Online Bible

- Reklamy -

योनाको पुस्तक 2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्‍वरलाई प्रार्थना गरे।

2 तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने: “मेरो सङ्कष्‍टको समयमा मैले याहवेहलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो। मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ; अनि तपाईंले मेरो क्रन्दन सुन्‍नुभयो।

3 तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो, समुद्रको मुटुभित्र म डुबेँ; अनि पानीका छालहरूले मलाई घेरे; अनि तपाईंका पानीका छालहरू र लहरहरू ममाथि उर्लेर आए।

4 मैले भनेँ, ‘म तपाईंको दृष्‍टिबाट निकालिएको छु; तापनि म फेरि पनि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु।’

5 डुबाउने पानीले मलाई भयभीत तुल्याए, र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए; समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए।

6 म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ; पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्‍वर, मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो।

7 “जब मेरो प्राण जानै लागेको थियो, हे याहवेह, मैले तपाईंलाई सम्झेँ; अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।

8 “जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्, तिनीहरू परमेश्‍वरको अचुक प्रेमबाट टाढा हुन्छन्।

9 तर म धन्यवादको स्तुतिसहित तपाईंलाई बलिदान चढाउनेछु। मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु। म भन्‍नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ ”

10 अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy