Online Bible

- Reklamy -

यशैयाको पुस्तक 62 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


सियोनको नयाँ नाम

1 यरूशलेमको धार्मिकता प्रभातझैँ नचम्केसम्म, त्यसको मुक्ति राँकोझैँ चहकिलो नबलेसम्म, म सियोनको खातिर चुप रहनेछैनँ; म यरूशलेमको खातिर मौन रहनेछैनँ।

2 जाति-जातिहरूले तेरो धार्मिकता, सबै राजाहरूले तेरो गौरव देख्नेछन्; याहवेहले आफ्नै मुखले दिनुहुने नयाँ नामद्वारा तँ बोलाइनेछस्।

3 तँ याहवेहको हातमा गौरवको एउटा मुकुट, र आफ्नो परमेश्‍वरको हातमा राजकीय शिरपेच हुनेछस्।

4 अब उसो तिनीहरूले तँलाई त्यागिएकी भन्‍नेछैनन्, न त तेरो देशलाई उजाड भन्‍नेछन्। तर तँलाई हेप्सीबा, र तेरो देशलाई ब्युलाह भनिनेछ; किनकि याहवेह तँसित प्रसन्‍न हुनुहुनेछ, र तेरो देशलाई विवाह गरिनेछ।

5 जसरी एउटा जवान मानिसले एउटी कन्ये-केटीलाई विवाह गर्छ, त्यसरी नै तेरा निर्माणकर्ताले तँलाई विवाह गर्नुहुनेछ; जसरी दुलहा आफ्नी दुलहीमा रमाउँछ, त्यसरी नै तेरा परमेश्‍वर तँसित रमाउनुहुनेछ।

6 हे यरूशलेम, मैले तेरा पर्खालहरूमाथि पहरेदारहरू खटाएको छु; तिनीहरू दिनरात कहिल्यै चुपचाप बस्‍न पाउनेछैनन्। हे याहवेहलाई पुकार्नेहरू हो, आफूलाई विश्राम नदेओ;

7 उहाँले यरूशलेमलाई स्थापित नगर्नुभएसम्म र त्यसलाई पृथ्वीको प्रशंसा नबनाउनुभएसम्म उहाँलाई विश्राम नदेओ।

8 याहवेहले आफ्नो दाहिने हात र आफ्ना शक्तिशाली बाहुलीको शपथ लिनुभएको छ: “म फेरि कहिल्यै तेरो अन्‍न तेरा शत्रुहरूलाई भोजनको निम्ति दिनेछैनँ; अनि नयाँ दाखमद्य, जसको निम्ति तैँले परिश्रम गरेको थिइस्, त्यो विदेशीहरूले कहिल्यै पिउन पाउनेछैनन्।

9 तर त्यसको कटनी गर्नेहरूले नै त्यो खानेछन्, र याहवेहको प्रशंसा गर्नेछन्; अनि जसले अङ्‌गुर बटुल्नेछन्, तिनीहरूले नै मेरो पवित्रस्थानका चोकहरूमा ती पिउनेछन्।”

10 जाओ, मूलढोकाहरूबाट भएर जाओ! मानिसहरूका निम्ति बाटो तयार पार। बनाओ, राजमार्ग बनाओ! ढुङ्गाहरू हटाओ। जाति-जातिहरूका निम्ति झण्डा खडा गर।

11 याहवेहले पृथ्वीको पल्‍लो छेउसम्म घोषणा गर्नुभएको छ: “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउनुहुन्छ! हेर्, उहाँको पुरस्कार उहाँसित छ, र उहाँको प्रतिफल उहाँको साथमा नै छ।’ ”

12 तिनीहरू पवित्र जाति, याहवेहबाट छुटकारा पाएकाहरू भनिनेछन्; तिमीहरूलाई अब उसो परमेश्‍वरले खोज्नुभएको सहर, नत्यागिएको सहर भनिनेछ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy