न्यायकर्ता 11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 गिलादी यिप्ता एक वीर योद्धा थिए। तिनका पिता गिलाद थिए; आमाचाहिँ एक वेश्या थिइन्। 2 गिलादकी पत्नीले पनि तिनका निम्ति छोराहरू जन्माइन्। अनि तिनीहरू ठूला भएपछि तिनीहरूले यिप्तालाई धपाइदिए। तिनीहरूले भने, “तैँले हाम्रो परिवारमा कुनै उत्तराधिकार पाउनेछैनस्; किनकि तँ अर्कै स्त्रीको छोरा होस्।” 3 यसकारण यिप्ता आफ्ना दाजुभाइहरूबाट भागे; अनि तोबमा गएर बस्न थाले। त्यहाँ एक बदमास दल तिनीकहाँ आयो, र तिनको पछि लाग्यो। 4 केही समयपछि जब अम्मोनीहरूले इस्राएलीसँग युद्ध गरे, 5 तब गिलादका प्रधानहरू यिप्तालाई भेट्न तोब गए। 6 तिनीहरूले तिनलाई भने, “आएर हाम्रो सेनापति भइदिनुहोस्। अनि हामी अम्मोनीहरूसित युद्ध गर्न सक्नेछौँ।” 7 यिप्ताले तिनीहरूलाई भने, “के तपाईंहरूले मलाई घृणा गरेर मेरो पिताको घरबाट धपाउनुभएको होइन र? अब तपाईंहरूमाथि सङ्कष्ट आउँदा किन तपाईंहरू मकहाँ आउनुहुन्छ?” 8 गिलादका प्रधानहरूले यिप्तालाई भने, “यसैले त, अब हामी तपाईंतर्फ फर्कँदैछौँ; अम्मोनीहरूसित लडाइँ गर्न हामीसित आउनुहोस्, र गिलादमा बस्ने हामी सबैका शासक तपाईं हुनुहुनेछ।” 9 यिप्ताले जवाफ दिए, “यदि मलाई तपाईंहरूले अम्मोनीहरूसित लडाइँ गर्न फर्काएर लैजानुभयो र याहवेहले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने के म साँच्चै तपाईंहरूका शासक हुनेछु?” 10 गिलादका प्रधानहरूले जवाफ दिए, “याहवेह नै हाम्रो साक्षी हुनुहुन्छ; हामी अवश्य तपाईंले भन्नुभएझैँ गर्नेछौँ।” 11 यसकारण यिप्ता गिलादका प्रधानहरूसित गए; अनि मानिसहरूले तिनलाई उनीहरूमाथि मुखिया र सेनापति बनाए। तिनले आफ्ना सबै कुराहरू मिस्पामा याहवेहको सामु दोहोर्याए। 12 त्यसपछि यिप्ताले अम्मोनीहरूका राजाकहाँ यो प्रश्नका साथ दूतहरू पठाए: “हाम्रो विरुद्धमा तपाईंको के झगडा थियो, र तपाईंले हाम्रो देशमाथि आक्रमण गर्नुभयो?” 13 अम्मोनीहरूका राजाले यिप्ताका दूतहरूलाई जवाफ दिए, “इस्राएल इजिप्टबाट उक्लिआउँदा तिनीहरूले अर्नोनदेखि यब्बोक र यर्दनसम्मै मेरो देश लिए। अब शान्तिसित त्यो मलाई फर्काइदेऊ।” 14 यिप्ताले आफ्ना दूतहरूलाई फेरि अम्मोनी राजाकहाँ यो सन्देशसहित पठाएः 15 “यिप्ता यसो भन्नुहुन्छ: इस्राएलले न मोआब, न त अम्मोनीहरूको देश नै लिए। 16 तर जब तिनीहरू इजिप्टबाट निस्किआए, तब इस्राएल उजाडस्थानबाट भएर लाल समुद्रमा गए, र कादेशमा पुगे। 17 तब इस्राएलले एदोमका राजाकहाँ यसो भनेर दूतहरू पठाए, ‘हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ तर एदोमका राजाले सुनेनन्। तिनीहरूले मोआबका राजाकहाँ पनि यो बिन्ती पठाए, र तिनले अस्वीकार गरे। यसकारण इस्राएल कादेशमै बस्यो। 18 “त्यसपछि तिनीहरू उजाडस्थान भएर गए। अनि एदोम र मोआबको किनार भएर मोआबको पूर्वीय भागबाट छिरेर अर्नोनको पल्लोपट्टि छाउनी हाले। तिनीहरू मोआबको प्रान्तमा पसेनन्; किनकि अर्नोन त्यसको सिमाना थियो। 19 “त्यसपछि इस्राएलले हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाएर तिनलाई भने, ‘हामीलाई तपाईंको देश भएर हाम्रो आफ्नै ठाउँमा जान दिनुहोस्।’ 20 तरै पनि सीहोनले आफ्नो प्रान्तबाट भएर जान दिने कुरामा इस्राएलमाथि भरोसा गरेनन्। तिनले आफ्ना सबै मानिसहरू भेला गरेर यहसामा छाउनी हालेर इस्राएलीहरूसित लडाइँ गरे। 21 “तब याहवेह इस्राएलका परमेश्वरले सीहोन र तिनका सबै सैनिकहरूलाई इस्राएलको हातमा दिनुभयो। अनि तिनीहरूले उनीहरूलाई परास्त गरे। इस्राएलले त्यस देशमा बस्ने एमोरीहरूका सबै देश अधिकारमा लिए। 22 यसरी अर्नोनदेखि यब्बोकसम्म र उजाडस्थानदेखि यर्दनसम्म त्यसका सम्पूर्ण भाग कब्जा गरे। 23 “अब याहवेह इस्राएलका परमेश्वरले उहाँको प्रजा इस्राएलको सामुबाट एमोरीहरूलाई धपाइदिनुभएपछि, त्यसलाई लिने तपाईंको के अधिकार छ? 24 के तपाईंले आफ्नो देवता कमोशले दिएको लिनुहुन्न र? त्यसै गरी याहवेह हाम्रा परमेश्वरले हामीलाई जे दिनुभएको छ, त्यो हामी अधिकार गर्नेछौँ। 25 के तपाईं मोआबका राजा सिप्पोरका छोरा बालाकभन्दा असल हुनुहुन्छ? के तिनले कहिल्यै इस्राएलसँग झगडा गरे अथवा तिनीहरूसित युद्ध गरे? 26 तीन सय वर्षसम्म इस्राएलले हेश्बोन, अरोएर, चारैतिरका बस्तीहरू र अर्नोनको वरपरका सबै सहरहरू आफ्ना अधीनमा राखे। तपाईंले तिनीहरूलाई त्यस बेला किन फिर्ता लिनुभएन? 27 मैले तपाईंमाथि खराबी गरेको छैनँ; तर तपाईंले भने मेरो विरुद्धमा युद्ध गरेर ममाथि अन्याय गर्नुहुँदैछ। न्यायकर्ता याहवेहले नै आज इस्राएलीहरू र अम्मोनीहरूको बीचको यो झगडामा निर्णय गरिदेऊन्।” 28 तरै पनि यिप्ताले पठाएको सन्देशमाथि अम्मोनका राजाले ध्यानै दिएनन्। 29 तब याहवेहको आत्मा यिप्तामाथि आउनुभयो। तिनले गिलाद र मनश्शेलाई पार गरे। तिनी गिलादको मिस्पाबाट भएर गए, र त्यहाँबाट तिनी अम्मोनीहरूको विरुद्धमा अगि बढे। 30 अनि यिप्ताले याहवेहमा यो भाकल गरे: “यदि तपाईंले अम्मोनीहरूलाई मेरो हातमा दिनुभयो भने, 31 म अम्मोनीहरूबाट सुरक्षित फर्कँदा मलाई भेट्न मेरो घरको ढोकाबाट जो निस्किआउँछ, त्यो याहवेहको हुनेछ र म त्यसलाई याहवेहकहाँ होमबलिस्वरूप चढाउनेछु।” 32 त्यसपछि यिप्ता अम्मोनीहरूसित लडाइँ गर्न गए, र याहवेहले तिनीहरूलाई तिनको हातमा दिनुभयो। 33 तिनले अरोएरदेखि मिन्नीतको वरिपरि अबेल-करामीमसम्मै बीस वटा सहरहरू ध्वंस पारिदिए। यसरी इस्राएलले अम्मोनलाई अधीनमा ल्याए। 34 जब यिप्ता आफ्नो घर मिस्पामा फर्के, तब तिनलाई भेट्न तिनकी छोरी खैँजडीको धुनमा नाच्दै आइन्! तिनी उनकी एउटै सन्तान थिइन्। तिनीबाहेक उनका अरू छोराछोरी थिएनन्। 35 जब यिप्ताले तिनलाई देखे, तब आफ्नो लुगा च्यातेर कराए, “अहो, मेरी छोरी! तिमीले त मलाई दुःखी बनायौ र बरबाद पार्यौ; किनकि याहवेहमा गरेको भाकल म तोड्न सक्दिनँ।” 36 तिनले जवाफ दिइन्, “मेरा बुबा, तपाईंले याहवेहलाई आफ्नो वचन दिनुभएको छ। अब याहवेहले तपाईंका शत्रुहरू अम्मोनीहरूसित बदला लिनुभएकोले तपाईंले प्रतिज्ञा गर्नुभएझैँ मलाई गर्नुहोस्।” 37 तिनले भनिन्, “तर मेरो यो एउटा बिन्तीचाहिँ सुनिदिनुहोस्। मलाई दुई महिनासम्म मेरा साथीहरूसित डाँडाहरूमा रोएर हिँड्न दिनुहोस्; किनकि मेरो विवाह कहिल्यै हुनेछैन।” 38 उनले भने, “तिमी जान सक्छौ।” अनि उनले तिनलाई दुई महिनाको निम्ति जान दिए। तिनी र अरू केटीहरू डाँडाहरूमा गएर रोए; किनकि तिनले कहिल्यै विवाह नगर्ने भइन्। 39 दुई महिना बितेपछि तिनी आफ्ना बुबाकहाँ फर्केर आइन्, र उनले आफूले भाकल गरेझैँ गरे। तिनी कुमारी थिइन्। त्यहाँबाट इस्राएलीहरूको यो रीति सुरु भयो, 40 कि प्रत्येक वर्ष इस्राएलका जवान छोरीहरू गिलादी यिप्ताकी छोरीको स्मृतिमा चार दिनसम्म बाहिर जाने गर्थे। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.