Online Bible

- Reklamy -

यर्मिया 15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब याहवेहले मलाई भन्‍नुभयो: “यदि मोशा र शमूएल नै मेरो सामु खडा भएर बिन्ती गरे तापनि यस जातिप्रति मेरो हृदय फर्कनेछैनँ। यी मानिसहरूलाई मेरो दृष्‍टिबाट टाढा पठाई दे! तिनीहरू जाऊन्!

2 अनि यदि तिनीहरूले तँलाई यसो भनेर सोधे भने, ‘हामी कता जाऔँ?’ तिनीहरूलाई भन्‍नू, ‘याहवेह यसो भन्‍नुहुन्छ: “ ‘मृत्युका निम्ति ठहराइएकाहरू मृत्युमा जाऊन्; तरवारका निम्ति ठहराइएकाहरू तरवारमा जाऊन्; अनिकालका निम्ति ठहराइएकाहरू, अनिकालमा जाऊन्; कैदका निम्ति ठहराइएकाहरू, कैदमा नै जाऊन्।’ ”

3 याहवेह घोषणा गर्नुहुन्छ, “म तिनीहरूका विरुद्धमा चार किसिमका विनाशहरू पठाउनेछु: तिनीहरूलाई मार्नलाई तरवार, घिसार्दै लैजानलाई कुकुरहरू; अनि निल्न र नाश गर्नलाई आकाशका चराहरू र जमिनका पशुहरू।

4 यहूदाका राजा हिजकियाका छोरा मनश्शेले यरूशलेममा जे गरेका थिए, त्यसैको कारणले म यहूदाका मानिसहरूलाई देख्ने पृथ्वीभरिका सबै राज्यहरू भयभीत हुने तुल्याइदिनेछु।

5 “हे यरूशलेम, तँलाई कसले दया देखाउला? तेरा निम्ति कसले विलाप गर्ला? तँ कस्तो छस् भनी सोध्न को रोकिएला?”

6 याहवेह घोषणा गर्नुहुन्छ, “यरूशलेम, तैँले मलाई त्यागेको छस्। तैँले मतिर आफ्नो पिठिउँ फर्काएको छस्। यसकारण म तेरो विरुद्धमा आफ्नो हात उठाउनेछु र तँलाई विनाश गर्नेछु; अब म तँप्रतिको रिस थाम्न सक्दिनँ।

7 देशका मूलढोकाहरूमा म तिनीहरूलाई नाङ्लोले निफनेझैँ निफन्‍नेछु। म मेरा मानिसहरूमाथि तिनीहरूका सन्तानको शोक र सर्वनाश ल्याउनेछु; किनकि तिनीहरूले आफ्ना मार्गहरू बदली गरेका छैनन्।

8 म तिनीहरूका विधवाहरूको संख्या समुद्रको बालुवाभन्दा धेरै बढाउनेछु। मध्यदिनको समयमा म तिनीहरूका जवान ठिटाहरूका आमाहरूको विरुद्धमा एक जना विनाशकर्तालाई ल्याउनेछु; म तिनीहरूमाथि एक्‍कासि सङ्कष्‍ट र त्रास ल्याउनेछु।

9 सात जनाकी आमा बेहोश हुनेछे, र त्यसले आफ्नो अन्तिम सास फेर्नेछे। दिन छँदै त्यसको सूर्य अस्ताउँछ; त्यो अपमानित हुनेछे र शर्ममा पर्नेछे। बाँचेकाहरूलाई चाहिँ म तिनीहरूका शत्रुहरूको सामु तरवारले मार्न दिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

10 यर्मियाले भने, हाय म कस्तो दुःखी मान्छे हुँ। मेरी आमाले मजस्तो मानिसलाई जन्माउनुभयो! एउटा यस्तो मानिस, जससँग सारा देशले झगडा र विवाद गर्छ! मैले तिनीहरूलाई न ऋण दिएको छु, न त ऋण नै लिएको छु, तर पनि सबै मानिसहरूले मलाई सराप्छन्।

11 याहवेहले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई असल उद्देश्यले छुटाउनेछु; निश्‍चय नै म तेरा शत्रुहरूलाई दुःख र सङ्कष्‍टको समयमा, तँसित बिन्ती गर्न लगाउनेछु।

12 “के कुनै मानिसले फलाम भाँच्न सक्छ, उत्तर दिशाको फलाम अथवा काँसालाई भाँच्न सक्छ?

13 “तिमीहरूले आफ्नो देशभरि गरेका पापहरूको कारणले तिमीहरूका सम्पत्ति र तिमीहरूका भण्डारहरू, लुटको मालसामानजस्तै, म सितैँमा अरूलाई दिनेछु।

14 तिमीहरूले नचिनेका देशमा तिमीहरूलाई आफ्नै शत्रुका दास तुल्याउनेछु; किनकि मेरो क्रोध आगोजस्तै दन्कनेछ, जुन तेरो विरुद्धमा दन्कनेछ।”

15 तब यर्मियाले भने, हे याहवेह, तपाईंलाई सबै कुरा थाहा छ; मलाई सम्झनुहोस् र मेरो निम्ति काम गर्नुहोस्। मलाई सताउनेहरूलाई बदला लिनुहोस्। तपाईं धैर्यवान् हुनुहुन्छ। मलाई टाढा नलैजानुहोस्; मैले तपाईंका निम्ति कति अपमान सहेको छु, सो विचार गर्नुहोस्।

16 जब तपाईंका वचनहरू आए, मैले ती सबै निलेँ; ती वचनहरू मेरा निम्ति आनन्द र हृदयको निम्ति हर्षको स्रोत थिए; किनकि हे याहवेह सेनाहरूका परमेश्‍वर, मैले तपाईंको नाम बोकेको छु।

17 म मोजमज्जा गर्नेहरूको समूहमा कहिल्यै बसिनँ; तिनीहरूसँग कहिल्यै रमाइलो गरिनँ; म एकलै बसेँ, किनकि तपाईंको हात ममाथि थियो र तपाईंले मलाई रिसले भरिदिनुभएको थियो।

18 मेरो पीडाको अन्त्य किन हुँदैन, र मेरो घाउ किन पीडादायक र निको नहुने भएको छ? के तपाईं मेरा निम्ति सुकेर जाने खोल्साजस्तै हुनुहुन्छ, भर पर्न नसकिने मुहानजस्तै?

19 यसकारण याहवेह यसो भन्‍नुहुन्छ: “यदि तैँले पश्‍चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु, र तँ मेरो सेवक बन्‍नेछस्; यदि तैँले व्यर्थको कुरा नगरेर मूल्यवान् कुराहरू मात्र बोलिस् भने, तँ मेरो अगमवक्ता हुनेछस्। यी मानिसहरू तँतिर फर्कून्, तर तँचाहिँ तिनीहरूतिर नफर्कनू।

20 म तँलाई यी मानिसहरूका निम्ति एउटा पर्खाल, काँसाको एउटा किल्‍ला बनाउनेछु; तिनीहरू तेरो विरुद्धमा लडाइँ गर्नेछन्, तर तँमाथि विजयी हुनेछैनन्; किनकि तँलाई विजय दिन र बचाउन म तेरो साथमा छु,” याहवेह घोषणा गर्नुहुन्छ।

21 “म तँलाई दुष्‍टहरूका हातबाट बचाउनेछु; अनि म तँलाई निर्दयीहरूका हत्केलाबाट छुटाउनेछु।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy