Online Bible

- Reklamy -

यर्मिया 37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


यर्मिया कैदमा

1 बेबिलोनका राजा नबूकदनेसरले योशियाहका छोरा सिदकियाहलाई यहूदाका राजा बनाएका थिए; तिनले यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा राज्य गरे।

2 तर न तिनले, न तिनका सेवकहरूले, न त देशका मानिसहरूले नै यर्मिया अगमवक्ताद्वारा बोलिएका याहवेहका वचनहरू पालन गरे।

3 तापनि राजा सिदकियाहले शेलेम्याहका छोरा यहूकललाई, मासेयाहका छोरा पुजारी सपन्याहसँग यर्मिया अगमवक्ताकहाँ यो सन्देश पठाए, “कृपया, याहवेह हाम्रा परमेश्‍वरसँग हाम्रो निम्ति प्रार्थना गरिदिनुहोस्।”

4 त्यस बेला यर्मिया मानिसहरूका बीचमा आउजाउ गर्न स्वतन्त्र थिए; किनकि तिनलाई त्यस बेलासम्म झ्यालखानामा राखिएको थिएन।

5 फारोको सेना इजिप्टबाट मोर्चा बाँधेर निस्किसकेको थियो, जब यरूशलेमलाई घेरिराखेका बेबिलोनीहरूले तिनीहरूको बारेमा सुने, तब तिनीहरू यरूशलेमबाट पछि हटेर गए।

6 तब याहवेहको वचन यर्मिया अगमवक्ताकहाँ आयो:

7 “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: यहूदाको राजा, जसले तँलाई मसँग सल्‍लाह लिन पठाएको छ, त्यसलाई भन्, ‘तँलाई सघाउनको निम्ति मोर्चा बाँधेर निस्किसकेका फारोका सेना त्यसको आफ्नै देश इजिप्टमा फर्किजानेछ।

8 तब बेबिलोनीहरू फर्कनेछन् र यस सहरलाई आक्रमण गर्नेछन्। तिनीहरूले यस सहरलाई कब्जा गर्नेछन् र आगोले जलाएर भस्म पार्नेछन्।’

9 “याहवेह यसो भन्‍नुहुन्छ: ‘बेबिलोनीहरूले हामीलाई निश्‍चय छोडिदिनेछन्,’ भन्‍ने सोचेर तिमीहरू आफैँलाई धोका नदेओ। तिनीहरूले छोडेर जानेछैनन्!

10 यदि तिमीहरूका विरुद्धमा आक्रमण गर्ने सम्पूर्ण बेबिलोनी सेनाहरूलाई परास्त गर्न तिमीहरू सफल भयौ भने तापनि तिनीहरूका पालहरूमा छोडिएका घाइते मानिसहरू बाहिर आएर यस सहरलाई जलाइदिनेछन्।”

11 फारोका सेनाको कारण बेबिलोनी सेना यरूशलेमबाट हटेर गयो।

12 तब यर्मिया बेन्यामीनको इलाकाका मानिसहरूबाट आफ्नो सम्पत्तिको भाग लिनलाई यरूशलेमबाट निस्के।

13 तर जब तिनी बेन्यामीन मूलढोकामा पुगे, तब अङ्गरक्षकका सेनापति जसको नाम यिरियाह थियो, जो हनन्याहका नाति शेलेम्याहका छोरा थिए; उनले यर्मियालाई पक्रेर भने, “तिमी भागेर बेबिलोनीहरूकहाँ जाँदैछौ!”

14 यर्मियाले जवाफ दिएर भने, “यो कुरा सत्य होइन! म भागेर बेबिलोनीहरूकहाँ गएको होइनँ।” तर यिरियाहले तिनको कुरा सुन्‍नै चाहेनन्। यसकारण उनले यर्मियालाई पक्रेर तिनलाई अधिकारीहरूकहाँ ल्याए।

15 तिनीहरू यर्मियासँग रिसाएर तिनलाई पिटे, र तिनलाई सचिव जोनाथनको घरमा कैद गरेर राखे; किनकि त्यस घरलाई तिनीहरूले झ्यालखाना बनाएका थिए।

16 तिनीहरूले यर्मियालाई एउटा अँध्यारो बन्दी कोठामा राखिदिए, जहाँ तिनी धेरै दिनसम्म रहे।

17 तब सिदकियाह राजाले तिनलाई ल्याउन लगाए, र तिनलाई राजमहलमा ल्याए, जहाँ तिनलाई गुप्‍तमा सोधे, “के याहवेहबाट केही सन्देश छ?” यर्मियाले जवाफ दिए, “हजुर, छ। तपाईं बेबिलोनका राजाको हातमा सुम्पिइनुहुनेछ।”

18 तब यर्मियाले राजा सिदकियाहलाई भने, “मैले तपाईं, तपाईंका अधिकारीहरू र यी मानिसहरूको विरुद्धमा के अपराध गरेको छु, र तपाईंले मलाई झ्यालखानामा राख्नुभयो?

19 तपाईंका ती अगमवक्ताहरू कहाँ छन्, जसले तपाईंलाई, ‘बेबिलोनका राजाले तिनका सेनासँग तपाईं अथवा यस देशको विरुद्धमा आक्रमण गर्नेछैन’ भनेर अगमवाणी गरेका थिए?

20 तर अब हे मेरा मालिक राजा, दया गरी सुनिदिनुहोस्। मलाई मेरो बिन्ती तपाईंको अगि राख्न दिनुहोस्: मलाई सचिव जोनाथनको घरमा फर्काएर नपठाउनुहोस्, नत्रता म त्यहीँ मर्नेछु।”

21 तब राजा सिदकियाहको आदेशअनुसार यर्मिया पहरेदारको चोकमा राखिए; अनि सहरका सबै रोटी नसकुन्जेल बजारको पसलबाट दिनहुँ रोटी ल्याएर तिनलाई दिइन्थ्यो। यसरी यर्मिया पहरेदारको चोकमा रहन लागे।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy