनि छन्। 17 अनि तिमीहरूलाई सबै मानिसहरूले मेरो कारणले घृणा गर्नेछन्। 18 तर तिमीहरूको शिरको एउटा केश पनि नाश हुनेछैन। 19 स्थिर भई खडा रह्यौ भने तिमीहरूले जीवन प्राप्त गर्नेछौ। 20 “जब तिमीहरूले यरूशलेम चारैतिरबाट सेनाहरूले घेरिएको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी तिमीहरूले जान्नेछौ। 21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। सहरमा हुनेहरू बाहिर निस्कून् र गाउँमा हुनेहरू सहरभित्र नपसून्। 22 किनकि जे लेखिएका छन्, ती सबै हुनका लागि यो दण्डको समय हुनेछ। 23 हाय! गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि ती दिनहरू कति डरलाग्दा हुनेछन्! संसारमा ठूलो सङ्कष्ट र यस जातिमाथि क्रोध आइपर्नेछ। 24 तिनीहरू तरवारले ढालिनेछन् वा सबै राष्ट्रहरूकहाँ कैदी बनाएर लगिइनेछन्। गैरयहूदीहरूको समय पूरा नहोउन्जेल यरूशलेम गैरयहूदीहरूद्वारा कुल्चीमिल्ची पारिनेछ। 25 “सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्ट र व्याकुलमा पर्नेछन्। 26 संसारमा के आइपर्नेछ भन्ने आशङ्काले मानिसहरू डरले मूर्च्छा पर्नेछन्; किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्। 27 त्यस बेला तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित बादलमा आइरहेको देख्नेछन्। 28 जब यी कुराहरू हुन थाल्छन्, तब खडा होओ, र माथि हेर्दै शिर उठाओ; किनकि तिमीहरूको मुक्ति नजिक आउँदैछ।” 29 उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “अञ्जीरको रूख र अरू सबै रूखहरूलाई हेर। 30 जब तिनमा पालुवा लाग्छ, तब तिमीहरू आफैँले त्यो देख्न सक्छौ र ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ। 31 त्यसरी नै जब तिमीहरूले यी कुराहरू भइरहेका देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै छ भनी जान। 32 “म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्चय नै नष्ट भएर जानेछैन। 33 आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्। 34 “होसियार बस, नत्रता तिमीहरूको हृदय प्रशस्त भोग-विलास, मतवालापन र जीवनको फिक्रीले मन्द होला, र त्यो दिन तिमीहरूमाथि नचिताएको पासोझैँ एक्कासि आइपर्ला। 35 किनकि त्यो पृथ्वीमाथि बास गर्नेहरू सबैमाथि आइपर्नेछ। 36 तर आइपर्ने यी कुराहरूदेखि तिमीहरू उम्कन र मानिसको पुत्रको उपस्थितिमा खडा हुन सक्नलाई सधैँ जागा रहो र प्रार्थना गर।” 37 येशूले हरेक दिन मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र हरेक बेलुकी निस्केर जैतुन भनिने डाँडामा रात बिताउन जानुहुन्थ्यो, 38 सबै मानिसहरू उहाँको वचन सुन्नलाई बिहानै मन्दिरमा आउँथे। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.