यर्मिया 16 - पवित्र बाइबल नेपाली समकालीन संस्करणविपत्तिको दिन 1 फेरि याहवेहको यो वचन मकहाँ आयो: 2 “तैँले यस ठाउँमा विवाह गर्नु र छोराछोरीहरू जन्माउनुहुँदैन।” 3 किनकि यस ठाउँमा जन्मेका छोराछोरीहरूको बारेमा र तिनीहरूलाई जन्म दिने तिनीहरूका आमा र बुबाहरूको बारेमा याहवेह यसो भन्नुहुन्छ: 4 “तिनीहरू घातक रोगले मर्नेछन्। तिनीहरूका निम्ति शोक गरिनेछैन, तर तिनीहरू मैदानमा लडिरहने मलजस्तै हुनेछन्। तिनीहरू तरवार र अनिकालले नष्ट हुनेछन्; अनि तिनीहरूका लासहरू आकाशका चराहरू र जमिनका पशुहरूका निम्ति भोजन हुनेछन्।” 5 किनकि याहवेह यसो भन्नुहुन्छ: “मृत्यु भएको घरमा भोज खान नजा; अथवा शोक गर्न र सहानुभूति प्रकट गर्न पनि नजा; किनकि मैले यस जातिबाट मेरो आशिष्, मेरो प्रेम र मेरो दया फिर्ता लिइसकेको छु,” याहवेह घोषणा गर्नुहुन्छ। 6 “यस देशका धनी र गरिब सबै मानिसहरू मर्नेछन्। तिनीहरू गाडिनेछैनन् र तिनीहरूको निम्ति शोक गरिनेछैन; अनि कसैले पनि तिनीहरूका निम्ति आफ्नो शरीर काट्ने छैनन्, अथवा आफ्नो कपाल खौरनेछैनन्। 7 मरेकाहरूका निम्ति शोक गर्नेहरूलाई सान्त्वना दिन कसैले पनि भोजन दिनेछैन। तिनीहरूका बुबा र आमाका निम्ति शोक गर्नेलाई समेत कसैले तिनीहरूलाई सान्त्वनाको पानी दिनेछैन। 8 “यदि कुनै घरमा भोज भइरहेको छ भने तापनि तिनीहरूसित खान र पिउनलाई तँ नबस्। 9 किनकि सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूका आँखाकै सामु र तिमीहरूकै समयमा यस ठाउँमा हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोर म बन्द गरिदिनेछु। 10 “जब तैँले यी मानिसहरूलाई यी सबै कुरा भन्नेछस्, र तिनीहरूले तँलाई सोध्नेछन्, ‘किन याहवेहले हाम्रो विरुद्धमा यति ठूलो विपत्ति जारी गर्नुभएको छ? हामीले के अपराध गरेका छौँ र? हामीले याहवेह हाम्रा परमेश्वरको विरुद्धमा के पाप गरेका छौँ र?’ 11 तब तिनीहरूलाई भन्, ‘किनभने तिमीहरूका पितापुर्खाहरूले मलाई त्यागेर अरू देवताहरूको पछि लागे; अनि तिनीहरूको सेवा गरे र तिनीहरूको पूजा गरे। तिनीहरूले मलाई त्यागे र मेरो व्यवस्थालाई पनि पालन गरेनन्। 12 तर तिमीहरू त तिमीहरूका पितापुर्खाहरूभन्दा बढी दुष्ट हृदयको हठीपनामा हिँडिरहेका छौ। 13 यसकारण म तिमीहरूलाई यस देशबाट निकालेर तिमीहरू र तिमीहरूका पितापुर्खाहरूले नचिनेको देशमा फ्याँकिदिनेछु; अनि तिमीहरूले त्यहाँ दिनरात अरू देवताहरूको सेवा गर्नेछौ; किनकि म तिमीहरूमाथि कुनै दया देखाउनेछैन।’ 14 “यसकारण हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ, “जब मानिसहरूले फेरि यसो भनेर शपथ खानेछैनन्, ‘निश्चय नै जीवित याहवेहको नाममा, जसले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।’ 15 तर तिनीहरूले यसो भन्नेछन्, ‘निश्चय नै जीवित याहवेहको नाममा, जसले इस्राएलीहरूलाई उत्तरको देशबाट र उहाँले तिनीहरूलाई निर्वासनमा पठाउनुभएका सबै सहरहरूबाट निकालेर ल्याउनुभयो।’ किनकि मैले तिनीहरूका पितापुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु। 16 याहवेह घोषणा गर्नुहुन्छ, “तर अब हेर, म धेरै जालहारीहरूलाई पठाउनेछु, र तिनीहरूले मानिसहरूलाई पक्रनेछन्। त्यसपछि म धेरै शिकारीहरूलाई पठाउनेछु; अनि तिनीहरूले मानिसहरूलाई प्रत्येक अग्ला पर्वत, पहाड र चट्टानका ओडारहरूबाट खोजेर निकाल्नेछन्। 17 तिनीहरूका हरेक मार्गहरूमाथि मेरो दृष्टि छ; तिनीहरूका गतिविधिहरू मबाट लुकेका छैनन्, न त तिनीहरूका अपराधहरू मेरा आँखाबाट लुकेका छन्। 18 म तिनीहरूका दुष्टता र तिनीहरूका अपराधका निम्ति दोबर दण्ड दिनेछु; किनकि तिनीहरूले मेरो देशलाई तिनीहरूका घृणित मूर्तिहरूका निर्जीव आकृतिहरूले अशुद्ध पारेका छन्, र मेरो उत्तराधिकारको देशलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरिदिएका छन्।” 19 हे याहवेह, मेरो बल र मेरो किल्ला, दुःखको दिनमा मेरो शरणस्थान, पृथ्वीका कुना कुनाबाट जातिहरू तपाईंकहाँ आएर भन्नेछन्, “हाम्रा पितापुर्खाहरूले झूटा देवताहरूबाहेक केही अधिकार गरेनन्; यस्ता काम नलाग्ने मूर्तिहरू, जसले तिनीहरूलाई केही फाइदा भएन। 20 के मानिसहरूले आफ्ना निम्ति देवी-देवताहरू आफैँ बनाउँछन् र? अँ! बनाउँछन्, तर तिनीहरू त ईश्वरहरू नै होइनन्!” 21 “यसकारण म तिनीहरूलाई सिकाउनेछु; यस पटक म तिनीहरूलाई मेरो शक्ति र महानता देखाउनेछु। तब मेरो नाम याहवेह हो भनी तिनीहरूले जान्नेछन्। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.