Online Bible

- Reklamy -

लेवीहरू 12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


सुत्केरीको शुद्धीकरण

1 याहवेहले मोशालाई भन्‍नुभयो,

2 “इस्राएलीहरूलाई भन्: ‘जुन स्त्रीले गर्भवती भएर छोरा जन्माउँछे, त्यो आफ्नो रजस्वलाको समयमा अशुद्ध रहेझैँ सात दिनसम्म विधिपूर्वक अशुद्ध रहनेछे।

3 आठौँ दिनमा त्यस बालकको खलडीको खतना गरिनुपर्छ।

4 त्यसपछि आफ्नो रक्तस्राव शुद्ध हुनको लागि त्यस स्त्रीले तेत्तीस दिनसम्म पर्खनुपर्छ। त्यसले कुनै पवित्र कुरा नछोओस्, अथवा आफ्नो शुद्धीकरणको समय पूरा नहोउन्जेल पवित्रस्थानमा नजाओस्।

5 त्यसले छोरी जन्माई भने आफ्नो रजस्वलाको समयमा झैँ त्यो दुई हप्‍तासम्म अशुद्ध हुनेछे। त्यसपछि आफ्नो रक्तस्रावबाट शुद्ध हुनको लागि त्यसले छयसट्ठी दिनसम्म पर्खनुपर्छ।

6 “ ‘आफ्नो छोरा अथवा छोरीका लागि त्यसका शुद्धीकरणका दिनहरू पूरा भएपछि त्यसले भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ होमबलिका निम्ति एकवर्षे थुमा र पाप शुद्धीकरण बलिका निम्ति एउटा कलिलो परेवा अथवा ढुकुर ल्याओस्।

7 त्यसले ती बलिलाई याहवेहको सामु आफ्नो प्रायश्‍चितको निम्ति चढाउनुपर्छ। त्यसपछि त्यो आफ्नो रक्तस्रावबाट शुद्ध हुनेछे। “ ‘कुनै स्त्रीले छोरा वा छोरी जन्माएको विषयमा नियमहरू यिनै हुन्।

8 यदि त्यस स्त्रीसँग थुमा किनेर ल्याउने रकम छैन भने त्यसले एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा, एउटा होमबलिका निम्ति र अर्को पाप शुद्धीकरण बलिका निम्ति ल्याओस्। यस किसिमले पुजारीले त्यसका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यो शुद्ध हुनेछे।’ ”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy