यशैयाको पुस्तक 57 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 धर्मी जनहरू नाश हुन्छन्, र यस कुराको कसैले आफ्नो हृदयमा विचार गर्दैन; भक्तहरू उठाइलगिन्छन्, र धर्मीहरूलाई दुष्टताबाट बचाइनका निम्ति लगिँदैछन् भनेर कसैले बुझ्दैनन्। 2 धर्मको मार्गमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्; तिनीहरू मृत्युमा सुत्दा विश्राम पाउनेछन्। 3 “तर हे टुनामुना गर्ने स्त्रीका सन्तान, व्यभिचारी र वेश्याका सन्तान हो, यहाँ आओ! 4 तिमीहरू कसलाई गिल्ला गर्दछौ? कसका विरुद्धमा मुख खोल्छौ र जिब्रो निकाल्छौ? के तिमीहरू बागी वा झूटाहरूका सन्तान होइनौ? 5 तिमीहरू फलाँटका रूखहरूको बीचमा हरेक झ्याम्म परेको रूखमुनि कामवासनाले उत्तेजित हुन्छौ; तिमीहरू आफ्ना छोराछोरीहरूलाई खोल्सा र चट्टानका धाँदाहरूमा बलिदान गर्छौ। 6 खोल्साका चिल्ला ढुङ्गाहरूको बीचमा भएका मूर्तिहरू तिमीहरूका भाग हुन्; तिनीहरू नै तिमीहरू भाग हुन्। हो, तिनीहरूलाई तिमीहरूले अर्घबलि र अन्नबलि चढाएका छौ। यस्ता कुराहरू जान्दाजान्दै पनि के म खुशी होऊँ? 7 तिमीहरूले आफ्नो ओछ्यान अग्ला डाँडाहरूमा बिछ्याएका छ्यौ; तिमीहरू त्यहाँ आफ्ना बलिदानहरू चढाउन उक्लेर गयौ। 8 तिमीहरूका ढोका र चौकसहरूको पछिल्तिर तिमीहरूले आफ्नो देवताहरूका चिन्हहरू राख्यौ। मलाई त्यागेर तिमीहरूले आफ्नो ओछ्यान उघार्यौ! त्यसमा चढेर तिमीहरूले त्यसलाई उदाङ्गो पार्यौ; तिमीहरूले जसका ओछ्यान मन परायौ, तिनीहरूसित सम्बन्ध गाँस्यौ, र तिमीहरूले तिनीहरूको नग्नता हेर्यौ। 9 तिमीहरू मोलोखकहाँ जैतुनको तेल लिएर गयौ; अनि तिमीहरूले सुगन्धित तेलहरू लगायौ। तिमीहरूले आफ्नो राजदूतहरू टाढा पठायौ, र तिमीहरू पातालसम्मै ओर्लेर गयौ! 10 तिमीहरू आफ्नो लामो मार्गले गर्दा थकित भयौ, तर तिमीहरूले, ‘यो व्यर्थको हो’ भनेनौ। तिमीहरूले नयाँ सामर्थ्य पायौ, यसैकारण तिमीहरू मूर्च्छा परेनौ। 11 “कोसित तिमीहरू यति साह्रो डरायौ र त्रसित भयौ, कि तिमीहरू मप्रति झूटो भयौ; अनि न त मलाई सम्झना गर्यौ, न त आफ्ना हृदयमा यस विषयमा विचार गर्यौ? के धेरै बेरसम्म म चुप रहेँ भनेर नै तिमीहरूले मलाई आदर गर्न छाडेका हौ त? 12 म तिमीहरूका धार्मिकता र तिमीहरू कामहरू देखाइदिनेछु, तर यसबाट तिमीहरूलाई कुनै लाभ हुनेछैन। 13 तिमीहरूले सहायताको निम्ति पुकार्दा तिमीहरूले थुपारेका मूर्तिहरूले नै तिमीहरूलाई बचाऊन्! हावाले तिनीहरू सबैलाई उडाइलानेछ; एकै सासले पनि तिनीहरूलाई टाढा लानेछ। तर मलाई शरणस्थान बनाउने मानिसले देशमाथि अधिकार गर्नेछ, र मेरो पवित्र पर्वतलाई प्राप्त गर्नेछ।” पश्चात्तापी हुनेलाई सान्त्वना 14 तब यसो भनिनेछ: “बनाओ, बनाओ, बाटो तयार गर! मेरा प्रजाको निम्ति बाटोदेखि बाधाहरू हटाओ।” 15 किनकि उच्च र सर्वश्रेष्ठ परमेश्वर भन्नुहुन्छ: जो सदाकालको निम्ति रहनुहुन्छ, जसको नाम पवित्र होः “म उच्च र पवित्र ठाउँमा बस्छु, तर नम्रहरूको आत्मा र पश्चात्तापीहरूको हृदयलाई जागृत पार्न, आत्मामा नम्र र पश्चात्तापी भएकाहरूसित पनि बस्दछु। 16 म सदाको निम्ति दोष दिइरहनेछैनँ, न त सधैँ रिसाउनेछु; किनकि त्यसो गर्दा मानिसको आत्मा, मैले सृष्टि गरेको मानिसको सास, मेरो सामु शिथिल हुनेछ। 17 मलाई त्यसको पापपूर्ण लोभले रिस उठायो; मैले त्यसलाई दण्ड दिएँ, र रिसमा आफ्नो अनुहार लुकाएँ; तापनि त्यो आफ्नै इच्छाको मार्गमा चलिरह्यो। 18 मैले त्यसका चालहरू देखेको छु, तर म त्यसलाई निको पार्नेछु; म त्यसलाई डोर्याउनेछु, र त्यसको चैन त्यसकहाँ फर्काइल्याउनेछु; 19 म शोक गर्नेहरूका ओठमा प्रशंसा सृष्टि गरिदिनेछु।” याहवेह भन्नुहुन्छ, “नजिक र टाढा भएकाहरूलाई शान्ति! शान्ति! अनि म तिनीहरूलाई निको पार्नेछु।” 20 तर दुष्टहरू अस्थिर समुद्रझैँ हुन्, जसले विश्राम लिन सक्दैन, जसका छालहरूले हिलो र माटो फ्याँक्छन्। 21 मेरा परमेश्वर भन्नुहुन्छ, “दुष्टहरूलाई शान्ति हुँदैन।” |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.