Online Bible

- Reklamy -

यशैयाको पुस्तक 6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


यशैयाको नियुक्ति

1 उज्जियाह राजा मरेको वर्ष मैले प्रभुलाई एउटा अग्लो र उच्‍च सिंहासनमाथि विराजमान हुनुभएको देखेँ। उहाँको वस्त्रको फेरले मन्दिर ढाकिएको थियो।

2 उहाँका मास्तिर छ-छ वटा पखेटा भएका सराफहरू थिए: तिनीहरूले दुई वटा पखेटाले आफ्ना अनुहार ढाकेका थिए, दुई वटाले तिनीहरूका खुट्टाहरू ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दथे।

3 तिनीहरूले एकले अर्कोलाई यसो भन्दैथिए: “सेनाहरूका याहवेह, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ; सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।”

4 तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्‍लिए; अनि मन्दिर धुवाँले भरियो।

5 म कराएँ, “धिक्‍कार छ मलाई! म नाश भएँ! किनकि म अशुद्ध ओठ भएको मानिस हुँ। म अशुद्ध ओठ भएका मानिसहरूको बीचमा बस्छु; अनि मेरा आँखाले राजा, सेनाहरूका याहवेहलाई देखेका छन्।”

6 तब सराफहरूमध्ये एक जना आफ्नो हातमा बल्दैगरेको कोइला लिएर आए, जुन तिनले वेदीबाट चिम्टाले टिपेर ल्याएका थिए।

7 तिनले मेरो मुख छोएर भने, “हेर्, यसले तेरो ओठ छोएको छ; तेरा अपराध हटाइएको छ र तेरो पाप क्षमा भएको छ।”

8 तब मैले यसो भन्‍ने प्रभुको सोर सुनेँ, “म कसलाई पठाऊँ? र हाम्रा निम्ति को जाला?” तब मैले भनेँ, “म हाजिर छु। मलाई पठाउनुहोस्!”

9 उहाँले भन्‍नुभयो, “जा, र मानिसहरूलाई भन्: “ ‘तिमीहरू सधैँ सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ; तिमीहरू सधैँ हेरिरहन्छौ, तर कहिल्यै देख्दैनौ।’

10 यी मानिसहरूका हृदय कठोर तुल्याइदे; तिनीहरूका कानहरू मन्द गरिदे; अनि तिनीहरूका आँखा बन्द गरिदे। नत्रता तिनीहरूले आफ्ना आँखाहरूले देख्लान्, र आफ्ना कानहरूले सुन्लान्; तिनीहरूका हृदयहरूले बुझ्लान्; अनि फर्कलान् र फेरि निको होलान्।”

11 तब मैले भनेँ, “हे प्रभु, कहिलेसम्म?” तब उहाँले जवाफ दिनुभयो: “सहरहरू विनाश भएर निर्जन नभएसम्म, र घरहरू नत्यागिएसम्म; अनि खेतहरू पूर्ण रूपले नष्‍ट नभएसम्म,

12 जबसम्म याहवेहले कुनै पनि मानिसलाई टाढा पठाउनुहुन्‍न, र देश पूर्ण रूपले त्यागिँदैन।

13 अनि देशमा दसौँ भाग छोडिए तापनि त्यो फेरि उजाड पारिनेछ। तर जसरी फलाँटको रूख काटिए तापनि तिनीहरूले ठुटा छोडिराख्छन्, त्यसरी नै पवित्र बिउचाहिँ देशमा ठुटा हुनेछ।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy