न्यायकर्ता 6 - पवित्र बाइबल नेपाली समकालीन संस्करणगिदोन 1 फेरि इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे; अनि उहाँले तिनीहरूलाई सात वर्षसम्म मिद्यानीहरूका हातमा सुम्पिदिनुभयो। 2 मिद्यानीहरू अति निष्ठुर भएको कारण इस्राएलीहरूले आफ्ना निम्ति वासस्थानहरू पहाडका कुनाकाप्चा, गुफा र किल्लाहरूतिर बनाएका थिए। 3 जहिले-जहिले इस्राएलीहरूले आफ्ना बाली लगाउँथे, तब मिद्यानीहरू, अमालेकीहरू र अरू पूर्वीय मानिसहरूले देशमाथि आक्रमण गर्थे। 4 तिनीहरूले देशमा छाउनी हालेर गाजासम्मै बाली नष्ट पारिदिन्थे। अनि इस्राएलका निम्ति न त भेडा, न गाईबस्तु वा गधा कुनै जीवित प्राणी नै छोडिदिन्थे। 5 तिनीहरू आफ्ना वस्तु र पालहरूसितै सलहका हुलझैँ आउँथे। मानिसहरू र तिनीहरूका ऊँटहरूलाई गन्न असम्भव थियो। तिनीहरूले देशलाई नाश गर्न आक्रमण गर्थे। 6 मिद्यानीहरूले इस्राएलीहरूलाई यतिसम्म दरिद्र तुल्याइदिए कि सहायताका निम्ति तिनीहरूले याहवेहलाई पुकारे। 7 जब इस्राएलीहरूले मिद्यानीहरूको कारण याहवेहको पुकार गरे, 8 तब उहाँले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाइदिनुभयो, जसले यसो भने, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: मैले तिमीहरूलाई इजिप्टको दासत्वदेखि निकालेर ल्याएँ। 9 मैले तिमीहरूलाई इजिप्टको शक्तिबाट र तिमीहरूमाथि थिचोमिचो गर्नेहरू सबैका हातबाट तिमीहरूलाई खोसेर ल्याएँ। मैले तिनीहरूलाई तिमीहरूका सामुबाट धपाएँ, र तिनीहरूको देश तिमीहरूलाई दिएँ। 10 मैले तिमीहरूलाई भनेँ, ‘म याहवेह नै तिमीहरूका परमेश्वर हुँ; तिमीहरूले आफू बसेका देशमा एमोरीहरूका देवी-देवताहरूलाई नपुज्नू।’ तर तिमीहरूले मेरो कुरा सुनेनौ।” 11 तब याहवेहका दूत आएर अबीएजरी योआशको ओप्रा भन्ने ठाउँको फलाँटको रूखमुनि बसे, जहाँ तिनका छोरा गिदोनले मिद्यानीहरूबाट जोगाउनलाई दाखको कोलमा गहुँ झाँट्दैथिए। 12 याहवेहका दूत गिदोनकहाँ देखा परेर भने, “हे वीर योद्धा, याहवेह तँसित हुनुहुन्छ।” 13 गिदोनले जवाफ दिए, “माफ गर्नुहोला मालिक, यदि याहवेह हामीसित हुनुहुन्छ भने हामीमाथि यी सबै किन हुन आए? उहाँका ती सबै अद्भुत कार्यहरू के भए, जो हामीले आफ्ना पितापुर्खाहरूबाट सुनेका छौँ, जसले भन्थे, ‘के याहवेहले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभएको होइन र?’ तर अब याहवेहले हामीलाई त्याग्नुभएको छ; मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ।” 14 तब याहवेह तिनीतिर फर्कनुभयो र भन्नुभयो: “तँसित भएको शक्ति प्रयोग गर्, र इस्राएललाई मिद्यानीहरूका हातबाट बचा। तँलाई पठाउने के म नै होइनँ र?” 15 तर गिदोनले सोधे, “तर प्रभु म इस्राएललाई कसरी बचाउन सकूँला? मेरो वंश त मनश्शेमा सबैभन्दा कमजोर छ। अनि मेरो परिवारमा म सबैभन्दा सानो छु।” 16 याहवेहले जवाफ दिनुभयो, “म तँसित हुनेछु, र तैँले सारा मिद्यानीहरूलाई एउटै मानिसलाई झैँ मार्नेछस्।” 17 गिदोनले जवाफ दिए, “अब यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मसित बोल्नुहुने साँच्चै तपाईं नै हुनुहुन्छ भनी मलाई एउटा चिन्ह दिनुहोस्। 18 बिन्ती छ, मैले मेरो भेटी लिएर तपाईंको सामु नचढाउन्जेल तपाईं यहाँबाट नजानुहोला।” अनि याहवेहले भन्नुभयो: “तँ नफर्केसम्म म पर्खिरहनेछु।” 19 तब गिदोन भित्र गए, र एउटा पाठो तयार गरे। एक एपाभरिको पिठोबाट अखमिरी रोटी बनाए। त्यो मासु एउटा डालोमा र त्यसको झोलचाहिँ एउटा बटुकोमा हालेर तिनले ती बाहिर ल्याए। अनि फलाँटको रूखमुनि उहाँलाई चढाए। 20 तब परमेश्वरका दूतले तिनलाई भने, “यो मासु र ती अखमिरी रोटी लिएर त्यस चट्टानमाथि राखिदे, र झोलचाहिँ त्यसमाथि खन्याइदे।” अनि गिदोनले त्यसै गरे। 21 आफ्नो हातमा भएको लहुरोको टुप्पोले याहवेहका दूतले मासु र अखमिरी रोटीलाई छोए। चट्टानबाट आगो दन्केर निस्क्यो। अनि त्यस मासु र रोटीलाई भस्म पारिदियो। त्यसपछि याहवेहका दूत अल्पिहाले। 22 गिदोनले तिनी त याहवेहका दूत रहेछन् भनी थाहा पाए, तब तिनले लामो सास तानेर भने, “अहो, सार्वभौम याहवेह! मैले याहवेहका दूतलाई आमने-सामने देखेको छु!” 23 तर याहवेहले तिनलाई भन्नुभयो: “शान्ति! भयभीत नहो, तँ मर्नेछैनस्।” 24 यसकारण गिदोनले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए, र त्यसलाई याहवेह शान्ति हुनुहुन्छ भनेर नाम राखे। आजको दिनसम्मै त्यो अबीएजरीको ओप्रामा छँदैछ। 25 त्यही रात याहवेहले तिनलाई भन्नुभयो: “तेरा पिताको बथानबाट सात वर्षको दोस्रो साँढे लिनू। तेरा पिताको बालको वेदी भत्काइदिनू, र त्यसको छेउमा भएको अशेराको खाँबो काटेर ढालिदिनू। 26 त्यसपछि एउटा उच्च स्थानमा याहवेह तेरा परमेश्वरका निम्ति एउटा उपयुक्त वेदी बनाउनू। तैँले काटेर ढालेको अशेराको खाँबो प्रयोग गरेर त्यो दोस्रो साँढेलाई होमबलिस्वरुप चढाउनू।” 27 यसकारण गिदोनले आफ्ना दश जना नोकरहरू लिएर याहवेहले तिनलाई भन्नुभएझैँ गरे। तर आफ्नो परिवार र सहरका मानिसहरूका डरको कारण तिनले त्यो दिउँसो होइन, तर राति गरे। 28 जब सहरका मानिसहरू बिहानै उठे, तब उनीहरूले बाल-देवताको वेदी भत्काइएको र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिएको र गिदोनले बनाएको नयाँ वेदीमा त्यो दोस्रोचाहिँ साँढे होमबलि चढाइएको देखे। 29 तिनीहरूले आपसमा सोधे, “यो कसले गरेको हो?” तिनीहरूले होसियारीसाथ खोजी गरेपछि तिनीहरूलाई भनियो, “योआशको छोरा गिदोनले नै यो गरेको हो।” 30 सहरका मानिसहरूले योआशासित यो माग गरे, “तिम्रो छोरालाई बाहिर ल्याऊ। त्यो मर्नैपर्छ; किनकि त्यसले बालको वेदीलाई भत्काइदिएको छ, र त्यसको छेउको अशेराको खाँबोलाई काटेर ढालिदिएको छ।” 31 तर योआशले आफ्ना चारैतिरका विरोधी भीडलाई जवाफ दिए, “के तिमीहरू बालको पक्षमा बोल्दछौ? के तिमीहरू त्यसलाई बचाउने कोसिस गर्दैछौ? त्यसको पक्षमा लड्ने जोसुकै पनि बिहानसम्ममा मारिनेछ! यदि बाल साँच्चै देवता हो भने कसैले उसको वेदी भत्काउँदा उसले आफ्नो रक्षा गर्न सक्छ?” 32 यसकारण त्यस दिन तिनीहरूले गिदोनलाई यसो भनेर यरूब-बाल नाम राखिदिए, “यस मानिस विरुद्ध बाल आफैँले लडाइँ गरोस्”, किनकि तिनले बालको वेदी भत्काइदिएका थिए। 33 अब सारा मिद्यानीहरू, अमालेकीहरू र पूर्वका अरू मानिसहरू एकसाथ भेला भएर यर्दन तरे, र यिजरेलको बेँसीमा छाउनी हाले। 34 तब याहवेहको आत्मा गिदोनमाथि आउनुभयो। अनि तिनले तुरही फुके, र अबीएजेरीहरूलाई तिनको पछि लाग्नलाई बोलाए। 35 तिनले मनश्शेभरि दूतहरू पठाएर तिनीहरूलाई पनि आफ्नो पछि लाग्न भने। तिनले आशेर, जबूलून र नप्तालीमा पनि दूतहरू पठाए, र तिनीहरू पनि तिनलाई भेट्न आए। 36 गिदोनले परमेश्वरलाई भने, “यदि तपाईंले प्रतिज्ञा गर्नुभएझैँ तपाईंले इस्राएलीहरूलाई मेरो हातद्वारा बचाउनुहुन्छ भने, 37 हेर्नुहोस्, म खलामा ऊन राख्नेछु। त्यस ऊनमा मात्र शीत पर्यो र सम्पूर्ण जमिनचाहिँ सुक्खै रह्यो भने तपाईंले प्रतिज्ञा गर्नुभएझैँ इस्राएललाई मेरो हातद्वारा बचाउनुहुने रहेछ भनी म जान्नेछु।” 38 अनि त्यस्तै भयो। जब गिदोन भोलिपल्ट बिहानै उठे, तब तिनले त्यो ऊनलाई निचोरे, र एक बटुको जति शीतको पानी ऊनबाट निकाले। 39 तब गिदोनले परमेश्वरलाई भने, “कृपया मसित नरिसाउनुहोस्। यस ऊनबाट अझ एउटा जाँच गर्न मलाई अनुमति दिनुहोस्। यस पटक ऊन सुक्खा रहोस्, र जमिनचाहिँ शीतले ढाकिएको होस्।” 40 त्यस रात परमेश्वरले त्यसै गर्नुभयो। ऊन मात्र सुक्खा थियो; र सम्पूर्ण जमिनचाहिँ शीतले ढाकिएको थियो। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.