Online Bible

- Reklamy -

विलाप 5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे याहवेह, हामीमाथि के आइपरेको छ, त्यो सम्झनुहोस्; हेर्नुहोस्, हामी कति अपमानित भएका छौँ।

2 हाम्रो उत्तराधिकार अपरिचितहरूलाई र हाम्रा घर विदेशीहरूलाई सुम्पिइएको छ।

3 हामी बुबाविहीन भएका छौँ; हाम्रा आमाहरू विधवाहरूजस्ता भएका छन्।

4 आफ्नै पिउने पानी पनि हामीले दाम तिरेर पिउनुपर्छ; हाम्रो आफ्नै दाउरा पनि दाम तिरेर किन्‍नुपर्छ।

5 हामीलाई खेद्नेहरू हाम्रा पाइलाहरूमै छन्; हामी थाकेका छौँ र विश्राम पाएका छैनौँ।

6 हाम्रो पेट भर्नका लागि हामीले आफैँलाई इजिप्ट र अश्शूरका अधीनमा सुम्पिदियौँ।

7 हाम्रा पितापुर्खाले पाप गरे, र मरेर गए; तर हामीले तिनीहरूका पापको दण्ड भोगिरहेका छौँ।

8 दासहरूले हामीमाथि शासन गर्दछन्; अनि तिनीहरूका हातबाट हामीलाई छुटकारा दिने कोही पनि छैन।

9 मरुभूमिमा तरवार भिरेका शत्रुहरू भएकोले हामीले आफ्नो जीवनको खतरा मोलेर रोटी जुटाउँछौँ,

10 हामीलाई भोकले गर्दा ज्वरो आएको छ, र हाम्रो छाला चुल्होझैँ रन्केको छ।

11 सियोनमा स्त्रीहरू र यहूदाका सहरहरूमा कुमारीहरू बलात्कारको शिकार भएका छन्।

12 शासकहरूको हात बाँधेर तिनीहरूलाई झुण्ड्याइएको छ; अगुवाहरूलाई अलिकति पनि इज्जत दिइएको छैन।

13 जवान मानिसहरू जाँतो पिँध्न बाध्य छन्; अनि जवान केटाहरू दाउराका भारीले थिचिएर लड्बडाउँदै हिँड्छन्।

14 अगुवाहरू सहरका मूलढोकामा भेला हुन छोडेका छन्; जवान केटाहरूले आफ्ना सङ्गीत छोडिदिएका छन्।

15 हाम्रा हृदयबाट आनन्द गइसक्यो; हाम्रो नाच शोकमा बदली भइसक्यो।

16 हाम्रा शिरबाट मुकुट खसेको छ। हामीलाई धिक्‍कार छ; किनभने हामीले पाप गरेका छौँ!

17 यसले गर्दा हाम्रा हृदय मूर्छित भएका छन्; यी कुराहरूले गर्दा हाम्रा आँखा धमिला भएका छन्;

18 किनकि सियोन पर्वत उजाड भएको छ; अनि त्यहाँ स्यालहरू शिकार खोज्दै यताउति घुमिहिँड्छन्।

19 हे याहवेह, तपाईं अनन्तकालसम्म राज्य गर्नुहुन्छ; तपाईंको सिंहासन पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।

20 तपाईंले हामीलाई किन सधैँ बिर्सनुहुन्छ? तपाईंले हामीलाई किन यति लामो समयसम्म त्याग्नुहुन्छ?

21 यदि तपाईंले हामीलाई पूर्णतया इन्कार गर्नुभएको छैन र तपाईं हामीसित औधी रिसाउनुभएको छैन भने,

22 हे याहवेह, हामीलाई तपाईंमा पुनर्स्थापित गर्नुहोस्, र हामी तपाईंकहाँ फर्कन सकौँ; हाम्रा दिनहरू पहिलेको जस्तै नयाँ बनाइदिनुहोस्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy