यशैयाको पुस्तक 9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 तरै पनि त्यो सङ्कष्टमा परेकाहरूका निम्ति निराशा हुनेछैन। बितेका समयमा उहाँले जबूलून र नप्तालीको मुलुकलाई नम्र तुल्याउनुभयो। तर भविष्यमा उहाँले यर्दनतिरको समुद्र छेउको गैरयहूदीहरूको गालीललाई सम्मानित पार्नुहुनेछ— 2 अन्धकारमा जिउनेहरूले एउटा ठूलो ज्योति देखेका छन्; घोर अन्धकारमा बस्नेहरूमाथि ज्योति उदाएको छ। 3 तपाईंले जातिलाई फराकिलो पार्नुभएको छ; अनि तिनीहरूका आनन्द बढाइदिनुभएको छ; मानिसहरूले कटनीमा रमाएझैँ लुटको माल बाँड्दा रमाएझैँ, तिनीहरू तपाईंको सामु रमाउनेछन्। 4 किनकि मिद्यानको पराजयको दिनमा झैँ तपाईंले तिनीहरूलाई भार भएको जुवा, र तिनीहरूका काँधमा परेको बोझ, साथै तिनीहरूलाई सताउनेहरूका लहुरोलाई भाँचिदिनुभएको छ। 5 प्रत्येक योद्धाले लडाइँमा लगाएको जुत्ता, र रगतमा लतपतिएको हरेक वस्त्र आगोमा भस्म हुनेछ। त्यो आगोको निम्ति इन्धन हुनेछ। 6 किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ; हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँलाई उदेकको सल्लाहकार, शक्तिशाली परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार भनिनेछ। 7 उहाँको शासन वृद्धि र शान्तिको अन्त्य हुनेछैन। उहाँले दावीदको सिंहासनमाथि र तिनका राज्यमाथि शासन गर्नुहुनेछ। उहाँले राज्यलाई त्यस समयदेखि अनन्तसम्म न्याय र धार्मिकतासँग स्थापित गर्नुहुनेछ र दृढ पार्नुहुनेछ। सेनाहरूका याहवेहको जोशले यसलाई सम्पन्न गर्नेछ। इस्राएलमाथि याहवेहको क्रोध 8 प्रभुले याकोबको विरुद्धमा एउटा सन्देश पठाउनुभएको छ; जुन इस्राएलमाथि पर्नेछ। 9 सबै मानिसहरूले त्यसलाई जान्नेछन्; एफ्राइम र सामरियाका बासिन्दाहरू, जो घमण्ड र अभिमानको हृदयले यसो भन्छन्, 10 “इँटाहरू लडेका छन्, तर हामी काटेका ढुङ्गाहरूले बनाउनेछौँ; नेभाराका रूखहरू ढालिएका छन्, तर हामी त्यसको सट्टामा देवदारुका रूखहरू लगाउनेछौँ।” 11 तर याहवेहले तिनीहरूको विरुद्ध रसीनका शत्रुहरूलाई बलियो पार्नुभएको छ; अनि तिनीहरूका शत्रुहरूलाई सुर्याउनुभएको छ। 12 पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिश्तीहरूले मुख खोलेर इस्राएललाई खाएका छन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ। 13 तर उहाँले प्रहार गर्नुभएका मानिसहरू उहाँतिर फर्केका छैनन्, न त तिनीहरूले सेनाहरूका याहवेहलाई खोजेका छन्। 14 यसकारण याहवेहले इस्राएलबाट शिर र पुच्छर, खजूरको हाँगा र निगालो दुवै एकै दिनमा अलग गरिदिनुहुनेछ। 15 प्रधानहरू र विशिष्ट व्यक्तिहरू शिर हुन्; अनि झूट सिकाउने अगमवक्ताहरूचाहिँ पुच्छर हुन्। 16 यस जातिलाई डोर्याउनेहरूले तिनीहरूलाई पथभ्रष्ट पार्छन्, र डोर्याइएकाहरू बरालिएका छन्। 17 यसकारण प्रभु जवान मानिसहरूसित प्रसन्न हुनुहुनेछैन। न त उहाँले अनाथ र विधवाहरूलाई टिठाउनुहुनेछ। किनकि हरेक मानिस ईश्वरहीन र दुष्ट छ; प्रत्येक मुखले नीच कुरा बोल्छ। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन; उहाँको हात उठिराखेकै छ। 18 किनकि निश्चय नै दुष्टता आगोझैँ बल्छ; यसले सिउँडी र काँडालाई भस्म पार्नेछ; यसले वनका झाडीहरू आगो लगाइदिनेछ, र त्यो धुवाँको मुस्लोमा बटारिँदै उँभो-उँभो जानेछ। 19 सेनाहरूका याहवेहको क्रोधद्वारा सबै देश भस्म हुनेछ; अनि मानिसहरू आगोको निम्ति दाउरा हुनेछन्; कसैले पनि आफ्नो दाजुभाइलाई बाँकी राख्नेछैन। 20 तिनीहरूले आफ्ना दाहिनेतिर खानेछ, र पनि अझ भोकै रहनेछ; देब्रेतिर तिनीहरूले खानेछन्, तर तृप्त हुनेछैनन्। प्रत्येकले आफ्नै सन्तानको मासु खानेछ: 21 मनश्शेले एफ्राइमलाई खानेछ र एफ्राइमले मनश्शेलाई खानेछ; ती दुवै एकसाथ यहूदाको विरुद्ध जाइलाग्नेछन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै उठिराखेकै छ। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.