Online Bible

- Reklamy -

यशैयाको पुस्तक 5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


दाखबारीको गीत

1 अब म मेरो प्रियको निम्ति र उहाँको दाखबारीको निम्ति एउटा गीत गाउनेछु: एउटा मलिलो डाँडामा मेरा प्रियको एउटा दाखबारी थियो।

2 उहाँले त्यसलाई खनेर ढुङ्गाहरू हटाउनुभयो; अनि त्यसमा अति उत्तम दाख रोप्नुभयो। उहाँले त्यसमा एउटा मचान बनाउनुभयो; अनि एउटा कोल पनि खोप्नुभयो। तब उहाँले असल दाखको आशा राख्नुभयो, तर त्यसले खराब फल फलायो।

3 “अब हे यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीका बीचमा न्याय गरिदेओ।

4 मेरो दाखबारीका निम्ति मैले जति गरेँ, त्योभन्दा बढी के गरिनुपर्नेथियो र? मैले असल दाखको आशा गर्दा किन त्यसले खराब फल फलायो?

5 अब म तिमीहरूलाई भन्‍नेछु, कि आफ्नो दाखबारीलाई म के गर्नेछु। म त्यसको बार निकालिदिनेछु, र त्यो नाश हुनेछ; म त्यसको पर्खाल भत्काइदिनेछु, र त्यो कुल्चीमिल्ची पारिनेछ।

6 म त्यसलाई नछिमलेको र नगोडिएको उजाडभूमि बनाइदिनेछु; अनि त्यसमा सिउँडी र काँडाहरू उम्रनेछन्। त्यसमा पानी नपरोस् भनेर, म बादललाई आज्ञा गर्नेछु।”

7 सेनाहरूका याहवेहको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँलाई मनपर्ने बगैँचा हो। उहाँले न्यायको आशा गर्नुभयो, तर रक्तपात देख्नुभयो; धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाइ पो सुन्‍नुभयो।


धिक्‍कार र न्याय

8 धिक्‍कार तिमीहरूलाई, जसले केही जग्गा नरहने गरी घरमा घर थप्छौ; अनि खेतमा खेत जोड्छौ, र देशमा आफू मात्र बस्छौ।

9 सेनाहरूका याहवेहले मैले सुन्‍ने गरी घोषणा गर्नुभएको छ: “निश्‍चय नै ठूला घरहरू उजाड हुनेछन्, सुन्दर भवनहरू निर्जन हुनेछन्।

10 पाँच बिघा दाखबारीले एक बाथ दाखरस मात्र दिनेछ; एक होमेर बिउले एक एपा अन्‍न मात्र दिनेछ।”

11 धिक्‍कार तिनीहरूलाई, जो मद्यको निम्ति एकाबिहानै उठ्छन्, जो मद्यले नमातुन्जेल आधा रातसम्म बस्छन्।

12 तिनीहरूसित भोजमा वीणा र सारङ्गी, खैँजडी, बाँसुरी र मद्य हुन्छन्, तर तिनीहरूसित याहवेहका कार्यहरूका निम्ति कुनै श्रद्धा हुँदैन; उहाँका हातका कामप्रति कुनै आदर हुँदैन।

13 यसकारण समझशक्तिको अभावले गर्दा मेरा प्रजा देशबाट निकालिनेछन्; तिनीहरूका प्रतिष्‍ठित मानिसहरू भोकले मर्नेछन्; अनि तिनीहरूका सर्वसाधारण तिर्खाले सुक्नेछन्।

14 यसकारण चिहानले आफ्नो मुख खोल्छ, र आफ्नो मुख ठूलो उघार्छ; त्यसभित्र तिनीहरूका कुलीन व्यक्तिहरू र जनसमूह तिनीहरूका झगडालु र विलासीहरूसितै पस्‍नेछन्।

15 यसरी मानिस होच्याइनेछ; अनि हरेक जन नम्र बनाइनेछ, अभिमानीका आँखा नम्र पारिनेछन्।

16 तर सेनाहरूका याहवेह आफ्नो न्यायद्वारा उच्‍च पारिनुहुनेछ, पवित्र परमेश्‍वरले आफ्नो धार्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ।

17 तब भेडाहरू आफ्नै खर्कमा झैँ चर्नेछन्; तथा धनीहरूका खाली ठाउँहरूमा परदेशीहरूले खानेछन्।

18 धिक्‍कार तिनीहरूलाई जसले छलका डोरीहरूले पाप निकाल्छन्; अनि गाडाका डोरीहरूले झैँ दुष्‍टता निकाल्छन्,

19 जसले यसो भन्छन्, “परमेश्‍वरले हतार गरून्; उहाँले आफ्नो काम चाँडो गरून्, ताकि हामीले त्यो देख्न सकौँ। इस्राएलका पवित्र परमेश्‍वरको योजना आओस्, त्यो नजिक आओस्, ताकि हामीले जान्‍न सकौँ।”

20 धिक्‍कार तिनीहरूलाई, जसले दुष्‍टलाई असल र असललाई दुष्‍ट भन्छन्, जसले उज्यालोको सट्टा अँध्यारोलाई र अँध्यारोको सट्टा उज्यालोलाई राख्छन्; जसले मिठोको सट्टामा तितो, र तितोको सट्टा मिठो राख्छन्।

21 धिक्‍कार तिनीहरूलाई, जो आफ्नै नजरमा बुद्धिमान् छन्; अनि आफ्नै दृष्‍टिमा चतुर छन्।

22 धिक्‍कार तिनीहरूलाई, जो मद्य पिउन बहादुर छन्; अनि मद्य मिसाउन सिपालु छन्,

23 जसले घूस लिएर दोषीलाई छोडिदिन्छन्, तर निर्दोषलाई न्याय दिँदैनन्।

24 यसकारण पराललाई आगोका जिब्राहरूले चाटेझैँ र ज्वालामा सुक्खा घाँस खरानी भएझैँ तिनीहरूका जरा सडिजाने छन्, र तिनीहरूका फूलहरू धुलोझैँ उडिजानेछन्; किनकि तिनीहरूले सेनाहरूका याहवेहको व्यवस्थालाई इन्कार गरेका छन्; अनि इस्राएलका पवित्र परमेश्‍वरको वचनलाई लत्याएका छन्।

25 यसकारण याहवेहको क्रोध आफ्ना जातिको विरुद्ध दन्केको छ; उहाँको हात उठेको छ र उहाँले तिनीहरूलाई प्रहार गर्नुहुन्छ। पर्वतहरू काँप्छन्, र मृतक शरीरहरू सडकतिर कसिङ्गरझैँ छन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ।

26 उहाँले टाढाका जातिहरूको निम्ति एउटा झण्डा खडा गर्नुहुनेछ; उहाँले पृथ्वीको पल्‍लो छेउमा भएकाहरूका निम्ति भनेर सुसेली मार्नुहुनेछ। तिनीहरू द्रूत गतिले आउँछन्!

27 तिनीहरूमध्ये एक जना पनि थाक्दैनन्, र धरमराउँदैनन्, कोही पनि झुल्दैनन्, न त निदाउँछन्। एउटै पेटी पनि खुकुलो हुँदैन, जुत्ताका एउटै फित्ता पनि चुँडिदैन।

28 तिनीहरूका काँडहरू तीखा छन्, सबै धनुहरूमा ताँदो चढाइएका छन्; तिनीहरूका घोडाका टाप बज्रझैँ छन्, तिनीहरूका रथका चक्‍काहरूको आवाज आँधीबेहरीझैँ छ।

29 तिनीहरूका गर्जन सिंहको झैँ छ, तिनीहरू जवान सिंहझैँ गर्जन्छन्; आफ्नो शिकारलाई पक्रँदा तिनीहरू ङ्वार-ङ्वार गर्छन्; अनि त्यसलाई कसैले नछुटाउने गरी लैजान्छन्।

30 त्यस दिन तिनीहरू त्यसमाथि समुद्र गर्जेझैँ गर्जनेछन्। अनि यदि कसैले देशलाई हेर्‍यो भने, त्यसले अन्धकार र सङ्कष्‍ट देख्नेछ; यहाँसम्म कि प्रकाशलाई पनि बादलले अँध्यारो बनाइदिनेछ।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy