Online Bible

- Reklamy -

न्यायकर्ता 3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 कनानमा कुनै पनि युद्धको अनुभव नगरेका ती सबै इस्राएलीहरूलाई जाँच्न भनी याहवेहले छोडिदिनुभएका जातिहरू यिनै हुन्:

2 (पहिले युद्धको अनुभव नगरेका इस्राएलीहरूका सन्तानहरूलाई युद्ध गर्न सिकाउनको निम्ति मात्र उहाँले यसो गर्नुभएको थियो)।

3 ती जातिहरू यिनै हुन्: पलिश्तीहरूका पाँच शासकहरू, साथै सबै कनानीहरू, सीदोनीहरू र बाल-हर्मोन डाँडादेखि लेबो-हमातसम्मका लेबनान पर्वतहरूमा बस्‍ने हिव्वीहरू।

4 यी जातिहरू याहवेहले तिनीहरूका पितापुर्खाहरूलाई मोशाद्वारा दिनुभएका उहाँका आज्ञाहरू इस्राएलीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर तिनीहरूलाई जाँच्न छोडिएका थिए।

5 यसरी कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका बीचमा इस्राएलीहरू बस्थे।

6 तिनीहरूले उनीहरूका छोरीहरूसित विवाह गरे, र आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए। अनि तिनीहरूका देवी-देवताहरूलाई पूजा गर्न थाले।


ओत्निएल

7 इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍ट काम गरे; तिनीहरूले याहवेह तिनीहरूका परमेश्‍वरलाई बिर्सेर बाल र अशेरा देवी-देवताहरूका सेवा गरे।

8 तब याहवेहको क्रोध इस्राएलीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँले तिनीहरूलाई अराम-नहरैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो, जसको अधीनमा इस्राएलीहरू आठ वर्षसम्म रहे।

9 तर जब तिनीहरूले याहवेहलाई सहायताको लागि पुकारे, तब उहाँले तिनीहरूका निम्ति एक जना छुटाउने व्यक्ति, ओत्निएललाई खडा गर्नुभयो, जो कालेबका भाइ कनजका छोरा थिए। यिनले तिनीहरूलाई बचाए।

10 याहवेहको आत्मा तिनीमाथि आउनुभयो, र तिनी इस्राएलका न्यायकर्ता भई युद्धमा गए। याहवेहले अरामका राजा कूशन-रिशातैमलाई ओत्निएलको हातमा सुम्पिदिनुभयो, जसले तिनलाई परास्त गरे।

11 यसरी कनजका छोरा ओत्निएल बाँचुन्जेल देशमा चालीस वर्षसम्म शान्ति रहिरह्‍यो।


एहूद

12 फेरि पनि इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। अनि तिनीहरूले त्यस्तो दुष्‍टता गरेको कारण याहवेहले मोआबको राजा एग्लोनलाई इस्राएलमाथि अख्तियार दिनुभयो।

13 अम्मोनीहरू र अमालेकीहरूलाई आफूसित मिलाएर एग्लोनले आएर इस्राएलमाथि आक्रमण गरे, र खजूरहरूका सहरमाथि अधिकार गरे।

14 इस्राएलीहरू मोआबका राजा एग्लोनको अधीनमा अठार वर्षसम्म रहे।

15 इस्राएलीहरूले फेरि याहवेहलाई सहायताका लागि पुकारे, तब उहाँले तिनीहरूलाई एक जना छुटाउने व्यक्ति, बेन्यामीनी गेराका छोरा एहूद दिनुभयो, जो देब्रे-हाते थिए। इस्राएलीहरूले तिनलाई मोआबको राजा एग्लोनकहाँ सलामी टक्र्याउन पठाए।

16 एहूदले डेढ क्यूबिट जति लामो दुईधारे तरवार बनाए, र आफ्नो दाहिने तिघ्रामा आफ्नो लुगाभित्र बाँधिराखे।

17 त्यसपछि तिनी मोआबका राजा एग्लोनकहाँ सलामी लिएर गए। एग्लोन साह्रै मोटा मानिस थिए।

18 एहूदले त्यो सलामी टक्र्याइसकेपछि तिनले सलामी बोकेर ल्याउनेहरूलाई पठाइदिए।

19 तर तिनीचाहिँ गिलगालको छेउमा मूर्तिहरू भएका ठाउँमा पुगे। अनि त्यहाँबाट फर्केर एग्लोनकहाँ आएर भने, “महाराज, तपाईंका निम्ति मसित एउटा गुप्‍त समाचार छ।” राजाले भने, “शान्त होऊ!” अनि तिनका सबै चाकरहरू त्यहाँबाट गए।

20 तिनी आफ्नो महलको छतमा बनाइएको शीतल कोठामा बसिरहेका बेला एहूद तिनीकहाँ गएर भने, “मसित तपाईंका निम्ति परमेश्‍वरबाट आएको एउटा समाचार छ।” राजा जब आफ्नो आसनबाट उठे,

21 तब एहूदले आफ्नो हात बढाएर आफ्नो दाहिने तिघ्रामा भएको तरवार थुतेर राजाको पेटमा रोपिदिए।

22 तरवारको बिँडसमेत पेटभित्र पस्यो, र तिनको ढाडबाट निस्क्यो। एहूदले तरवार बाहिर निकालेनन्, तर त्यसलाई बोसोले छोपिदियो; तब पेटको फोहोर निस्क्यो।

23 अनि एहूद बाहिर दलानबाट निस्के; अनि त्यस कौसीको कोठाका ढोकाहरू थुने, र त्यसमा ताला लगाइदिए।

24 तिनी गइसकेपछि ती नोकरहरू आए; तब तिनीहरूले कौसीको ढोकामा ताला लगाइएको भेट्टाए। तिनीहरूले भने, “सायद राजा महलको भित्री कोठामा दिसा बस्‍न गएका होलान्।”

25 धेरै बेरसम्म पर्खँदा-पर्खँदा तिनीहरू लज्जित भए, तर पनि तिनले कोठाका ढोकाहरू खोलेनन्। तब तिनीहरूले साँचो लिएर ढोकाहरू खोले। त्यहाँ तिनीहरूले आफ्ना मालिक मरेर भुइँमा लडिरहेका देखे।

26 तिनीहरूले पर्खिरहेको बेला एहूदचाहिँ भागिहाले। तिनले मूर्तिहरूलाई पार गरे, र सीरा भन्‍ने ठाउँमा उम्केर पुगे।

27 त्यहाँ आइपुगेर एफ्राइमको पहाडी मुलुकमा तिनले तुरही फुके; र इस्राएलीहरू त्यस पहाडबाट तिनीसित तिनको पछि-पछि ओर्लिए।

28 तिनले हुकुम गरे, “मलाई पछ्याओ, याहवेहले तिमीहरूका शत्रु मोआबलाई तिमीहरूका हातमा दिनुभएको छ।” यसकारण तिनीहरूले तिनलाई ओरालोमा पछ्याए, र मोआबतिर जाने यर्दनका ठाउँहरू लिए; अनि कसैलाई पनि पारि जान दिएनन्।

29 त्यस बेला तिनीहरूले प्राय: दश हजार मोआबीहरूलाई मारे, जो सबै हट्टाकट्टा र बलिया थिए। एउटै मानिस पनि उम्कन पाएन।

30 त्यस दिन मोआब इस्राएलको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति रह्‍यो।


शमगर

31 एहूदपछि अनातको छोरा शमगर आए, र तिनले गोरु धपाउने लहुरोले छ सय पलिश्तीहरूलाई मारे। तिनले पनि इस्राएललाई छुटकारा दिए।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy