Online Bible

- Reklamy -

यशैयाको पुस्तक 65 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


न्याय र उद्धार

1 याहवेहले भन्‍नुहुन्छ, “मलाई सोधखोज नगर्नेहरूकहाँ मैले आफूलाई प्रकट गरेको छु; मलाई खोजी नगर्नेहरूले मलाई भेट्टाएका छन्। मेरो नाम पुकार नगर्ने जातिलाई, मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु।’

2 दिनभरि मैले यस्तो अटेरी जातितिर आफ्ना हात पसारेँ, जो आफ्नै कल्पनाको पछि लागेर कुबाटोमा हिँड्छन्;

3 यस्तो जाति, जसले मेरो सामु मलाई निरन्तर रिस उठाउँछन्, जसले बगैँचाहरूमा बलिदान चढाउँछन्, र इँटाका वेदीहरूमा धूप बाल्छन्;

4 जो चिहानहरूका बीचमा बस्दछन्, र गुप्‍त ठाउँमा रात बिताउँछन्; जसले सुँगुरको मासु खान्छन्, र जसका भाँडाहरूमा अशुद्ध मासुका झोल राखिएका हुन्छन्;

5 जसले भन्छन्, ‘टाढै बस्; मेरो नजिक नआइज; किनकि म तेरो निम्ति अति पवित्र छु!’ यस्ता मानिसहरू मेरो नाकका धुवाँजस्ता हुन्, जुन धुवाँ दिनभरि आगोजस्तै जलिरहन्छ।

6 “हेर, मेरो सामु यस्तो लेखिएको छ: म चुपचाप रहनेछैनँ, तर पूरै बदला लिनेछु; निश्‍चय नै म तिनीहरूकै काखमा साटो लिनेछु—

7 तिमीहरूका र तिमीहरूका पितापुर्खाहरूका पापको बदला म लिनेछु,” याहवेह भन्‍नुहुन्छ। “किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए, र डाँडाहरूमा मेरो निन्दा गरे। म तिनीहरूका पहिलेका कामहरूको बदला तिनीहरूकै काखमा हालिदिनेछु।”

8 याहवेह यसो भन्‍नुहुन्छ: “अङ्‌गुरको झुप्पामा अझ रसिलो अङ्‌गुर छँदै मानिसहरूले भने, ‘त्यसलाई नष्‍ट नगर; किनकि त्यसमा अझ दाखरस असल छ,’ यसरी नै म मेरा सेवकहरूको पक्षमा त्यसै गर्नेछु; म तिनीहरू सबैलाई नाश गर्नेछैनँ।

9 म याकोबका सन्तानहरूलाई ल्याउनेछु, र यहूदाका सन्तानहरूलाई मेरो पर्वतहरूमाथि उत्तराधिकार बनाउनेछु; मेरा छानिएका मानिसहरूले ती पर्वतहरूमाथि अधिकार गर्नेछन्, र मेरा सेवकहरू त्यहाँ बस्‍नेछन्।

10 मलाई खोज्ने मानिसहरूका निम्ति, शारोनको मैदान बगालहरूको लागि खर्क र आकोरको बेँसी विश्रामस्थल हुनेछ।

11 “तर याहवेहलाई त्याग्नेहरूका निम्ति, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छन्, जसले गाद देवताको निम्ति टेबुल तयार गर्छन्, र मेनी देवीको निम्ति मिसाएको मद्यको कचौरा भर्छन्;

12 म तिमीहरूलाई तरवारको निम्ति दिनेछु, र तिमीहरू सबै काटिनलाई घुँडा टेक्नेछौ; किनकि मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ; मैले बोलाएँ, तर तिमीहरूले सुनेनौ। तिमीहरूले मेरो नजरमा दुष्‍ट काम गर्‍यौ र मलाई मन नपर्ने कुराहरू रोज्यौ।”

13 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “मेरा सेवकहरूले खानेछन्, तर तिमीहरूचाहिँ भोकै रहनेछौ; मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरूचाहिँ तिर्खाउनेछौ; मेरा सेवकहरू रमाउनेछन्, तर तिमीहरूचाहिँ शर्ममा पर्नेछौ।

14 मेरा सेवकहरूले आफ्ना हृदयको आनन्दमा गाउनेछन्; तर तिमीहरू हृदयको वेदनामा कराएर रुनेछौ, र हृदयको वेदनामा विलाप गर्नेछौ।

15 तिमीहरूले आफ्नो नाम मेरा चुनिएका मानिसहरूका निम्ति सरापको रूपमा छोड्नेछौ; प्रभु याहवेहले तिमीहरूलाई मृत्युमा पार्नुहुनेछ, तर उहाँले आफ्ना सेवकहरूलाई अर्को नाम दिनुहुनेछ।

16 जब देशमा कसैले आशिष्‌को माग गर्छ, त्यसले सत्य परमेश्‍वरको नामद्वारा माग गर्नेछ; जसले देशमा शपथ खान्छ; त्यसले सत्य परमेश्‍वरको नामद्वारा शपथ खानेछ। किनकि बितेका दुःखहरू भुलिनेछन्, र मेरा आँखाबाट लुकाइनेछन्।


नयाँ आकाश र नयाँ पृथ्वी

17 “हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्‍टि गर्नेछु। बितेका कुराहरू स्मरण गरिनेछैनन्, न त तिनीहरू मनमा नै आउनेछन्।

18 तर म जे सृष्‍टि गर्नेछु, त्यसमा सधैँ खुशी होओ र हर्ष मनाओ; किनकि म यरूशलेमलाई हर्षोल्‍लास र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु।

19 म यरूशलेमसँग खुशी हुनेछु, र मेरा प्रजामा हर्षित हुनेछु; यरूशलेममा रोएको र कराएको सोर फेरि कहिल्यै सुनिनेछैन।

20 “थोरै दिनसम्म बाँच्ने बालक, वा आफ्नो पूरा उमेरसम्म नबाँच्ने वृद्ध मानिस त्यहाँ कहिल्यै हुनेछैन; सय वर्ष बाँच्ने मानिस जवान मानिनेछ; र सय वर्षसम्म नबाँच्ने मानिसचाहिँ श्रापित मानिनेछ।

21 तिनीहरूले घर बनाउनेछन्, र त्यसमा बस्‍नेछन्; तिनीहरूले दाखबारी लगाउनेछन्, र त्यसका फल खानेछन्।

22 तिनीहरूले बनाएका घरहरूमा अरूहरू नै आएर बस्‍नेछैनन्, वा तिनीहरूले लगाएका दाखबारीको फल फेरि कहिल्यै अरूहरूले खानेछैनन्। किनकि रूखको आयु जति लामो हुन्छ, त्यति नै धेरै आयु मेरा प्रजाको हुनेछ; मेरा चुनिएका प्रजाले आफ्ना हातका काम लामो समयसम्म उपभोग गर्नेछन्।

23 तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त तिनीहरूले विपत्तिको निम्ति छोराछोरीहरू जन्माउनेछन्; किनकि तिनीहरू र तिनीहरूका सन्तानहरूसमेत याहवेहद्वारा आशिष् पाएका मानिसहरू हुनेछन्।

24 तिनीहरूले पुकार गर्नुभन्दा अगाडि म जवाफ दिनेछु; तिनीहरूले बोल्दाबोल्दै म सुन्‍नेछु।

25 ब्वाँसो र थुमाले एउटै ठाउँमा एकैसाथ खानेछन्, सिंहले गोरुले झैँ पराल खानेछ; अनि सर्पको आहारा धुलो हुनेछ। तिनीहरूले मेरा सबै पवित्र पर्वतहरूमा न त हानि गर्नेछन्, न त नाश गर्नेछन्,” याहवेह भन्‍नुहुन्छ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy