Online Bible

- Reklamy -

यशैयाको पुस्तक 52 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे सियोन, जाग्, जाग्, तेरो बल धारण गर्। हे पवित्र सहर यरूशलेम, तेरो महिमाको पोशाक लगा; खतना नभएकाहरू र अशुद्धहरू तँभित्र फेरि पस्‍नेछैनन्।

2 हे यरूशलेम, तेरो धुलो टक्टक्या; उठ्, र सिंहासनमा बस्। हे सियोनकी कैदी छोरी तेरो घाँटीका बन्धनका साङ्लाहरूबाट आफूलाई मुक्त पार्।

3 किनकि याहवेह यसो भन्‍नुहुन्छ: “तँ सित्तैँमा बेचिएकी थिइस्, र तँ रकमविना नै छुटाइनेछस्।”

4 किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “सुरुमा मेरा मानिसहरू बसोबास गर्न भनी इजिप्टमा गए; अनि पछि अश्शूरले तिनीहरूमाथि अत्याचार गर्‍यो।

5 “अब यहाँ मेरो के छ र?” याहवेह घोषणा गर्नुहुन्छ। “किनकि मेरा मानिसहरू विनाकारण लगिएका छन्; अनि शासन गर्नेहरूले तिनीहरूलाई ठट्टा गर्छन्,” याहवेह घोषणा गर्नुहुन्छ। “अनि दिनभरि नै मेरो नामको निन्दा लगातार भइरहन्छ।

6 यसकारण मेरा मानिसहरूले मेरो नाम जान्‍नेछन्; यसकारण यो पहिलेबाटै बताउने म नै हुँ भनी त्यस दिन तिनीहरूले जान्‍नेछन्। हो, त्यो म नै हुँ।”

7 सुसमाचार ल्याउनेहरू, शान्ति घोषणा गर्नेहरू, उद्धार घोषणा गर्नेहरू, सियोनलाई “तेरा परमेश्‍वरले राज्य गर्नुहुन्छ!” सुसमाचार ल्याउनेहरूका पाउ पहाडहरूहुँदो कति सुन्दर!

8 सुन्! तेरा पहरेदारहरू आफ्ना सोर उचाल्छन्; तिनीहरू आनन्दले एकसाथ चिच्याउँछन्। जब याहवेह सियोनमा फर्केर आउनुहुन्छ, तब तिनीहरूले त्यो आफ्नै आँखाले छर्लङ्गै देख्नेछन्।

9 हे यरूशलेमका भग्नावशेषहरू हो, आनन्दका गीतहरू जोडसित एकसाथ गाओ; किनकि याहवेहले उहाँका मानिसहरूलाई सान्त्वना दिनुभएको छ; उहाँले यरूशलेमलाई मोल तिरेर छुटाउनुभएको छ।

10 सबै जातिहरूले देख्ने गरी याहवेहले आफ्ना पवित्र बाहुली देखाउनुभएको छ; पृथ्वीको पल्‍लो छेउका मानिसहरूले हाम्रा परमेश्‍वरको उद्धार देख्नेछन्।

11 गइहाल! गइहाल! त्यहाँबाट निस्केर गइहाल! कुनै अशुद्ध थोक नछोओ! तिमीहरू जो याहवेहका पात्र बोक्छौ, त्यसबाट निस्केर आओ र शुद्ध होओ!

12 तर तिमीहरू हतार-हतार गरी जानेछैनौ; अनि न त भागेर जानेछौ; किनकि याहवेह तिमीहरूका अगि-अगि जानुहुनेछ, र इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्तिर रक्षक बन्‍नुहुनेछ।


सेवकको कष्‍ट र गौरव

13 हेर, मेरो सेवकले बुद्धिमानीसाथ काम गर्नेछ; ऊ उठाइनेछ र उच्‍च पारिनेछ, र ऊ अति सम्मानित पारिनेछ।

14 जसरी उसदेखि धेरै जना चकित थिए— उसको अनुहार चिन्‍नै नसकिने गरी र उसको रूप मानिसको भन्दा पनि कुरूप बनाइएको थियो—

15 त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ; उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्। किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्; तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy