Online Bible

- Reklamy -

यशैयाको पुस्तक 61 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


याहवेहको निगाहको वर्ष

1 प्रभु याहवेहको आत्मा ममाथि छ; किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति याहवेहले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई टुटेका हृदयहरूलाई जोड्न, कैदमा परेकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न, र बन्धनमा परेकाहरूलाई अन्धकारबाट मुक्त गर्न,

2 याहवेहको निगाहको वर्ष र हाम्रा परमेश्‍वरको बदलाको घोषणा गर्न, शोक गर्नेहरूलाई सान्त्वना दिन,

3 र सियोन पर्वतमा शोकाकुल हुनेहरूलाई प्रबन्ध गरिदिन, तिनीहरूलाई खरानीको सट्टा सुन्दरताको मुकुट प्रदान गर्न, विलापको सट्टा आनन्दको तेल दिन, निराशाको आत्माको सट्टा प्रशंसाको पोशाक पहिराइदिन पठाउनुभएको छ। उहाँको गौरव प्रदर्शन गर्न तिनीहरूलाई याहवेहले रोप्नुभएको धार्मिकताका फलाँटहरू भनिनेछन्।

4 तिनीहरूले प्राचीन भग्नावशेषहरूलाई पुनर्निर्माण गर्नेछन्; अनि धेरै पहिले भत्काइएका ठाउँहरूलाई पुनर्स्थापित गर्नेछन्; पुस्तौँसम्म भत्काएर उजाड र ध्वस्त पारिएका सहरहरूलाई तिनीहरूले मर्मत गरेर फेरि बसाल्नेछन्।

5 परदेशीहरूले तिमीहरूका बगालहरूलाई चराउनेछन्; विदेशीहरूले तिमीहरूका खेतहरू र दाखबारीमा काम गर्नेछन्।

6 तिमीहरू याहवेहका पुजारीहरू भनिनेछौ; तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवकहरूको नाम दिइनेछ। तिमीहरूले जाति-जातिहरूका सम्पत्ति खानेछौ; अनि तिनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।

7 तिमीहरूका शर्मको सट्टामा तिमीहरूले दोबर भाग पाउनेछौ; अनि तिमीहरूले अपमानको सट्टामा तिमीहरूका उत्तराधिकारमा आनन्द मनाउनेछौ; यसरी तिमीहरूले आफ्ना देशमा दोबर भाग अधिकार गर्नेछौ, र सदाको निम्ति आनन्दित हुनेछौ।

8 “किनकि म याहवेहले न्यायलाई प्रेम गर्छु; डकैती र अधर्मलाई घृणा गर्छु। म मेरो विश्‍वासयोग्यतामा मेरा प्रजालाई प्रतिफल दिनेछु, र तिनीहरूसँग सदाको करार बाँध्नेछु।

9 तिनीहरूका सन्तानहरू जातिहरूका बीचमा र तिनीहरूका बालबच्‍चाहरू मानिसहरूका बीचमा चिनिनेछन्। तिनीहरूलाई देख्ने सबैले जान्‍नेछन्, कि तिनीहरू याहवेहले आशिष् दिनुभएको जाति हुन्।”

10 म याहवेहमा अत्यन्त आनन्दित हुन्छु; मेरो प्राणले मेरा परमेश्‍वरमा आनन्द गर्छ। किनकि दुलहाले आफ्नो शिरलाई पुजारीले सिँगारेझैँ, र दुलहीले आफूलाई गहनाहरूले सिँगारेझैँ, उहाँले मलाई मुक्तिको पोशाक लगाइदिनुभएको छ, र धार्मिकताको पोशाकले मलाई सजाउनुभएको छ।

11 जसरी माटोले टुसालाई उम्रन दिन्छ, र बगैँचाले बिउलाई बढ्न दिन्छ, त्यसरी नै प्रभु याहवेहले धार्मिकता र प्रशंसालाई सबै जातिहरूका बीच बढाउनुहुनेछ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy