Online Bible

- Reklamy -

यहोशूको पुस्तक 6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 इस्राएलीहरूको कारण यरीहोका मूलढोकाहरू पूर्णतया बन्द गरिएको थियो। कोही पनि भित्र पस्‍न वा बाहिर निस्की आउन सक्दैनथ्यो।

2 तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “हेर्, मैले यरीहो, यसकासाथै त्यसका राजा र त्यसका योद्धाहरूसमेत तेरो हातमा सुम्पिदिएको छु।

3 सबै हतियारधारी मानिसहरूसँग त्यस सहरलाई दिनमा एक चोटि फन्को मार्नू। छ दिनसम्म तिमीहरूले यसै गर्नू।

4 सन्दुकको सामु भेडाका सिङको तुरही लिएका सात जना पुजारीहरू अगि-अगि हिँडून्। सातौँ दिनमा चाहिँ पुजारीहरूले तुरही फुक्दै सहरको चारैतिर सात चोटि फन्को मारून्।

5 जब तिमीहरूले लामो समयसम्म तुरही फुकेको आवाज सुन्छौ, तब सबै योद्धाहरू चर्को सोरले कराऊन्; र सहरको पर्खाल ढल्नेछ। अनि सेनाहरू र हरेक मानिसहरू सीधै सहरभित्र बढेर जाऊन्।”

6 यसकारण नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने, “याहवेहको करारको सन्दुक लिएर सात जना पुजारीहरू सन्दुकको अगि-अगि तुरही बोकेर हिँड्नू।”

7 अनि तिनले योद्धाहरूलाई आदेश दिए, “अगि बढ, सहरको चारैतिर हिँड, र हतियारधारी मानिसहरूचाहिँ याहवेहको सन्दुकको अगि-अगि हिँडून्।”

8 जब यहोशूले मानिसहरूसँग कुरा गरिसके, तब याहवेहको अगाडि सात वटा तुरही बोक्ने सात जना पुजारीहरू तुरही बजाउँदै अगि बढेर गए। अनि याहवेहको करारको सन्दुकचाहिँ उनीहरूको पछि-पछि थियो।

9 हतियारधारी योद्धाहरू तुरही फुक्ने पुजारीहरूका अगि-अगि गए। अनि रक्षकहरूचाहिँ सन्दुकको पछि-पछि हिँडे। यस समयमा तुरहीहरू बजिरहेका थिए।

10 तर यहोशूले योद्धाहरूलाई यसो भनी आज्ञा दिएका थिए, “मैले तिमीहरूलाई जोरसँग कराउने आज्ञा नदिएसम्म तिमीहरू नकराउनू। तिमीहरूले आवाज ननिकाल्नू। एक शब्द पनि नबोल्नू। त्यसपछि कराउनू!”

11 यसरी तिनले याहवेहको सन्दुकलाई बोकाएर एक पल्ट सहरको फन्को मार्न लगाए। त्यसपछि योद्धाहरू छाउनीमा फर्किआए, र त्यहीँ रात बिताए।

12 भोलिपल्ट यहोशू बिहानै उठे, र पुजारीहरूले याहवेहको सन्दुक उठाए।

13 सात वटा तुरही बोक्ने सात जना पुजारीहरू याहवेहको सन्दुकको अगि-अगि तुरही फुक्दै हिँडे। हतियारधारी योद्धाहरू तिनीहरूका अगि-अगि गए। अनि पछिल्तिरका रक्षकहरू याहवेहको सन्दुकको पछि-पछि हिँडे। त्यति बेला तुरही बजिरहेको थियो।

14 यसरी दोस्रो दिन तिनीहरूले सहरको फन्को मारे, र छाउनीमा फर्के। तिनीहरूले यसरी नै छ दिनसम्म फन्को मारे।

15 सातौँ दिनमा तिनीहरू एकाबिहानै उठे। अनि अगाडिका दिनहरूमा जस्तै सहरलाई फन्को मारे। तर तिनीहरूले त्यस दिनचाहिँ सात चोटि सहरलाई फन्को मारे।

16 सातौँ पटकमा जब पुजारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई यसरी आज्ञा दिए, “कराओ, किनभने याहवेहले यो सहर तिमीहरूलाई दिनुभएको छ।

17 यो सहर र यसमा भएका सबै कुराहरू याहवेहलाई अर्पण गर्नुपर्छ। केवल राहाब वेश्या र उनका घरमा भएका सबै जना मात्र जीवित छोडिनेछन्। किनकि हामीले पठाएका जासुसहरूलाई तिनले लुकाएकी थिइन्।

18 तर तिमीहरू अर्पण गरिएका थोकहरूबाट अलग रहनू, ताकि तिमीहरूले ती अर्पित थोकहरूबाट केही लिएर आफूमाथि विपत्ति नल्याओ। नत्रता तिमीहरूले इस्राएलका छाउनीहरूलाई नाश हुने बनाएर त्यसमाथि विपत्ति ल्याउनेछौ।

19 सबै सुन, चाँदी अनि काँसो र फलामका चीजहरू याहवेहका निम्ति पवित्र छन्, र ती वस्तुहरू उहाँको भण्डारमा ल्याउनुपर्छ।”

20 तुरहीको आवाज बजेपछि योद्धाहरू कराए। अनि जब मानिसहरू तुरहीको आवाज सुनेर चर्को सोरमा कराए, तब पर्खाल भत्कियो। यसरी सारा मानिस सीधै भित्र पसे, र तिनीहरूले त्यस सहरलाई कब्जा गरे।

21 तिनीहरूले सहरलाई याहवेहकहाँ अर्पण गरे। अनि त्यहाँ भएका हरेक जीवितहरूलाई अर्थात् पुरुष र स्त्रीहरू, जवान र वृद्धहरू, गाईबस्तु, भेडाबाख्रा र गधाहरू सबैलाई तरवारले नाश गरिदिए।

22 त्यस देशको भेद लिन जाने दुई जना मानिसहरूलाई चाहिँ यहोशूले भने, “त्यस वेश्याको घरमा जाओ, र तिमीहरूले तिनीसँग शपथ खाएअनुसार त्यस स्त्री र तिनीसँग भएका सबै मानिसहरूलाई बाहिर निकाल।”

23 यसकारण भेद लिन जाने ती दुई जवान मानिसहरू भित्र गए; अनि राहाब, तिनका आमाबुबा र दाजुभाइहरू अनि तिनका सबै मानिसहरूलाई बाहिर निकालेर ल्याए। तिनीहरूले तिनको सम्पूर्ण परिवारलाई बाहिर निकाले; र इस्राएलको छाउनीबाहिर एक ठाउँमा राखे।

24 त्यसपछि तिनीहरूले सम्पूर्ण सहर र त्यस सहरमा भएका हरेक कुरालाई जलाइदिए। तर तिनीहरूले सुन, चाँदी, काँसो र फलामका चीजहरू याहवेहको भवनको भण्डारमा राखे।

25 तर यहोशूले वेश्या राहाब र तिनका परिवार अनि तिनीसँग भएका सबैलाई छोडिदिए। किनकि तिनले यरीहोमा जासुसी गर्न पठाएका मानिसहरूलाई लुकाएकी थिइन्। अनि तिनका सन्तानहरू आजको दिनसम्म पनि इस्राएलीहरूको बीचमा बास गरेका छन्।

26 त्यस बेला यहोशूले यो गम्भीर शपथ खाए: “जसले यो यरीहो सहरलाई पुनर्निर्माण गर्ने जिम्मा लिन्छ, त्यो मानिस याहवेहको सामु श्रापित होस्: “त्यसले यसको जग बसाल्दा, त्यसको जेठो छोरा मर्नेछ; यसका मूलढोकाहरू बनाउँदा, त्यसको कान्छा छोरा मर्नेछ।”

27 यसरी यहोशूसँग याहवेह हुनुहुन्थ्यो, र तिनको कीर्ति देशभरि फैलियो।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy