Online Bible

- Reklamy -

यशैयाको पुस्तक 56 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


सबै राष्ट्रहरूलाई आशिष्

1 याहवेह यसो भन्‍नुहुन्छ: “न्याय पालना गर, जे ठिक छ, त्यही गर; किनकि मेरो उद्धार नजिकै छ, र मेरो धार्मिकता चाँडै प्रकट गरिनेछ।

2 त्यो मानिस धन्यको हो, जसले यो गर्छ; त्यो मानिस, जसले यसलाई स्थिर राख्छ; जसले शब्बाथलाई अपवित्र नपारी पालन गर्छ, र आफ्नो हातलाई दुष्‍ट काम गर्नबाट रोकिराक्छ।”

3 याहवेहमा समर्पित भएको कुनै परदेशीले यसो नभनोस्, “याहवेहले मलाई निश्‍चय उहाँका मानिसहरूबाट अलग गर्नुहुनेछ।” कुनै नपुंसकले यस्तो नभनोस्, “म त एउटा सुकेको रूख मात्र हुँ!”

4 किनकि याहवेह यसो भन्‍नुहुन्छ: “मेरा शब्बाथहरू पालन गर्ने, मैले मन पराएका कुराहरू चुन्‍ने, र मेरो करारमा स्थिर बस्‍ने नपुंसकहरूका निम्ति—

5 तिनीहरूलाई मेरो मन्दिर र त्यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्दा पनि अझ उत्तम स्मारक तुल्याउनेछु; र तिनीहरूलाई अझ असल नाम दिनेछु। म तिनीहरूलाई कहिल्यै नमेटिने अनन्तको नाम दिनेछु।

6 आफूलाई याहवेहमा समर्पित गरेका परदेशीहरू, जसले उहाँको सेवा गर्ने, याहवेहको नामलाई प्रेम गर्ने र उहाँलाई आराधना गर्ने; शब्बाथलाई अपवित्र नगरी पालन गर्ने, र मेरो करारमा स्थिर रहनेहरू—

7 तिनीहरूलाई म आफ्नो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा आनन्द दिनेछु। तिनीहरूले मेरो वेदीमा चढाएका होमबलि र बलिदानहरू म ग्रहण गर्नेछु; किनकि मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर हुनेछ।”

8 इस्राएलका निर्वासितहरूलाई बटुल्नुहुने प्रभु याहवेह घोषणा गर्नुहुन्छ: “भेला गरिएकाहरूबाहेक म अझ अरूलाई तिनीहरूमा भेला गर्नेछु।”


दुष्‍टहरूको विरुद्ध परमेश्‍वरको अभियोग

9 हे मैदानका सबै पशुहरू हो, आओ! हे वनका सबै पशुहरू हो, खानलाई आओ!

10 इस्राएलका पहरेदारहरू अन्धा छन्; तिनीहरू सबैमा ज्ञानको अभाव छ; तिनीहरू सबै भुक्न नसक्ने लाटा कुकुरहरूजस्ता छन्; जो पल्टिरहने र सपना देख्नेहरू हुन्, र तिनीहरू सुत्न मात्र रुचाउँछन्।

11 तिनीहरू असाध्यै भोकाएका कुकुरहरू हुन्; तिनीहरू कहिल्यै अघाउँदैनन्। तिनीहरू समझ नै नभएका गोठालाहरू हुन्; सबै आफ्नै बाटो लाग्ने र आफ्नै लाभ खोज्नेहरू हुन्।

12 प्रत्येक यसो भनेर कराउँछन्, “आओ, मलाई मद्य देओ! हामी लट्ठ हुने गरी मद्यपान गरौँ! अनि भोलि आजको दिनजस्तै हुनेछ, झन् राम्रो हुनेछ।”

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy