Online Bible

- Reklamy -

यशैयाको पुस्तक 63 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


परमेश्‍वरको बदला र छुटकाराको दिन

1 एदोमको बोज्राबाट को आइरहेको छ? जसले आफ्नो वस्त्रमा रातो रङ्ग लगाएको छ? तेजस्वी पोशाक पहिरेर आफ्नो शक्तिको महानतामा को आइरहेको छ? “विजयको घोषणा गर्दै, बचाउने सामर्थी म नै हुँ।”

2 किन तपाईंको पोशाक दाखको कोल पेल्नेहरूको जस्तै रातो छ?

3 “म एकलैले दाखको कोल पेलेको छु; मसित जातिहरूबाट कोही पनि थिएन। मैले आफ्नो रिसमा तिनीहरूलाई कुल्चेँ र आफ्नो क्रोधमा तिनीहरूलाई पेलेँ; तिनीहरूको रगतका छिटा मेरा वस्त्रहरूमा परेका छन्, र मेरा वस्त्रभरि दाग लागेका छन्।

4 किनकि मेरो मनमा त्यो दिन बदलाको दिन थियो, र मेरो उद्धारको वर्ष आएको छ।

5 अनि मैले हेरेँ, तर सहायता गर्ने कोही पनि थिएन; सहयोग गर्ने कोही पनि नदेखेर म छक्‍क परेँ; यसैले मेरो आफ्नै बाहुबलले उद्धार गरेँ, र मेरो आफ्नो क्रोधले मलाई सम्हाल्यो।

6 मैले मेरो रिसमा जातिहरूलाई कुल्चीमिल्ची पारेँ; मेरो क्रोधमा मैले तिनीहरूलाई मत्ताएँ, र तिनीहरूका रगत भुइँमा पोखाइदिएँ।”


प्रशंसा र प्रार्थना

7 म याहवेहको दयाको बारेमा बताउनेछु, उहाँले हाम्रो निम्ति गर्नुभएका सबै कामअनुसार, जुन कामको निम्ति उहाँको प्रशंसा हुनुपर्छ— हो, उहाँको दया र महान् कृपाअनुसार उहाँले इस्राएलको घरानाको निम्ति धेरै असल कार्यहरू गर्नुभएको छ।

8 उहाँले भन्‍नुभयो, “वास्तवमा तिनीहरू नै मेरा प्रजा हुन्, र ती मेरा छोराहरू, जो मप्रति विश्‍वासयोग्य रहनेछन्”; अनि यसरी उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो।

9 तिनीहरूका सबै दुःखहरूमा उहाँ आफैँ पनि दुःखित हुनुभयो; अनि उहाँको उपस्थितिका स्वर्गदूतले तिनीहरूका दुःखबाट तिनीहरूलाई बचाए। उहाँले आफ्नो प्रेम र कृपामा तिनीहरूलाई उद्धार गर्नुभयो; उहाँले तिनीहरूलाई उठाउनुभयो र ती विगतका सबै दिनहरूमा तिनीहरूलाई बोक्नुभयो।

10 यद्यपि तिनीहरू विद्रोही भए, र उहाँको पवित्र आत्मालाई दुःखित तुल्याए। यसकारण उहाँ तिनीहरूका शत्रु हुनुभयो, र उहाँ आफैँ तिनीहरूको विरुद्ध लडाइँ गर्नुभयो।

11 तब उहाँका मानिसहरूले विगतका दिनहरूलाई सम्झे, मोशा र तिनका मानिसहरूका दिनहरू— उहाँ कहाँ हुनुहुन्छ, जसले तिनीहरूलाई समुद्र बीचबाट आफ्ना बगालको गोठालासितै ल्याउनुभयो? उहाँ कहाँ हुनुहुन्छ, जसले आफ्ना पवित्र आत्मालाई तिनीहरूबीच राखिदिनुभयो,

12 जसले आफ्नो शक्तिको बलवान् हातलाई मोशाको दाहिने हातमा रहनलाई पठाउनुभयो, जसले आफ्नै नाम सदाको निम्ति प्रसिद्ध हुनलाई तिनीहरूको सामु पानीलाई दुई भागमा विभाजन गरिदिनुभयो।

13 तिनीहरूलाई समुद्रको गहिराइबाट कसले डोर्‍याउनुभयो? उजाड देशमा भएका घोडाझैँ तिनीहरूलाई ठेस लागेन;

14 तल मैदानमा जाने गाईबस्तुलाईझैँ याहवेहको आत्माद्वारा तिनीहरूलाई विश्राम दिइयो। तपाईंले आफ्नो नाम महिमित राख्न आफ्ना प्रजालाई यसरी डोर्‍याउनुभयो।

15 स्वर्गबाट तल हेर्नुहोस्, तपाईंको उच्‍च, पवित्र र महिमित सिंहासनबाट दृष्‍टि गर्नुहोस्। तपाईंको जोश र तपाईंको सामर्थ्य कहाँ छन्? तपाईंको करुणा र दया हामीबाट रोकिएका छन्।

16 अब्राहामले हामीलाई नचिने तापनि अथवा इस्राएलले हामीलाई स्वीकार नगरे तापनि तपाईंचाहिँ हाम्रा पिता हुनुहुन्छ; तपाईं, याहवेह नै हाम्रा पिता हुनुहुन्छ, प्राचीनकालदेखि नै तपाईंको नाम हाम्रा उद्धारकर्ता हो।

17 हे याहवेह, तपाईंले हामीलाई किन आफ्ना मार्गबाट बरालिन दिनुहुन्छ? तपाईंको मार्गबाट भड्किहिँड्नका लागि किन हाम्रा हृदयलाई कठोर बनाउनुहुन्छ? तपाईंका सेवकहरूको खातिर तपाईंका उत्तराधिकारका खातिर फर्कनुहोस्।

18 तपाईंका प्रजाले केही समयको निम्ति मात्र तपाईंको पवित्र ठाउँमा अधिकार गरे, तर अहिले हाम्रा शत्रुहरूले तपाईंको पवित्रस्थानलाई कुल्चीमिल्ची पारेका छन्।

19 हामी प्राचीन समयदेखि नै तपाईंका मानिसहरू हौँ; तर तपाईंले तिनीहरूमाथि कहिल्यै शासन गर्नुभएको छैन; अनि तिनीहरू तपाईंको नामले कहिल्यै बोलाइएका छैनन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy