Online Bible

- Reklamy -

यशैयाको पुस्तक 60 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


सियोनको महिमा

1 “प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ, र याहवेहको महिमा तँमाथि उदाएको छ।

2 हेर्, अन्धकारले पृथ्वीलाई ढाक्छ, र मानिसहरूमाथि बाक्लो अन्धकार छ, तर याहवेह तँमाथि उदाउनुहुनेछ; अनि उहाँको महिमा तँमाथि देखा पर्नेछ।

3 जातिहरू तेरो प्रकाशमा आउनेछन्, र राजाहरू तेरो प्रभातको उज्यालोमा आउनेछन्।

4 “तेरा आँखा उठाएर चारैतिर हेर्: सबै भेला भएर तँकहाँ आउँछन्; तेरा छोराहरू टाढाबाट आउनेछन्, र तेरा छोरीहरूलाई हात समाएर ल्याइनेछन्।

5 तब तैँले हेर्नेछस् र चम्कनेछस्; तेरो हृदय उल्‍लासित हुनेछ र आनन्दले फुल्नेछ; समुद्रको सम्पत्ति तँकहाँ ल्याइनेछ; जातिहरूका धन तँकहाँ आउनेछ।

6 ऊँटहरूका बथान, मिद्यान र एपाका साना-साना सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाट सबै मानिसहरू याहवेहको प्रशंसाको घोषणा गर्दै सुन र धूप बोकेर आउनेछन्।

7 केदारका सबै बगालहरू तँकहाँ भेला गराइनेछन्; नबायोतका भेडाहरूले तेरो सेवा गर्नेछन्; मेरो वेदीमा ती भेटीस्वरूप ग्रहण गरिनेछन्, र म आफ्नो महिमित मन्दिरलाई सिँगार्नेछु।

8 “बादलझैँ उड्ने, र आफ्ना गुँडतिर उड्ने ढुकुरहरूजस्ता यी को हुन्?

9 निश्‍चय नै टापुहरूले मलाई हेर्नेछन्; टाढाबाट तेरा बालबच्‍चाहरूलाई ल्याउँछन्, तिनीहरूका सुन र चाँदी लिएका तर्शीशका जहाजहरू अगि-अगि छन्; ती सबै याहवेह तेरा परमेश्‍वर, इस्राएलका पवित्र परमेश्‍वरलाई सम्मान दिनका निम्ति हो; किनकि उहाँले तँलाई गौरवले सम्मानित तुल्याउनुभएको छ।

10 “विदेशीहरूले तेरा पर्खालहरू पुनर्निर्माण गर्नेछन्, र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन्। मैले रिसमा तँलाई प्रहार गरे तापनि मेरो निगाहमा म तँलाई दया देखाउनेछु।

11 तेरा सहरका मूलढोकाहरू सधैँ खुला रहनेछन्; ती मुलढोकाहरू दिन र रात कहिल्यै बन्द हुनेछैनन्, ताकि मानिसहरूले तँकहाँ जातिहरूका धनसम्पत्ति ल्याउन सकून्, अर्थात् तिनीहरूका राजाहरू विजयी जुलूसको साथ पस्‍न सकून्।

12 किनकि तेरो सेवा नगर्ने जाति र राज्य सर्वनाश हुनेछन्; त्यो पूर्ण रूपमा सर्वनाश पारिनेछ।

13 “लेबनानको गौरव तँकहाँ आउनेछ, सल्‍ला, धूपी र सिसौका रूखहरूसमेत, मेरो पवित्रस्थानलाई सिँगार्न ल्याइनेछन्; अनि म आफ्ना पवित्रस्थानलाई महिमित तुल्याउनेछु।

14 तँलाई अत्याचार गर्नेहरूका छोराछोरीहरू तेरो सामु निहुरेर आउनेछन्; तँलाई घृणा गर्ने सबै तेरो पाउमा झुक्नेछन्, र तँलाई याहवेहको सहर, इस्राएलका पवित्र परमेश्‍वरको सियोन भन्‍नेछन्।

15 “तँ त्यागिएकी र घृणित भएकी, तँबाट भएर यात्रा गर्ने कोही नगए तापनि म तँलाई अनन्तको निम्ति महान् र पुस्तौँ-पुस्ताहरूका निम्ति आनन्द बनाउनेछु।

16 तैँले जातिहरूको दूध पिउनेछस्, र राजकीय स्तन चुस्‍नेछस्। तब तैँले जान्‍नेछस्, कि म याहवेह नै तेरो मुक्तिदाता, तेरो उद्धारकर्ता, याकोबका सर्वशक्तिमान् परमेश्‍वर हुँ।

17 म तँलाई काँसाको सट्टामा सुन र फलामको सट्टामा चाँदी ल्याइदिनेछु। म तँलाई काठको सट्टामा काँसा र ढुङ्गाको सट्टामा फलाम ल्याइदिनेछु। म शान्तिलाई तेरा राज्यपाल र धार्मिकतालाई तेरा शासक तुल्याइदिनेछु।

18 तेरो देशमा फेरि हिंसा सुनिनेछैन, न त तेरा सिमानाहरूमा विध्वंश र सर्वनाश सुनिनेछ, तर तैँले आफ्ना पर्खालहरूलाई मुक्ति भन्‍नेछस् र तेरा मूलढोकाहरूलाई प्रशंसा नाम राख्नेछस्।

19 अब उसो दिनमा तेरो निम्ति सूर्यले ज्योति दिनेछैन, न त चन्द्रमाको उज्यालो तँमाथि चम्कनेछ; किनकि याहवेह नै तेरो निम्ति अनन्तको ज्योति हुनुहुनेछ; अनि तेरा परमेश्‍वर तेरो महिमा हुनुहुनेछ।

20 तेरो सूर्य फेरि कहिल्यै अस्ताउछैन, र तेरो चन्द्रमा फेरि धमिलो हुनेछैन; याहवेह नै तेरो अनन्तको ज्योति हुनुहुनेछ; अनि तेरा दुःखका दिनहरू समाप्‍त हुनेछन्।

21 तब तेरा सबै मानिसहरू धार्मिक हुनेछन्; अनि तिनीहरूले सदाको निम्ति देशमाथि अधिकार गर्नेछन्। मेरो महानता देखाउनको निम्ति, मैले रोपेका बिरुवाहरू, मेरा हातका कामहरू तिनीहरू नै हुन्।

22 तिमीहरूमध्ये सबैभन्दा थोरैचाहिँ हजार हुनेछ; अनि सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ। म नै याहवेह हुँ; म यी प्रतिज्ञाहरू त्यसको समयमा र चाँडै पूरा गर्नेछु।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy