यर्मिया 26 - पवित्र बाइबल नेपाली समकालीन संस्करणयर्मियालाई मृत्युको धम्की 1 योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको शासनकालको सुरुका दिनहरूमा याहवेहबाट यो वचन आयो: 2 “याहवेह यसो भन्नुहुन्छ: याहवेहको भवनको चोकमा खडा हो, र याहवेहको भवनमा आराधना गर्न आउने यहूदाका सहरहरूका सबै मानिसहरूसित कुरा गर्। मैले तँलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई एक शब्द पनि नछोडी सुना। 3 सायद तिनीहरूले सुन्लान् र तिनीहरू हरेक आफ्ना दुष्ट चालहरूबाट फर्कलान्। तब म आफ्नो मन परिवर्तन गर्नेछु र तिनीहरूले गरेका दुष्टताको कारण तिनीहरूमाथि विपत्ति ल्याउनेछैनँ। 4 तिनीहरूलाई भन्नू, ‘याहवेह यसो भन्नुहुन्छ: यदि तिमीहरूले मेरा कुरा सुनेनौ र मैले तिमीहरूको सामु राखिदिएको मेरो व्यवस्था पालन गरेनौ भने, 5 र तिमीहरूले मेरा सेवक अगमवक्ताहरूका वचनहरू सुनेनौ भने जसलाई मैले तिमीहरूकहाँ बारम्बार पठाएको थिएँ, यद्यपि तिमीहरूले सुनेका छैनौ, 6 तब म यस भवनलाई शीलोजस्तै र यस सहरलाई पृथ्वीका सबै जातिहरूबीच एक सरापको पात्र तुल्याउनेछु।’ ” 7 पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले याहवेहको भवनमा यर्मियाले भनेका यी वचनहरू सुने। 8 तर जब याहवेहले यर्मियालाई भन्नू भनी आज्ञा दिनुभएका सबै कुराहरू तिनले भनिसके, तब पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले तिनलाई समातेर भने, “तँ अब मर्नैपर्छ! 9 यो भवन शीलोजस्तै हुनेछ, र यो सहरचाहिँ उजाड र रुखो हुनेछ भनी किन याहवेहको नाममा अगमवाणी गरिस्?” अनि याहवेहको भवनमा सबै मानिसहरूले यर्मियालाई घेरे। 10 जब यहूदाका अधिकारीहरूले यो कुरा सुने, तब तिनीहरू राजमहलबाट याहवेहको भवनमा गए, र याहवेहको नयाँ मूलढोकाको प्रवेशद्वारमा आ-आफ्ना ठाउँमा बसे। 11 तब पुजारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिसहरूलाई भने, “यस मानिसलाई मृत्युदण्ड दिनुपर्छ; किनकि यसले यस सहरको विरुद्धमा अगमवाणी गरेको छ। तपाईंहरूले यो कुरा आफ्नै कानले सुन्नुभएको छ!” 12 तब यर्मियाले सबै अधिकारीहरू र सबै मानिसहरूलाई भने: “याहवेहले नै मलाई यस भवन र यस सहरको विरुद्धमा तपाईंहरूले सुनेका सबै कुराहरू अगमवाणी गर्नलाई पठाउनुभएको हो। 13 अब तपाईंहरूले आ-आफ्ना चाल र कामहरू सुधार्नुहोस्! अनि याहवेह तपाईंहरूका परमेश्वरको आज्ञापालन गर्नुहोस्। तब याहवेहले आफ्नो मन बदल्नुहुनेछ र उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्ति ल्याउनुहुनेछैन। 14 मेरो बारेमा भन्नुपर्दा, म त तपाईंहरूकै हातमा छु; तपाईंहरूलाई जे असल र उचित लाग्छ, त्यही मसित गर्नुहोस्। 15 तर यो कुरा जान्नुहोस्, कि तपाईंहरूले मलाई मार्नुभयो भने निश्चय तपाईंहरूले निर्दोष मानिसको रगतको दोष आफूमाथि, यस सहरमाथि र यस सहरमा बस्ने मानिसहरूमाथि पनि ल्याउनुहुनेछ; किनकि याहवेहले मलाई तपाईंहरूले सुन्ने गरी यी सबै वचनहरू तपाईंहरूलाई चेतावनी दिन पठाउनुभएको कुरा सत्य हो।” 16 तब ती अधिकारीहरू र मानिसहरूले पुजारीहरू र अगमवक्ताहरूलाई भने, “यो मानिस मृत्युदण्ड पाउन योग्य छैन! किनकि यसले याहवेह हाम्रा परमेश्वरको नाममा, उहाँको तर्फबाट हामीसित बोलेको छ।” 17 प्रधानहरूमध्ये केही मानिसहरू उठेर भेला भएका सम्पूर्ण समुदायलाई भने, 18 “मोरेशेतका मीकाले यहूदाका राजा हिजकियाहको समयमा अगमवाणी गरे। तिनले यहूदाका सबै मानिसहरूलाई भने, ‘सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “ ‘सियोन खेतजस्तै जोतिनेछ; यरूशलेम भग्नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ झाडीले भरिएको ढिस्कोझैँ हुनेछ।’ 19 “के यहूदाका राजा हिजकियाह अथवा यहूदाका अरू कसैले मीकालाई मारे? के हिजकियाहले याहवेहसित डराएर उहाँको कृपा खोजेनन्? अनि के याहवेहले आफ्नो मन बदलेर उहाँले तिनीहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिदेखि आफ्नो मन बदल्नुभएन र? तर हामीले आफूमाथि एक डरलाग्दो विपत्ति ल्याउन लाग्दैछौँ!” 20 (किर्यत-यारीमबाट शमायाहका छोरा उरियाह नाम गरेका अर्का मानिस थिए, जसले याहवेहको नाममा अगमवाणी गरेका थिए; उरियाहले पनि यस सहर र यस देशको विरुद्धमा यर्मियाले झैँ अगमवाणी गरे। 21 जब राजा यहोयाकीम र तिनका सबै अधिकारीहरू र अधिकृतहरूले तिनका वचनहरू सुने, तब राजाले तिनलाई मार्न खोजेका थिए। तर जब उरियाहले यो कुरा सुने, तब तिनी डरले इजिप्टतिर भागे। 22 अनि राजा यहोयाकीमले उरियाहलाई पक्रन अक्बोरको छोरा एल्नातानलाई अरू केही मानिसहरूसहित इजिप्टमा पठाए। 23 तिनीहरूले उरियाहलाई इजिप्टबाट लिएर आए, र राजा यहोयाकीमकहाँ लगे, जसले तिनलाई तरवारले प्रहार गरेर मारे। अनि तिनको शरीरलाई सर्वसाधारण मानिसहरू गाडिने ठाउँमा फ्याँक्न लगाए)। 24 तर शापानका छोरा अहीकामले यर्मियालाई समर्थन गरे। त्यसैकारण तिनीहरूले यर्मियालाई पक्रेर मारिनका निम्ति मानिसहरूका हातमा दिएनन्। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.