Online Bible

- Reklamy -

यर्मिया 7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


झूटो धर्मको व्यर्थता

1 यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:

2 “याहवेहको भवनको मूलढोकामा उभिएर त्यहाँ यो सन्देश घोषणा गर्: “ ‘याहवेहलाई आराधना गर्न यी मूलढोकाहरूबाट भित्र प्रवेश गर्ने हे यहूदाका सबै मानिसहरू हो, याहवेहको वचन सुन!

3 इस्राएलका परमेश्‍वर, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूका जीवनशैली र कामहरू सुधार; अनि म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु।

4 छली कुराहरूमा विश्‍वास गरेर यसो नभन, “यो याहवेहको भवन हो, याहवेहको भवन हो, याहवेहको भवन हो!”

5 यदि तिमीहरूले आफ्ना जीवनशैलीहरू र आफ्ना कामहरू साँच्‍चै परिवर्तन गर्‍यौ र एक-आपसमा न्यायसङ्गत व्यवहार गर्‍यौ भने,

6 यदि तिमीहरूले यस ठाउँमा विदेशीहरूमाथि, टुहुरा-टुहुरीहरूमाथि, र विधवाहरूमाथि अत्याचार गरेनौ भने वा निर्दोषहरूको रगत बगाएनौ भने, र आफ्नै खराबीका निम्ति अरू देवी-देवताहरूका पछि लागेनौ भने,

7 तब म तिमीहरूलाई यस देशमा बस्‍न दिनेछु, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई सदाका निम्ति दिएको थिएँ।

8 हेर, तिमीहरू व्यर्थका झूटा वचनहरूमा भरोसा गर्दैछौ।

9 “ ‘के तिमीहरू साँच्‍चै चोरी, हत्या, व्यभिचार गर्छौ, र झूटो शपथ खान्छौ; बाल-देवतालाई धूप बाल्छौ र तिमीहरूले नजानेका अरू देवी-देवताहरूलाई पछ्याउँछौ,

10 अनि आएर मेरो नाम बोकेको यस भवनमा मेरो सामु उभिएर भन्छौ, “हामी सुरक्षित छौँ!” हामी यी सबै घिनलाग्दा काम गर्न भनी ढुक्‍क छौँ?

11 के मेरो नाम बोकेको यो भवन तिमीहरूका निम्ति डाँकुहरूको ओडार भएको छ? तर मैले देखेको छु! याहवेह घोषणा गर्नुहुन्छ।

12 “ ‘अब शीलोको त्यो ठाउँमा जाओ, जहाँ मैले पहिले मेरो नामको निवासस्थान बनाएको थिएँ। मेरा प्रजा इस्राएलीको दुष्‍टताको कारण मैले त्यस ठाउँलाई के गरेको छु, त्यो हेर।

13 याहवेह घोषणा गर्नुहुन्छ, तिमीहरूले यी कुराहरू गरिरहँदा म तिमीहरूसँग बारम्बार बोलेँ, तर तिमीहरूले सुनेनौ। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफै दिएनौ।

14 यसकारण मैले शीलोलाई जे गरेको थिएँ, अब म मेरो नाम बोकेको भवनलाई त्यही गर्नेछु, जसमा तिमीहरू भरोसा राख्दछौ, मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको थिएँ।

15 मैले एफ्राइमका मानिसहरू, तिमीहरूका दाजुभाइ इस्राएलीहरूलाई फ्याँकेझैँ, म तिमीहरूलाई आफ्नो उपस्थितिबाट फ्याँकिदिनेछु।’

16 “यसकारण यर्मिया यी मानिसहरूका निम्ति प्रार्थना नगर्, न त तिनीहरूका निम्ति कुनै बिलौना वा बिन्ती गर्। मसित अर्जबिन्ती नचढा; किनकि म तेरो कुरा सुन्‍नेछैनँ।

17 तिनीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा के गरिरहेका छन्, के तैँले त्यो देख्दैनस्?

18 तिनीहरूका छोराछोरीले दाउरा बटुल्छन्, बुबाहरूले आगो बाल्छन्; अनि स्त्रीहरू स्वर्गकी रानीका निम्ति फुलौरा चढाउन पिठो मुछ्छन्। मलाई रिस उठाउनलाई तिनीहरूले अरू देवी-देवताहरूकहाँ अर्घबलि चढाउँछन्।

19 तर तिनीहरूले के मलाई उक्साइरहेका हुन् र? याहवेह भन्‍नुहुन्छ, के तिनीहरूले आफैँलाई लज्जित तुल्याइरहेका र आफूलाई नै खराबी गरिरहेका छैनन् र?

20 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो रिस र मेरो क्रोध यस मन्दिरमाथि, मानिस र पशुहरूमाथि, खेतका रूख र भुइँका फसलहरूमाथि खन्याउनेछु। यो आगोझैँ बलिरहनेछ र कसैले निभाउन सक्नेछैन।

21 “ ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका अरू बलिदानहरूमा होमबलिहरू थप, र त्यो मासुचाहिँ तिमीहरू आफैँले खाओ!

22 किनकि जब मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ, त्यस दिन जब म तिनीहरूसँग बोलेँ, तब मैले तिनीहरूलाई होमबलि र बलिदानहरूको विषयमा आज्ञा दिइनँ,

23 तर मैले तिनीहरूलाई यो आज्ञा दिएँ: मेरा आज्ञापालन गर, र म तिमीहरूका परमेश्‍वर हुनेछु; अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ। मैले तिमीहरूलाई दिएको आज्ञाअनुसार सबै मार्गहरूमा हिँड, ताकि तिमीहरूको भलो होस्।

24 तर तिनीहरूले आज्ञापालन गरेनन्, न त ध्यान नै दिए। त्यसका सट्टामा तिनीहरू आफ्ना दुष्‍ट हृदयका हठी इच्छाअनुसार हिँडे। तिनीहरू मबाट धेरै टाढा गए, र तिनीहरूले आफ्ना पिठिउँ मतिर फर्काए।

25 तिमीहरूका पितापुर्खाहरूले इजिप्ट छोडेको समयदेखि आजसम्म, दिनहुँ बारम्बार मैले मेरा सेवक अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएँ।

26 तर तिनीहरूले मेरा आज्ञाहरू पालन गरेनन्, न त ध्यान नै दिए। तिनीहरू हठी भए; अनि तिनीहरूले आफ्ना पितापुर्खाहरूले भन्दा बढी दुष्‍ट कामहरू गरे।’

27 “जब तैँले यहूदाका मानिसहरूलाई यी सबै कुरा भन्छस्, तब तिनीहरूले तेरा कुराहरू सुन्‍नेछैनन्; तैँले तिनीहरूलाई बोलाए तापनि तिनीहरूले तँलाई जवाफ दिनेछैनन्।

28 यसकारण तिनीहरूलाई यसो भन्, ‘यो राष्ट्र, जसले याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन गरेको छैन, अथवा सुधारलाई ग्रहण गरेको छैन। सत्यता नष्‍ट भइसकेको छ। तिनीहरूका ओठबाट सत्यता लोप भइसकेको छ।

29 “ ‘तेरो केश खौरेर टाढा फ्याँकिदे, र अग्ला नाङ्गा डाँडाहरूमा गएर विलाप गर्; किनकि उहाँको रिसमा याहवेहले यो पुस्तालाई पूर्ण रूपमा इन्कार गर्नुभएको छ।


हत्याको बेँसी

30 “ ‘यहूदाका मानिसहरूले मेरो दृष्‍टिमा दुष्‍ट काम गरेका छन्, याहवेह घोषणा गर्नुहुन्छ। तिनीहरूले मेरो नाम बोकेको मेरो भवनमा तिनीहरूका घिनलाग्दा मूर्तिहरू खडा गरेका छन् र भवनलाई अशुद्ध पारेका छन्।

31 तिनीहरूका छोराछोरीहरूलाई आगोमा जलाउनलाई बेन-हिन्‍नोमको बेँसी तोपेतमा अग्ला ठाउँहरू निर्माण गरेका छन्—जुन कुरा न मैले तिनीहरूलाई आज्ञा गरेको थिएँ, न त मैले मेरो मनमा सोचेको थिएँ।

32 यसकारण होसियार रहो, ती दिनहरू आउँदैछन्, याहवेह घोषणा गर्नुहुन्छ, जब मानिसहरूले यस बेँसीलाई तोपेत अथवा बेन-हिन्‍नोमको बेँसी होइन, तर हत्याको बेँसी भन्‍नेछन्, तब तिनीहरूले तोपेतमा कुनै ठाउँ नै नरहुन्जेल मृतकहरूलाई गाड्नेछन्।

33 तब मानिसहरूका मृत शरीरहरू आकाशका चराहरू र जमिनका पशुहरूका निम्ति आहारा हुनेछन्; अनि तिनीहरूलाई तर्साएर धपाउने कोही पनि हुनेछैनन्।

34 म यहूदाका सहरहरू र यरूशलेमका गल्‍लीहरूमा हर्ष र आनन्दको सोर, दुलहा र दुलहीको सोर अन्त्य गरिदिनेछु; किनकि देश उजाड हुनेछ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy