Online Bible

- Reklamy -

यर्मिया 24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


दुई डाला नेभाराहरू

1 यहूदाका राजा यहोयाकीमको छोरा, यहोयाकीन र अधिकारीहरू, यहूदाका कारिगरहरू र शिल्पकारहरूलाई, बेबिलोनको राजा नबूकदनेसरले यरूशलेमबाट बेबिलोनको निर्वासनमा लगेपछि याहवेहले मलाई याहवेहको मन्दिरको सामु राखिएका दुई डाला नेभाराहरू देखाउनुभयो।

2 एउटा डालोमा पहिले पाकेका खूब असल नेभाराहरू थिए; अर्को डालोमा चाहिँ अति नराम्रा नेभाराहरू थिए। ती खानै नसकिने अति खराब थिए।

3 तब याहवेहले मलाई सोध्नुभयो, “यर्मिया, तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “म नेभाराहरू देख्दैछु। राम्रा नेभाराहरू अति राम्रा छन्, तर नराम्राहरूचाहिँ खानै नसकिने खराब छन्।”

4 त्यसपछि याहवेहको वचन मकहाँ आयो:

5 “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म यहूदाका मानिसहरूलाई यी असल नेभाराहरूजस्ता ठान्छु, जसलाई मैले यस ठाउँबाट बेबिलोनीहरूको देशमा निर्वासनमा पठाएको थिएँ।

6 तिनीहरूको भलाइका निम्ति म मेरो दृष्‍टि तिनीहरूमाथि लगाउनेछु, र म तिनीहरूलाई यस देशमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई निर्माण गर्नेछु, भत्काउनेछैनँ; म तिनीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ।

7 म तिनीहरूलाई म नै याहवेह हुँ भनी जान्‍ने हृदय दिनेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु; किनभने तिनीहरू आफ्ना सम्पूर्ण हृदयले मतिर फर्कनेछन्।

8 “ ‘याहवेह घोषणा गर्नुहुन्छ, तर ती खानै नसकिने धेरै खराब नराम्रा नेभाराहरूजस्तै, म यहूदाको राजा सिदकियाह, त्यसका अधिकारीहरू र यरूशलेमबाट बाँचेकाहरूसँग ती नेभाराहरूलाई जस्तै व्यवहार गर्नेछु, चाहे तिनीहरू यस देशमा रहून्, अथवा इजिप्टमै रहून्।

9 म तिनीहरूलाई पृथ्वीका सबै राज्यहरूका निम्ति अति घृणित र अपमानित तुल्याउनेछु। मैले तिनीहरूलाई निकालेर जहाँ-जहाँ खेदे तापनि तिनीहरूलाई निन्दा, श्राप र गिल्‍लाको पात्र तुल्याउनेछु।

10 मैले तिनीहरू र तिनीहरूका पितापुर्खाहरूलाई दिएको देशबाट तिनीहरू पूरै नाश नभएसम्म म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र महामारी पठाउनेछु।’ ”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy